काठमाडौं। विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उहाँको शालिकमा माल्यार्पण गरियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उनले भने ।
उनले विधानअनुसार पार्टी सभापति चल्न नसकेको आरोप लगाए । विधानभन्दा सभापति माथि हुँदा पार्टी यस अवस्थामा आएको उनको भनाइ थियो । नेता सिंहले पार्टी सुधारका लागि आफूले जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट पारेका थिए।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, काङ्ग्रेस काठमाडौँ पार्टी सभापति सबुज बानिया, सांसदहरु, भ्रातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो ।
विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका लौहपुरुष सिंहको २०५४ असोज २ गते निधन भएको थियो । नेपाली राजनीतिमा गरेको सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उहाँको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिन्छ ।