arrow

सफल किसानका कुरा : माछासँगै वित्छ दैनिक, कमाइपनि मनग्गे

logo
नारायणी रजौरे,
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
sources-fishfarming-social-1200x630.jpg

दाङ। तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँका ६१ वर्षीय तुलबहादुर बस्नेत अहिले आफूलाई व्यावसायिक माछापालक किसानका रुपमा चिनाउन सफल भएका छन्। उनले करीब चार बिघा क्षेत्रफलमा पाँच पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् । तुलसीपुर बजारदेखि चार किलोमिटर दक्षिण पश्चिममा पर्ने गौरीगाउँमा रहेको उनको घरमा अहिले दैनिक माछा लिन आउनेको सङ्ख्या बढ्दो छ । आठ वर्षदेखि माछापालन गर्दै आएकामा विगत चार वर्षदेखि आफ्नै घरमा र आफ्नै लगानीमा यो काम गर्दै आएको उनी बताउँछन्। 

अहिले माछापालनबाट सबै खर्च कटाएर वार्षिकरुपमा रु १३ लाखसम्म बचत गर्न सफल भएको बस्नेत बताउँछन्।  चार वर्षसम्म स्थानीय गौरी तालमा ठेक्कामा लिएर माछापालन व्यवसायमा आबद्ध भएका बस्नेत त्यस बेला माछा बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएपछि रु ४२ लाख खर्च गरी आफ्नै जमीनमा पाँचवटा पोखरी निर्माण गरेर घरमै व्यावसायिक रुपमा माछापालन शुरुआत गरेको बताउँछन् ।

“घरमा माछा लिन आउनेले पनि अहिले कसरी र कहिलेदेखि यो व्यवसायको शुरुआत गर्नुभयो भन्दै सोध्छन्,” उनी भन्छन्, “ शुरुमा मकै तथा तोरी लगाउने गरेको र राम्रै उत्पादन हुँदै आएको जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा आफूलाई केही गाह्रो भएको थियो तर चार वर्षसम्म गौरीतालमा माछापालन गरेर बिक्री भएको आम्दानीका कारण आफू घाटामा भने नपर्ने विश्वासले नै यो व्यवसाय शुरु गरेको हुँ । ” 

हाल उनको चार बिघा जमीनभित्रको पाँचवटा पोखरीमा ग्रास, कमन, रहु र नैनी जातका माछा छन् । त्यहाँ उत्पादन भएका माछा स्थानीय तुलसीपुर बजार तथा जिल्लाका अन्य बजारमा बिक्रीका लागि लगिन्छ । धेरै ग्राहक अहिले घरमै माछा लिन आउने गर्छन् । गत असारसम्म १५० क्विन्टल माछा बिक्री भएको बताउने बस्नेत अहिले त मौसम छ दैनिक पाँचदेखि १० क्विन्टलसम्म माछा बिक्री हुने गरेको जानकारी दिन्छन् । 

उनले उत्पादन गरेका माछा प्रतिकिलो थोकमा रु १८० देखि २०० सम्म र फुटकरमा रु २५० देखि ३०० सम्म बिक्री हुँदै आएको छ । राज्यको हालसम्म रु एक पनि सहयोग नभएको र प्राविधिक सहयोगसमेत नपाएको बताउने बस्नेतले पोखरी मर्मत र भुरा उत्पादनमा सहयोगको अपेक्षा गरेका छन्। 

माछामा समस्या देखिएमा भैरहवाका माछा विशेषज्ञ र लमहीमा माछापालन गर्दै आएका श्रीधर वलीसँग सहयोग लिने गरेको पनि उनी बताउँछन् । अहिले यस व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउने बस्नेत गाउँघरमै बसेर माछापालनबाट राम्रो आम्दानी लिन सकिने भएकाले यो व्यवसायमा लाग्न बेरोजगारलाई सुझावसमेत दिन्छन् । मिहेनत र लगनशीलताका साथ काम गर्ने हो भने विदेशमा भन्दा बढी पैसा र मानसम्मान स्वदेशमै पाउन सकिन्छ उनी भन्छन् । 

गहुँको बीउ वितरण 

तुलसीपुर उपमहानगरपालिकाले सोमबारदेखि यहाँका किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण शुरु गरेको छ । सबै वडाका गहुँ खेतीगर्ने इच्छुक किसानलाई आवश्यकताअनुसार गहुँको बीउ वितरण शुरु गरिएको उपमहानगरपालिकाका कृषि अधिकृत तिलक केसीले जानकारी दिए । उनका अनुसार पहिलो दिन ८५ किसानले आवश्यकताअनुसार १५ देखि १५० किलोसम्म गरी तीन क्विन्टल बीउ लगेका छन् । यो क्रम केही दिनसम्म जारी नै रहने छ । 

कार्यालयले गौतम, विजय र बाणगङ्गाजस्ता उन्नत जातको १० टन गहुँको बीउ ल्याइएको बीउ वितरण शुरु भैसकेकाले इच्छुक गहुँखेती गर्ने किसानले कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरे । अनुदानमा वितरण गरिने गहुँको मूल्य प्रतिकेजी रु ६० निर्धारण गरिएको छ । अनुदानमा बीउ लिन चाहने किसानले सम्बन्धित वडा कार्यालयको सिफारिश लिएर आउनुपर्ने छ । 

यसअघि उपमहानगरपालिकाले तोरीखेतीका लागि पनि किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको थियो । जिल्लामा कूल १२ हजार ७०० हेक्टर जमीनमा गहुँखेती गरिन्छ भने तुलसीपुर उपमहानगरपालिकामा करीब ८४ हेक्टर जमीनमा गहुँखेती हुँदै आएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ