राष्ट्रपति भण्डारीले दिइन् अस्ताउँदो सूर्यलाई अर्घ
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
332
Shares
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छिन्। अपराह्न ४ बजे कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिएकी हुन्। पछिल्लो समय पहाड र तराई जोड्ने पर्वको रुपमा विकास हुँदै गएको छठमा बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठको अन्त्य हुन्छ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठ पर्वको खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ। खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस ( खीर ) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ। यसअघि आइतबार नै ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन्।
तेस्रो दिन (षष्ठी) अर्थात् मंगलबार गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन।
परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन्।
पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा छ।