महाधिवेशन भाड्ने षड्यन्त्रमा पार्टी नेतृत्व नै लाग्यो : कुन्दनराज काफ्ले
सुभद्रा जोशी,
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
600
Shares
काठमाडौं। नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले माउ पार्टी नेपाली कांग्रेसको नेतृत्व नै नेविसंघ महाधिवेशन भाड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन। सोमबार राजधानीको बाल्मिकि क्याम्पसमा पत्रकार सम्मेलन गरेर काफ्लेले आफूहरु विधि सम्वत महाधिवेशन गर्न तयार रहेको अवस्थमा पार्टी नेतृत्व नै महाधिवेशन हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाए।
‘हामीले सर्वसम्मत रुपमा विधान बनाएर नेतृत्वलाई बुझायौं, तर नेतृत्वले विधानलाई तोडमोड गरेर महाधिवेशन नै गर्न नदिने षड्यन्त्रमा लग्यो,’ महामन्त्री काफ्लेले पत्रकार सम्मेलनमा भने। उनले आफूहरुले पार्टी नेतृत्वसँग विधान सम्मेलनको माग गर्दा समेत नेतृत्वले आनाकानी गर्दै आएको बताए।
‘हामीले पार्टी नेतृत्वसँग विधान सम्मेलन गरौं भनेर पनि भनेका छौं, तर नेतृत्वले विद्यार्थी संगठनको कुरा सुन्न तयार भएन,’ काफ्लेले थपे।
महामन्त्री काफ्ले निकट समूहले म्याद सकिने अवस्था सृजना हुँदा समेत नेतृत्व चुप बसेको भन्दै नेविसंघलाई कुल्चिएर अगाडि बढे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पार्टी नेतृत्वले लिन नसक्ने चेतावनी समेत दिएको छ।
सो समूहले आफूहरु उमेर हदको विपक्षमा भन्दापनि विधानलाई पार्टी नेतृत्वले तोडमोड गरेकाले विधि र प्रक्रियाको विपक्षमा उभिंदै आएको जनाएको छ। नेविसंघ उपाध्यक्ष डिल्लीराम सुवेदीले विधिवत महाधिवेशकै पक्षमा आफूहरु रहेको भन्दै महाधिवेशनको मिति तोकिए आफूहरु निर्वाचन मार्फत नै नेतृत्व छान्न तयार रहेको जनाए। नेविसंघको निर्वाचित कार्यसमितिको म्याद यही २ मंसिरमा सकिदै छ। यसअघि २ भदौमा सकिएको म्याद विधान अनुसार तीन महिना पार्टी नेतृत्वले थप गरेको थियो।
११औं महाधिवेशनबाट निर्वाचित भएको अहिलेको कार्यसमितिको म्याद कम्तिमा पनि दुई महिना थप गरिए आफूहरु १२ महाधिवेशन गर्न तयार रहेको काफ्ले समूले बताउँदै आएको छ। यसअघि १२औं महाधिवेशन १६,१७ र १८ कार्तिकका लागि तय गरिएको थियो।