arrow

किनारामा जाग्राम 

logo
युवराज रेग्मी,
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
chhat4.jpg

झापा । ऋतुले शरद काललाई विदाई गर्नै लाग्दा, धानका लहलह बालाहरुलाई आफ्नो घरमा भित्र्याएर फुर्सदिला बनेका हिन्दू धर्मालम्बीहरु आपसी सद्भाव र एकताको प्रतीक, राष्ट्रिय एकताको प्रतीक र धार्मिक सद्भावको प्रतीक छठ पर्वलाई एक जुट भएर स्वागत गर्दछौं । यो पर्व एउटा भक्तजनको लागि धार्मिक पर्व हो । समाजको लागि साथमै बसेर दुख पोख्ने अवसर हो र राष्ट्रिय रुपमा हेर्दा यो राष्ट्यि एकताको डोरी हो । जसमा धेरै मानिसहरु उनिएर एउटै सिंगो माला बन्दछन् । यही एकताका लागि श्रद्धालु भक्तजनहरु विभिन्न नदी, पोखरी र तलाउका किनारामा जम्मा भएर रातभर जाग्राम बस्ने गर्दछन् । 

कात्तिक शुक्ल पक्षको षष्ठी तिथी के पहाड के तराई सबैको लागि विशेष बन्दछन् । हिन्दू विधिबाट सूर्र्य भगवानको पूजा आराधना गरी मनाईने यो पर्वको हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसँग प्रत्यक्ष सम्बन्ध रहेको छ । त्यसैले त छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि विहान उदाउँदो सूर्यलाई अर्घ नदिएसम्म यो व्रत पूरा हुँदैन । 

छठ पूजाको विधि 
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठ पर्वको खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । यसअघि आइतबार नै ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।

तेस्रो दिन (षष्ठी) अर्थात् मंगलबार गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन ।

परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा छ ।

छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ । यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरुपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन ।

छठ मन्त्र :
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।। आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।

छठको व्रत लिनेहरुले नुहाएर शुद्ध भएर बसि एक छाकमात्रै खानु पर्दछ । गाईको गोबर र माटोले लिपेर घरको एक स्थानमा खिर पुरी पकाइन्छ । त्यसैगरी अरुवा चामलमा पानी र गंगाजल छर्केर घरको एउटा ठाउँलाई शुद्ध पारिन्छ । व्रतालुले केराको पात माथि खिरपुरी फलफुल राखेर कोठालाई बन्द गरी पूजा गर्दछन्, पूजा सकिएपछि प्रसाद बाँड्दछन् । छठको तेस्रो दिन घरको आँगन लिपपोत गरिन्छ भने घिउ, सख्खर, चिनी, नरिवल, ल्वाङ, सुकमेल, छोहडा, सोंप लगायत मसलाजन्य वस्तुहरु मिसाएर तयार पारिएको छठ विशेष परिकार ठेकुवा, चामलको पिठोको भुसुवा र फलफूल लगायतका सामग्रीहरु आँगनमा सजाइन्छ ।

छठको पूजागर्दा उँखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफुल, वतासाजन्य मिठाई जस्ता सामाग्रीहरु आवश्यक पर्दछ । ति खाद्यवस्तुहरुलाई साँझपख बाँसको चोयाले बुनेको छैंटीमा सजाएर खोला, नदी र तलाउका किनारमा लगिन्छ । यसरी विविध सामाग्रीयूक्त प्रसादले सजिएको छैंटीलार्इ श्रद्धापूर्वक जो कोहीले पनि आफ्नो टाउकोमा बोकेर घाटसम्म लैजाने चलन रहेको छ ।

विधिपूर्वक सजाइएको जलाशय किनारमा लगिएका सामग्रीहरु फिजाएर राखिन्छ र पानीमा पसेर एक एक सामाग्रिलार्इ बाँसको चोयाले बनेको अर्को पारम्परीक सामाग्री सुपलीमा राखेर डुबुल्की मार्दै व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट विहान पनि सोहि अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सुर्यलाई अर्घ्य चढाइन्छ । छठको ब्रत बस्नेले एक महिना अघिदेखि नै लसुन प्याजका साथै मांसाहारी आनीबानी बन्द गर्नुपर्दछ ।

जनकपुरको गंगासागर, धनुसागर, बिरगंजको बिन्दबासीनी, काठमाडौको रानीपोखरी, कुपण्डोल बाग्मती, बोक्सीदह लगायत तराई अनि मध्यपहाडी भेकका अधिकांश् जलाशयहरु छठ का उपलक्ष्यमा बिशेष सजाइएका छन् । छठसँगै चाडपर्वका लावालस्करहरु केही महिना मत्थर हुन्छन् , अब धानवाली काट्ने, दाउनी गर्ने अनि अन्न भित्राउने भ्याइनभ्याई हुन्छ । नयाँ धानका चिउराहरु कुटाउने चलन पनि छठमा रहेको छ, यसरी नयाँ अन्न लाई पनि छठको प्रसादी रुपमा चढाउने चलन हुन्छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ