काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्दैछ । नेविसंघको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका नै सकिँदै गर्दा त्यसअघि नै समस्याको समाधान काँग्रेसले गरिदिँदै छ ।
तत्कालको समस्या समाधान गर्नका लागि पार्टी मुख्यालय सानेपा, विपीनगरमा बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे टुंगो गर्दैछ । यद्यपि विकल्पको रुपमा अर्को समिति निर्माण गर्ने पनि रहेको छ ।
तर अर्को समिति निर्माण गरेर जाँदा काँग्रेसकै महासमिति प्रभावित हुन सक्ने कुरालाई मध्यनजर गर्दै यही कार्यसमितिलाई नै चुनाव गर्नेगरी समय थप्न लागिएको बुझिन्छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको विधानको धारामा नेविसंघको निर्वाचित कार्यसमितिको समयावधि २ बर्ष र बढीमा ३ महिना थप्न पाउने नियमलाई परिमार्जन गरी २ वर्ष र बढीमा ५ महिना थप्न पाउने गरेर समय थपिने बताएका छन् ।
उनले भने, ‘यद्यपि केन्द्रीय समिति बैठकले निर्णय गर्न बाँकी छ तर तत्कालको समस्या समाधानका लागि यसरी नै अगाडि बढ्नेबारे एक किसिमको सहमति जस्तो देखिएको छ ।’
यसका लागि आइतबार दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायतका बुँदामा सुधार गर्नुपर्नेछ ।
प्रवक्ता शर्माले निरन्तर विवाद बढिरहँदा नेविसंघ नै कमजोर बन्दै जाने भएकाले गर्दा यसको समाधान गरेर अगाडि बढ्न सबै नेता गम्भीर बन्नुपर्ने पनि सुझाएका छन् ।
यसअघि नेविसंघको विवाद समाधान गर्नका लागि शनिबार दिउँसो १ बजे बोलाइएको बैठक दिनभरि अनौपचारिक बसेर बेलुका मात्रै ५ मिनेट औपचारिकरुपमा भएको थियो ।
शीर्ष नेताहरु नै गुट उपगुटमा लाग्दा आइतबार अन्तिम समयमा मात्र निकासको बाटो निस्कन लागेको हो । शनिबार पार्टी सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दै गर्दा नेविसंघका नेताहरुले नाराबाजी गरेका थिए ।
एक केन्द्रीय नेताले भने, ‘पार्टीमै विवाद छ, तर हामी नेविसंघको समस्या समाधान गर्छौ । नेविसंघबाट थोरै समय थपेर धेरै उपलब्धी लिइँदै छ ।’
नेविसंघभित्रै शीर्ष नेताहरुको प्रभाव रहेकाले पनि समस्या बल्झँदो छ ।