वर्तमान सरकार पूर्ण रुपमा असफल, ओलीभन्दा प्रचण्ड गतिशिल : डा.केसी
प्रकाशित २०७५ मंसिर २ आइतबार
417
Shares
काठमाडौं। राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भैसक्यो । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो । हुन त मलाई त्यतिवेलापनि यीनीहरुले बोलेका कुरा कुनैपनि हालतमा पुरा गर्छन भनेर विश्वास थिएन र संभव पनि थिएन भनेर लागेको थियो । अहिले त्यही भयो ।’
सरकारले बोलेका कुराहरु केही पनि पूरा नगरेको उनको गम्भिर आरोप छ । उनले भने,‘खाल्डाखुल्डीहरु पुर्छु भन्नुभयो । तर, त्यो काम पूरा भएन् । मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन् । सिण्डिकेट हटाउँछौं भन्नुभयो । तर, एकाधिकार अहिलेपनि कायमै छ । सुन काण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री बादलले त भ्रष्टाचारीहरुको पाता कस्छु भन्नुभयो। तर, कारबाही केही पनि भएन् । प्रचण्डले बोलाएर उनलाई गृहमन्त्री हुने की सिंघम बन्ने भनेर सोधेपछि उहाँ चुप लाग्नुभयो । त्यसपछि निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरण आउन थाल्यो ।’
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलेसमेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उनले सुनाए । उनले भने,‘अहिले हेर्नुहोस्, नियुक्ती प्रकरणले ओली अहिले आलोचित बनेका छन् । झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको बारेमा आलोचना गरिरहेका छन् । माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो । तर, पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ ।’
ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको गम्भिर आरोप छ । उनले भने,‘ओलीले किन पश्च्गामी शैलीमा काम गर्न थाल्नुभयो ? मैले बुझन् सकेको छैन् । नाकाबन्दीको बेलामा उहाँले राष्ट्रिय अडान लिनुभयो । हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो । मैले त झनै सफल नेता र विकासको ‘एसेट’ को रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिवेला प्रश्न खडा भयो ।’
उनले मुलुकमा उद्योग तथा लगानीको वातावरण पनि नबनेको चित्रण गरे । केसीले ओली सरकारले जनतामा कुनैपनि आशालाग्दो नतिजा नदिएको जिकिर छ ।
फरक प्रसँगमा उनले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशिल नेता भएको बताए । उनले भने,‘अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, उनको त्यो गतिशिलता हाम्रो लागि प्रयोग भएन् । उनकै छोरी र बुहारीको लागि त्यो ‘डाईनामिज्म’ लागु भयो ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् । उनले भने,‘यो सरकार निरन्तरताको लागिमात्रै होईन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो । तर, उहाँको टिममा रहेका मन्त्रिहरुबीच टिम–स्पिरिट देखिएन् ।’
उनले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको स्वीकार गरे । उनले भने,‘अब जनताका चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक–थु हुनुपर्छ ।’
सापकोटाले पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको र प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकोले सचिवालय र स्थायी समिति बैठकहरु बस्न नसकेको सुनाए । उनले थपे,‘अब बस्ने सचिवालय बैठकमा सरकारको बारेमा पनि समिक्षा हुन्छ । पार्टी एकताको काम प्रगतितर्फ उन्मुख छ । लगभग ८० प्रतिशत काम सकिएको छ ।’
वर्तमान सरकार ईतिहाँसकै शक्तिशाली सरकार भएकाले निरन्तरतामा क्रमभंगता हुनुपर्दथ्यो भन्ने आफूहरुको चाहना रहेको पनि सापकोटाले सुनाए । ‘तरपनि यो सरकार विगतकैजस्तो निरन्तरताको लागि भयो’उनले भने–‘जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए । तर, जनताले चाहेजस्तो सरकारले ब्रेक–थ्रु गर्न सकेन् ।’
सरकार रणनीतिक महत्वका काममा पूर्ण सफल भएको उनले दाबी गरे । यो बीचमा सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाई प्रदान गर्न, द्धिपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन र ल्याण्ड–लक्डबाट ल्याण्ड–लिंकतर्फ मुलुकलाई अघि बढाउनेजस्ता महत्वपूर्ण रणनीतिक महत्वका काम सम्पन्न गरेको भन्दै राम्रा कामको फेहरिस्त सुनाए ।
सापकोटाले प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा गएर मुलुकको राष्ट्रिय स्वाधिनता र स्वभिमानको विषयमा शीर उठाउने काम गरेको भन्दै प्रशंसा गरे । उनले भने,‘प्रधानमन्त्री ओलीसँग अहिलेपनि राष्ट्रवादी अडान कायमै छ भन्ने मेरो जबरजस्त धारणा छ ।’ उनले सरकारले समयमै मौलिक हकसम्बन्धी कानुन ल्याएको सुनाउँदै मुलुकमा संवैधानिक संकट नरहेको स्पष्ट पारे ।
त्यस्तै उनले सिण्डिकेट अन्त्य भएपनि मन्त्रालयहरुबीच समन्वय नहुँदा व्यवहारमा जनताले अनुभुति गर्न नपाएको स्पष्ट पारे । उनले भने,‘मन्त्रीहरुबीच टिम–स्पिरिट देखिएन् । प्रधानमन्त्रीको स्पिरिट मन्त्रीहरुमा देखिएन् । अब समिक्षा गर्ने बेला भएको छ । सिण्डिकेट अन्त्यको लागि काम भएको छ । तर, व्यवस्थापनमा केही समस्या देखियो ।’
उनले जनताले सरकारबाट भाषण नभएर ‘एक्शन’ खोजेकोपनि बताए । उनले भने,‘जनतालाई सपना देखाउने काम पूरा भैसक्यो, अब ‘एक्शन’ गरेर देखाउनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा सरकारको बिहंगम समिक्षा हुन्छ।’
सरकारले रणनीतिक महत्वको काम गरेपनि जनतालाई सेवा दिने काममा ढिलाई भएको उनको गुनासो छ । उनले भने,‘अब सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरुको ‘सेरिज’ बनाउनुपर्छ ।’ वर्तमान सरकारको विकल्प नभएको उनले जिकिर गरे ।
मुलुकमा राजनीतिक संक्रमण काल समापन भएपनि व्यवहारिक संक्रमण बाँकी नै रहेकोले यसलाई सबै मिलेर हल गर्नुपर्ने उनको धारणा छ । उनले भने,‘यसको लागि दलहरुबीच बढिभन्दा बढि छलफल र सम्वाद गर्नुपर्छ ।’ सरकारका कामकारबाहीका सवालमा जनताको तहबाट उठेका सकारात्मक आलोचनाहरुलाई सुझावका रुपमा लिनुपर्ने उनले सुझाए । उनले थपे,‘जनताका सकारात्मक आलोचना र गुनासाहरुलाई सरकारले एक÷एक रुपमा सम्बोधन गर्नुपर्छ ।’
जनताले यही सरकारबाट ठूलो आशा गरेकाले कम्युनिष्ट सरकारको विकल्प नभएको उनको भनाई छ। उनले भने,‘जनताले यो सरकारसँग ठूलो आशा र अपेक्षा गरेका छन् । सरकारसँग अझै समय र शक्ति छ । वर्तमान प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री हुनुहुन्छ ।’