कांग्रेसलाई सखाप पार्ने कम्युनिष्टको दिवास्वप्न : खाँड

प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार

राजविराज ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बालकृष्ण खाँडले दुई तिहाईको दम्भमा कांग्रेसलाई सखाप पार्ने कम्युनिष्टहरुको दिवास्वप्न मात्र भएको बताएका छन् ।

हिन्दु धर्मावलम्बीहरुको महान पर्व तिहार तथा छठ पर्वको अवसरमा मंगलवार सप्तरीको डाँक्नेश्वरी नगरपालिकास्थित पातोमा नेपाली कांग्रेसको क्षेत्रिय कार्यसमितिले आयोजना गरेको शुभकामना सन्देश सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै केन्द्रीय सदस्य खाँडले यस्तो बताएका हुन् ।

‘२००७ सालमा कांग्रेसलाई समाप्त गर्न लागेका राणा नै समाप्त भयो, पञ्चायतले पनि कांग्रेसलाई समाप्त गर्न खोजेपनि पञ्चायत नै समाप्त भयो, ज्ञानेन्द्रको शाही सरकारले पनि त्यस्तै खोज्यो, तर उ पनि समाप्त भयो’, कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका खाँडले भने, ‘अब कम्युनिष्टले दुई तिहाईको दम्भमा कांग्रेसलाई सखाप पार्ने भन्दैछ, तर उनीहरुको त्यो दिवास्वप्न मात्र हो, कांग्रेस अझै मजबुत हुन्छ ।’

सप्तरीसहित सिंगो तराई मधेसको विकासकालागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको र यसलाई मूर्तरुप पनि कांग्रेसबाहेक कसैले दिन नसक्ने पूर्व मन्त्री खाँडको भनाई थियो ।

शुभकामना सन्देश सभाका विशिष्ट अतिथि कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेन्द्र यादवले आफूलाई मधेसवादी दल भन्नेहरु सत्ताको राजनीतिमा लिप्त रहेको आरोप लगाए । विगतमा कम्युनिष्टकै कारण संविधान संशोधन पारित हुन नसकेकोमा अहिले मधेसवादी दलहरु त्यही कम्युनिष्टको सरकारमा जानु र सहयोग गर्नु भनेको सत्ताको राजनीति लिप्त भएको उनले दाबी गरे ।

‘गिरिजाबाबुलाई मधेसवादी दलका नेताहरुले कालो झण्डा देखाउँदा देखाउन दिनु भनेको थियो, तर उपेन्द्र यादवलाई एक मधेसी यूवा राममनोहर यादवले कालो झण्डा देखाउँदै प्रहरी लगाएर पक्राउ गरायो र यातनाकै कारण ती यूवकको प्रहरी हिरासतमै मृत्यु भयो’, केन्द्रीय सदस्य यादवले भने, ‘कुनै पनि असन्तुष्ट नागरिकले देशका नेतालाई शान्तिपूर्णढंगले विरोध जनाउन पाउँछन्, तर त्यसो गरेकै राममनोहर यादवको ज्यान गएपछि उक्त घटना छानविन गर्न सरकारसित माग गर्दछु ।’

शुभकामना सन्देश सभामा कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादव, प्रदेश सांसद मोहम्मद समिम, पूर्व संविधान सभा सदस्य सुरेन्द्रप्रसाद यादव र मुनी गुप्ता, महासमिति सदस्य नारायण यादव, नेताहरु नेता भगवतीप्रसाद यादव, रामकुमारी पण्डितसहितले शुभकामना मन्तब्य ब्यक्त गर्दै देश र मधेसको विकास तथा मधेसको तमाम समस्या नेपाली कांग्रेसले मात्र समाधान गर्नसक्ने दाबी गरे ।

नयाँ