arrow

ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख : केसी

‘आइतबार केन्द्रिय समिति बैठक छ, तर अहिलेसम्म एजेण्डा थाहा छैन्’

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
arjun_narsingh_kc.png.png

काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । उनले भने,‘प्रधानमन्त्रीले काम भन्दा बढि कुरा गर्नुभयो । उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ । उहाँमा सत्ता र शक्तिको उन्माद देखियो । प्रधानमन्त्रीमा समग्र रुपमा जंगबहादुर बन्ने आकांक्षा तिव्र रुपमा विकसित भएको छ। ’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ रहेको सुनाउँदै भने,‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन् । अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ।’

उनले प्रधानमन्त्री ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरु आफू मातहात केन्द्रित गरेकोमा पनि आपत्ति जनाए । केसीले भने,‘यो ९ महिनामा सरकारले के चाहीँ राम्रो काम गर्यो त? वृद्धभत्ताको कुरा उठाउँदा–उठाउँदै म त थाकिसकें । सत्तामा आउनुभन्दा पहिले ओली र प्रचण्डजीले भ्रष्टाचारीहरुलाई जेल हाल्छौं, कारबाही गर्छौं भनेर चर्को स्वरमा बोल्नुभयो । तर, सत्तामा आएपछि अहिलेसम्म केही भएको छ त ? बरु बुढीगण्डकी परियोजना बिना प्रतिष्पर्धा दिईयो ? वाईडबडीको विवाद त्यस्तै छ । साँढे ३३ केजी सुन कहाँ छ ? यो प्रकरणमा पक्राउ परेकाहरुलाई किन गुपचुप राखिएको छ ? राख्नुपर्ने कारण के हो ?’

केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भएपनि जरैकिला उखल्नेगरि काम गर्न वर्तमान सरकारलाई केले रोक्यो भनेर प्रश्न गरे । त्यस्तै सरकारले सिण्डिकेटको अन्त्य गरेको भनेर भनेपनि अहिलेसम्म सिण्डिकेट नतोडिएको उनको आरोप छ । उनले भने,‘सरकारले जुनतारा झार्ने कुरा गर्छ । तर, काम भने शुन्य छ ।’

पञ्चायतमा जस्तो अहिले नागरिकलाई सूचनाको हकबाट बञ्चित गराउनेगरि मन्त्रिपरिषद बैठकका निर्णयहरु लुकाउने काम यो सरकारले गरेको भन्दै केसीले कडा आपत्ति जनाए ।
 
उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ११२ दिन भैसक्दापनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको बताए । उनले भने,‘निर्मलाका बुवाआमा अनशन बस्नुभएको छ । उहाँहरु विरामी पर्नुभएको छ । तर, सरकारले हत्यारा पत्ता लगाउन सकेन् ।’ निलम्बित एसपीले आफूले त आईजीपीको निर्देशन मानेको हुँ भनेर एक अनलाईनमा बोलेको कुरा सुनाउँदै केसीले सरकारको लागि अपराधी किन ठूलो भएको हो ? भनेर प्रश्न गरे ।

मुलुकमा पछिल्लो समय बलात्कार, हत्या, भ्रष्टाचार, महँगी र मुल्यवृद्धिले चरम सिमा नाघेको तर सरकार भने मुकदर्शक भएर बसेको उनको आरोप छ । केसीले भने,‘सरकार त आफ्ना आफन्तहरुलाई विभिन्न पदमा नियुक्ती गर्न लागिपरिरहेको छ । हुन त यो सरकार ५ वर्षको लागि हो । तर, यो पछिल्लो ९ महिनाको काम हेर्दा पूर्ण रुपमा असफलतातर्फ उन्मुख छ । अझै सरकारको अग्निपरीक्षा बाँकी नै छ ।’

फरक प्रसँगमा उनले पार्टीको विधानबारे गम्भिर छलफल हुने जनाए । मस्यौदा समितिले विधान अहिलेसम्म केन्द्रिय कार्य समितिमा पेश गर्न नसकेको पनि उनले सुनाए । उनले भने,‘विधानका सम्बन्धमा सबैका आ–आफ्ना धारणाहरु हुन्छन् । तर, हामी अन्तिम निश्कर्षमा पुर्याउँछौं ।’ उनले अब पार्टी नेताप्रधान नभएर नीतिप्रधान हुनुपर्नेमा पनि जोड दिए । ‘पार्टी व्यक्तिप्रधान होईन अब संस्थाप्रधान हुनुपर्छ’–केसीले भने,‘अब पार्टीलाई सामूहिक नेतृत्व पद्धतीमा लैजानुपर्छ । मैले त यो कुरा बारम्बार भन्दै आएको छु।’

तत्कालिन् पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको पालामा १२ औं महासमिति बैठक पनि आफूले सम्पूर्ण पदाधिकारी निर्वाचित हुनुपर्छ भनेर एक्लो अडान लिएको स्मरण गराउँदै अहिलेपनि पदाधिकारी निर्वाचित हुनुपर्ने धारणा राखे । उनले भने,‘टिकट वितरण समिति, अनुशासन समिति र निर्वाचन समिति सबै महाधिवेशनबाट निर्वाचित हुनुपर्छ । १५ प्रतिशतभन्दा बढि मनोनित गर्ने प्रथाको अन्त्य गर्नुपर्छ ।’ केसीले अब पार्टीमा एक व्यक्ति एक पदमात्रै हुनुपर्ने धारणा राखे ।

नेतालाई मनपर्यो भनेर एकै व्यक्तिलाई चार–चार पटक सांसदको लागि समानुपातिकमा सिफारिश गर्न नहुने पनि उनको भनाई छ । उनले भने,‘समानुपातिकको सिट आरक्षण गरिनुपर्छ ।’ संविधानमै राजनीतिक दलसम्बन्धी धारा २७४ मा प्रत्येक पार्टीले संघीय र प्रादेशिक पदमा निर्वाचित हुनुपर्ने व्यवस्था गरेकोले सोही अनुसार चल्नुपर्ने उनको सुझाव छ । उनले भने,‘पदाधिकारी मनोनित गर्ने विषयमा कुनै सम्झौता हुँदैन् ।’

पार्टीको केन्द्रिय कार्य समिति बैठक भोलि बोलाईएको भएपनि बैठकका एजेण्डाहरु अहिलेसम्म थाहा नभएको उनले जनाए । उनले भने,‘भोलि बैठक छ । तर, अहिलेसम्म एजेण्डा थाहा छैन् । हुन त मंसिर २ गते नेविसंघ वर्तमान कार्यसमितिको पदावधि सकिँदैछ । सम्भवतः यही विषयमा छलफल हुन्छ होला भनेर मैलेपनि ऋषिजीले जस्तै लख काट्ने काम गरेको छु ।’

केसीले नेविसंघको अधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले टिके प्रथाबाट मनोनित गर्ने कुराको आफू विरोधी भएको पनि जनाए । उनले भने,‘टिके प्रथाको म हिजोपनि विरोधी थिएँ । आजपनि विरोधी नै हुँ । र, भोलि पनि विरोध गर्छु ।’ नेविसंघमा तदर्थ समिति बनाउने कुरा विकल्प हुनै नसक्ने उनको जिकिर छ । उनले भने,‘यसको एकमात्र विकल्प भनेको अधिवेशन गर्नुपर्छ । नेताको भजन मण्डलेलाई नेविसंको नेतृत्व सुम्पिनुहुँदैन् । नेविसंघलाई अब पंग्गु र व्यक्तिमुखी नबनाऔं ।’

पार्टीको महासमिति बैठक मंसिर २८ गतेलाई डाकिएकोले अब त्यही मितिमा बैठक बस्नेमा आफू विश्वस्त रहेको केसीको भनाई छ । पार्टीको विधानअनुसार प्रत्येक भातृ संगठनको विधान उनीहरु आँफैले बनाउने भएकोले नेविसंघमा उमेर हद पार्टीले तोक्ने कुरा आँफैमा विधानभन्दा सर्वथा उल्टो रहेको केसीको भनाई छ । यद्धपी उनले नेविसंघको उमेर हदको विषयमा पार्टीले निर्णय नगरेको जिकिर गरे । उनले थपे,‘यो विषय छलफलको विषय हो । अहिले उमेर हद लगाउने निर्णय भएको छैन् ।’

यद्धपी उनले नेविसंघ, तरुण दललगायत भातृ संगठन र पार्टीमा पनि उमेर हद लगाउने हो भने आफू तयार रहेको सुनाए । उनले भने,‘म तयार छु । सरंक्षक बन्न तयार छु । तर, नेताको क्रियाशिलता हेर्नुपर्छ । भीजन हेर्नुपर्छ । सिर्जनात्मक शक्ति हेर्नुपर्छ ।’

विजयकुमार गच्छदारलाई उपसभापति बनाउने कुरामा आफ्नो पूर्ण सहमति भएको भएपनि तर प्रक्रियागत आफ्नो असन्तुष्टि रहेको सुनाए । उनले भने,‘विधानलाई सोझै मिचेर सभापतिले स्वेच्छचारी देखाउनुभयो । लोकतान्त्रिक पद्धतिप्रति यो कदम हाँस्यस्पद छ । शासन व्यक्तिले होईन, विधिले गर्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ