arrow

अाेली र प्रचण्डकाे एकता धरापमा, दुबैतिर विद्रोहको आगो सल्किँदै   

कार्यकर्ता भन्छन्- माअाेलाई ‘ग्याङ अफ फोर’ले घेर्दाकाे जस्ताे हविगत हुनसक्छ

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
nekapa1.jpg

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकता धरापमा पर्दै गएको छ । पार्टीका महत्वपूर्ण निर्णय सचिवालयबाटै हुनु, केन्द्रीय सदस्य र पोलिटव्यूरोबारे टुंगो लगाउने जिम्मा पनि पार्टी नेतृत्व नजिकका व्यक्तिलाई दिनु, विधानतः महत्वपूर्ण निर्णय गर्दा स्थायी समिति बैठक बोलाउन नसक्नु लगायतका कयौँ कारण पार्टी एकतामा जटिलता थप्ने कारक बनिरहेका छन् । 

केन्द्रमा दुई टाउका मिल्ने वित्तिकै पार्टी एकता घोषणा गरेका दुई शक्ति, न विधिले एक हुन सकेका छन् भने न मनसायले नै। पार्टीभित्र माधव नेपाल पक्षधरमा मात्रै असन्तुष्ट छैन । पूर्व माओवादी केन्द्रको दोस्रो दर्जा मुनिको सबै संरचनामा भित्रभित्रै आगो सल्किरहेको छ । तत्कालीन एमालेभित्र तल्लो तहका संरचनामा दुष्मनी बढ्दै गएको छ । कार्यकर्ता पार्टी नेतृत्वप्रति मुर्मुरिएका छन् । 

अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष रश्मि आचार्यले प्रश्नै प्रश्न गरेका छन्, ‘ऐतिहासिक एकता प्रक्रियामा हरेक नेता र कार्यकर्ता त्यागको भावनाले प्रेरित हुनुपर्छ  भन्ने हो । तर, त्याग केमा आधारित हुने ? नीति र विधि मानेर कि कुनै अमूक नेताको आदेशमा ? मनैदेखि आफै चित्त बुझाएर कि जबर्जस्त ?’ 

उनले चीनमा माओलाई जीवनको उत्तरार्धमा ‘ग्याङ अफ फोर’ले निकै अप्ठ्यारोमा पारेको उदाहरण दिँदै ‘उनीहरूकै कारण विकसित चीनका सूत्रधार देङसमेत केही वर्ष पार्टी जिम्मेवारीबाट अलग हुनुपरेको र माओले नचाहँदा–नचाहँदै देङले निर्वासन भोग्नुपरेको’तथ्य सुनाएका छन् । 

उनले अगाडि भनेका छन्, ‘माओको निधनपछि ती चारै जनालाई चिनियाँ सेनाले गोप्य तरिकाले नियन्त्रणमा लिएर जेल हालेको थियो । कतै यस्तै ‘ग्याङ’को चंगुलमा त नेकपाको एकता प्रक्रिया अल्झिएको छैन ?’ भ्रातृ तथा पेशागत संगठन एक गर्ने कुरा त निकै पर छ । सरकारमा गरिएको प्रतिनिधित्व र प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकार एवं सहयोगि छनोटमा समेत असन्तुष्टि उत्तिकै छ । 

तत्कालीन माओवादी अध्यक्ष एवं अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नजिक रहेका चलचित्र निर्माता एवं राष्ट्रिय खेलकूद परिषदका पूर्व सदस्यसचिव युवराज लामाले ट्वीटमा यस्तो लेखे, ‘नेकपाको कस्तो एकता प्रकृया हो ? प्रधानमन्त्रिको सल्लाकार र सचिबालयमा एकजना पनि पूर्व माओवादी पर्दैनन । साथै प्रम ओलि सरकारको नियुक्तिहरुमा एकजना पनि आदिबासी जनजाती किन पर्दैन ? (यो स्ट्याटस देखाएर नेकपा सरकार बिरोधी भनेर नेताको चाकरी गर्नेहरुको कमी हुँदैन, यदपी सत्य लेख्नै पर्छ)’

लामाको असन्तुष्टिलाई सामान्य मान्न सकिँदैन । उनी पुष्पकमल दाहालको सरकारका बेला राखेपमा नियुक्त भएका थिए । वर्तमान केन्द्र सरकार र प्रदेश सरकार असमावेशी भनेर हाम्राकुराले पटक-पटक समाचार लेखेको छ । पार्टी एकतामा झन् त्यो भन्दा ठूला भ्वाङ देखिएका छन् । 

एमाले र एमाओवादीको वाम गठबन्धनले चुनाव जितेको एक वर्ष पुग्यो । विधिवत रूपमा दुई पार्टी एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको समेत ६ महिना कट्यो ।  तर, अहिलेसम्म पार्टी एकता प्रक्रिया आधारभूत तहममै पुग्न सकेको  छैन । ४४१ सदस्यीय केन्द्रीय कमिटी र ४ सदस्यीय प्रदेश कमिटी बाहेकका सबै पार्टी कमिटी र जनसंगठन कसरी बन्छन् ? त्यसको टुंगो छैन । 

सबै तह र कमिटीको एकता गर्न विभिन्न कार्यदल बने । त्यस्ता कार्यदल प्रदेश र जनसंगठनहरूको केन्द्रीय तहमा समेत बने । पार्टीले २–३ पटक ती कार्यदलहरूको समय सीमा बढाएर प्रतिवेदन ल्याउन भन्यो । केहिले प्रतिवेदन बुझाए । केहीले अझैसम्म बुझाउन सकेका छैननन् ।  बुझाएका प्रतिवेदन वा कार्यदलका सिफारिस विवादको घेरामा परे । बुझाएकाहरू विवादमा पर्ने र केहीले बुझाउनै नसक्ने अवस्था लुकाउन खोज्दा खोज्दै ह्वाङ्ग पर्दामा देखियो । 

कुरा मकवानपुरले अझ प्रष्ट्याईदिएको छ । जेठमा एकता घोषणा भएपछि अहिलेसम्म नेकपा मकवानपुर नेतृत्वविहीन छ । जिल्लाको नेतृत्व लिन धेरै नेताले दौडधुप गरे । अहिलेसम्म नेकपा मकवानपुरको नेतृत्व चयन हुन सकेको छैन ।

लामो समयदेखि पार्टी नेतृत्वविहीन भएपछि कार्यकर्तामा निराशा बढ्दै गएको छ । जिल्ला तहका नेता पनि जिम्मेवारविहीन भएका छन् । जसले पार्टी र कार्यकर्ताबीचको सम्बन्ध टुट्दै गएको छ । केन्द्रमा एमाले र माओवादी केन्द्र एकीकरण भए पनि जिल्ला, जनवर्गीय संगठन, युवा, विद्यार्थीदेखि तल्ला तहमा एकीकरण हुन सकेको छैन । पूर्वएमाले एवं माओवादी केन्द्रका पदाधिकारी रहने गरी बनेको एउटा कामचलाउन कमिटीले जिल्लामा पार्टी सञ्चालन गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ