पहिलोपटक कितज्ञधर राजोपाध्याय नृसिंह नाचमा सहभागि हुदै
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
861
Shares
काठमाडौं। प्रसिद्ध कार्तिक नाच सोमबारदेखि ललितपुरको कार्तिक डबलीमा देखाइदैछ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिएको हो। सिद्धि नरसिंह मल्लको पालादेखि नचाइदै आएको ३ सय ७८ वर्ष पुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा आजदेखि १२ दिनसम्म नियमित रुपमा देखाइनेछ।
कार्तिक नाच संरक्षण समितिले जनाएअनुसार, २ दिन बाःथ नाच(लोक नाटक), ५ दिन उषाहरण, जलशयण अन्र्तगत मधु कैटब वध
, बराह अबतार, नृसिंह अवतार, वस्त्रहरण र दधि लीला प्रस्तुत गरिने छ। पहिलो दिन आज बाःथ नाच अन्र्तगत ल्वयः लायेगु (रोग लाग्ने) नाच प्रर्दशनी हुनेछ। कार्तिक नाच आउने मंसिर ७ गते दधि लिला देखाएपछि यो बर्षको कार्तिक नाच समापन हुने समितिले जनाएको छ।
कार्तिक नाचको प्रमुख र बिशेष नृसिंह अबतारमा हिरण्य कश्यपुलाई नृसिंहले बध गरीने नाच पनि यो बर्ष मंसिर ५ गते देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ। अन्य नाच बेलुका ७ बजे नै सुरु भएपनि बिष्णु पुराणमा आधारित यो नाच भने भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ।
हिरण्यकश्यपु दैत्य हुने नेवार समुदायका चित्रकार नै हुनुपर्ने नियम छ भने नृसिंह हुने हरिबंश उपाध्याय का बंशज नै हुनुपर्ने नियम छ। यसपाली पहिलोपटक कितज्ञधर राजोपाध्यायले नृसिंह भई आफनो कलाकारिता प्रस्तुत गर्ने तयारी गर्न लागेको समितिका अध्यक्ष किरण चित्रकारले बताए।
चित्रकार भने २०५५ सालदेखि नियमित रुपमा हिरण्यकश्यपु दैत्यका रुपमा नाचमा सहभागि हुदै आएका छन। यसपाली २१ औ पटक उनले दैत्यको भुमिका निर्वाह गर्न लागेको बताए। अन्य कसैले पनि यो भुमिका निर्वाह गर्ने आ“ट नगरेपछि संस्कृति संरक्षणका लागि भुमिका निर्बाह गर्दै आएको चित्रकारले बताए।
यो नाचमा नेवार समुदायका बिभिन्न जातजाति सहभागि हुने गरेपनि हिरण्यकश्यपु दैत्य चित्रकार, नृसिंह हुने कृष्ण मन्दिरका पुजारी राजोपाध्याय थरकै, देवी नृत्यमा पुजा गर्ने तलेजुका पुजारी खलक र दैत्यलाई ब्युझाउन खुवाउने पानी लिन जाने व्यक्ति सिद्धिनरसिह राजाका पुर्खा मल्लहरुले नै गर्नुपर्ने नियम अझै कायमै छ।
गएको बर्ष भने कृष्णलिलामा आधारीत सुदामा नाच ३५ बर्षपछि प्रर्दशनी गरीएको थियो। राजा सिद्धिनरसिंह मल्लको पालामा शुरु भएको यो नाच पहिलोपटक पाँच दिनबाट थालनी गरिएको इतिहासमा उल्लेख छ। यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख(लोक नाटक) १० दिन थपेर १५ दिनको पुर्याएको मानिन्छ। यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको पाइएको छ।
२७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहोर्याई देखाइने विशेषता रहेको छ। कात्तिक महिनामा सञ्चालन हुने सो नाच २००६ सालसम्म वर्षमा २७ दिनसम्म सञ्चालन भइरहेको कात्तिक नाच संरक्षण समितिका बाद्य गुरु केशबकृष्ण श्रेष्ठले बताए। प्रजातन्त्र आएपछि २००८ सालमा रोकेपछि २ दिनमात्रै देखाउन थालियो। उनका अनुसार विसं २००८ पछि २०३७ सम्म बराह र नृसिंह अवतार गरेर जम्मा दुई दिनका दरले प्रत्येक वर्ष नाच देखाउँदै आएको छ। यसैगरी विसं २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिनका दरले नाच देखाइएको थियो। २०७० सालदेखि २०७१ सम्म प्रत्येक वर्ष १२ दिनसम्म नाच सञ्चालन गरिएको उनले बताए।
बर्षेनी साढे ५ लाख आबश्यक
कार्तिक नाच पहिला एक महिना देखाउदै आएपनि आर्थिक अभावका कारण बिचमा एक सातामात्रै देखाउन थालेको थियो। पछिल्ला बर्षहरुमा भने बर्षेनी १२ दिन देखाउन थालेको समितिले जनाएको छ। यो नाच सञ्चालनका लागि बर्षेनी साढे ५ लाख खर्च हुने गरेको छ। आबश्यक रकम मध्ये ललितपूर महानगरपालिकाबाट २ लाख दिने गरेको छ भने बाकी रकम बिभिन्न संघसस्था तथा अन्तराष्ट्रिय स्तरबाट पनि बेलाबेलामा उपलब्ध हुदै आएको छ।