arrow

प्रजातान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता सङ्कुचन कसैले गर्न सक्दैन : गगन थापा

logo
रासस,
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
gagan-thapa-rss.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रिय समाचार समिति (रासस) लाई थप विश्वसनीय समाचार संस्थाका रुपमा विकास गर्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनका अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले राससलाई सरकारीभन्दा सार्वजनिक सञ्चारमाध्यमका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। “ रासस थप विश्वसनीय सार्वजनिक संस्था हुनुपर्छ”, उनले भने।

सांसद थापाले रासस नेपालको महत्वपूर्ण सञ्चार संस्था भएकाले यसलाई समृद्ध बनाउँदै लैजानुपर्ने बताउँदै यहाँबाट उत्पादित समाचारलाई व्यावसायिक, विश्वसनीय र भरपर्दो बनाउन सुझाव दिए। प्रजातान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कुरा हुन नसक्ने उनको भनाइ थियो।

नेता थापाले कांग्रेसले संविधान कार्यान्वयनमा सरकारलाई सहयोग गर्ने बताउँदै देश र जनताको हित नहुने विषयमा सघैँ खबरदारी गरिने स्पष्ट पारे। आन्दोलनको उपलब्धि पूरा गर्न र समृद्ध मुलुक निर्माण गर्न सरकार लाग्नुपर्ने उनको भनाइ थियो। संविधानको सफलता नै आफ्नो सफलता हो भनेर अगाडि बढे मात्र सरकार सफल हुने उनले बताए।

सो अवसरमा नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्यले राससलाई निष्पक्ष समाचार सम्प्रेषण गर्ने थलोको रुपमा अगाडि बढाउनुपर्ने बताए। उनले प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने गरी ऐन आएको भन्दै यसलाई नसच्याए प्रेस युनियन देशव्यापी आन्दोलनमा जाने स्पष्ट पारे। राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससका सबै सङ्घसंस्था राससलाई बलियो लाग्नुपर्नेमा जोड दिए।

नेपाल प्रेस युनियन तथा राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले राससले व्यावसायिक पत्रकारको उच्च मूल्याङ्कन गर्नुपर्ने बताए। प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तुफानले श्रमजीवी पत्रकारको हकहितमा लाग्न प्रेस युनियनलाई सुझाव दिए। नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले गत भदौ १ देखि लागू भएको मुलुकी संहिताले प्रेस स्वतन्त्रतालाई कमजोर बनाएको छ भन्दै यसका विरुद्धमा सबै पत्रकार लड्नुपर्ने बेला आएको बताए।

शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनियन रासस प्रतिष्ठान शाखाका उपाध्यक्ष मोहनी मिश्रलगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए। विसं २०४८ मा स्थापना भएको युनियनको राससमा भने तेस्रो अधिवेशन गरिएको शाखा कोषाध्यक्ष पवित्रा गुरागाईंले जानकारी दिइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ