arrow

रहेनन् प्रजातान्त्रिक सेनानी वजिमय

logo
उत्तम चौलागाँई,
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
manisundar_bajimaya_photo.JPG

खोटाङ । प्रजातान्त्रिक सेनानी मनिसुन्दर वजिमयको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ घर भएका वजिमयको १०५ वर्षको उमेरमा बुधबार दिउँसो उनकै निवासमा निधन भएको हो ।

नेपाली राजनीतिमा क्रियाशिल व्यक्तित्वका रुपमा स्थापित वजिमय २००७ सालदेखी हालसम्म नेपाली कांग्रेसमा आवद्ध रहेका थिए । १९७० सालमा जन्मिएका वजिमय प्रजातन्त्र प्राप्तिका लागि निरन्तर रुपमा सक्रिय रहेका थिए ।

मुलुकको राजनीतिक उतार चडावमा उनले जेल नेल समेत भोग्नु पर्‍यो । मूलुकमा प्रजातन्त्र स्थापनाका लागि उनले देश छोडेर समेत भाग्नु परेको थियो । २००७ सालमा राणा शासन विरुद्ध लागेको भन्दै उनलाई पक्राउ गरि जेल हाल्ने निर्णय गर्दा उनी तीन वर्षसम्म भारतको दार्जिलिङमा बस्न बाध्य भएका थिए । तीन वर्ष पछि २०१० सालमा उनि नेपाल त फर्किए तर तत्कालिन सरकारले उनलाई तारो बनाई नै रह्यो ।
 
त्यसपछि तत्कालिन राजा महेन्द्रले फाँसि दिने निर्णय गरेपछि वजिमय सिराहाको एक जँगलमा बसेर पार्टी संगठनमा अझ वलियो रुपमा लागे । २०१८ शालमा नेपाली कांग्रेसको सशस्त्र आन्दोलनमा खोटाङ जिल्लाको ऐसेलुखर्क बजार आक्रमण गर्दा बजिमय पूनः पक्राउ परेका थिए । त्यति वेला खोटाङ जिल्लामा कारागार थिएन, र उनी सहित पक्राउ परेका अन्य व्यक्तिलाई ओखलढुङ्गा कारागार चलान गरियो । ५ महिना पछि जेलबाट छुटेका वजिमय त्यसपछि पनि राजनीतिमा क्रियाशिल रहेका थिए । वजिमय प्रजातन्त्रको पक्षका लागि २०३६ सालमा पनि उत्तिकै सकृयरुपमा लागि परेका थिए ।

२०४६ सालमा विराटनगरमा लुकेर बसेका वेला वजिमयलाई तत्कालिन सरकारबाट पुनः पक्राउ गर्ने कुरा चल्यो, त्यससंगै बजिमय रातारात त्यहाँबाट भागेका थिए । २०४६ सालमा बहुदल घोषणा हुँनुभन्दा पहिले विराठनगरबाट भागेर खोटाङ जिल्लाकै तत्कालिन लफ्याङ गाविसको एक जंगलमा स्याउलाको गोठ बनाएर लामो समय बसेका थिए । २०४६ सालको अन्त्यतिर बहुदल घोषणा भएपछि उनि घर फर्किएका पारिवारिक स्रोतले बताएको छ ।

जस्तो सुकै परिस्थितिमा पनि निरन्तर प्रजातन्त्रको पक्षमा उभिएका बजिमय अहिले पनि नेपाली कांग्रेसको अविभावकको रुपमा रहेका थिए । कांग्रेस खोटाङले उनलाई हरपल अविभावक मानेको थियो ।

२०५६, २०६८ र २०७१ सालमा कांग्रेसले वजिमयलाई सम्मान पनि गरेको थियो । प्रजातन्त्र प्राप्तिको लागि जिवन समर्पण गर्ने र नेपाली जनताका अधिकार प्राप्तिका लागि निरन्तर लडि रहने एक योद्धाको अवशानले पार्टीलाई ठुलो क्षति पुगेको कांग्रेस खोटाङले जनाएको छ ।
 
वजिमयको पार्थिव शरिर विहीवार विहान सात बजे वीपी स्मृति भवन दिक्तेलमा ल्याईने र विहान ८ बजेसम्म श्रद्धाञ्जली सभा गरिने खोटाङ कांग्रेसका सचिव ज्ञानेन्द्र जोशिले जानकारी दिए । पार्टी कार्यालयमा एक घण्टा श्रद्धाञ्जली अपर्ण गरेपछि नेवार परम्परा अनुसार वजिमयको शवलाई दाहासत्कार गरिने भएको छ ।

वजिमयको निधनका कारण कांग्रेस खोटाङले एक हप्तासम्म पार्टीको झण्डा आधा झुकाउँने र पार्टीका कुनै पनि काम नगर्ने निर्णय समेत गरेको छ । वजिमयका दुई छोरा र ३ जना छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ