arrow

प्रदेश दुईमा कांग्रेसको राजनीतिक प्रस्ताव बारे छलफल, यस्तो आयोग सुझाव

logo
प्रकाशित २०७५ मंसिर २ आइतबार
congress-2.jpg

जनकपुर । नेपाली कांग्रेसको राजनीतिक प्रस्तावका बारेमा आइतबार प्रदेश दुईका नेताहरुले छलफल गरेका छन् ।  सवै प्रदेशमा छलफल गर्ने निर्णय अनुसार आज पहिलो दिन प्रदेश दुईमा छलफल भएको हो। छलफल कार्यक्रमको उद्घाटन पार्टी केन्द्रीय सदस्य तथा राजनीतिक मस्यौदा समितिकी सदस्य डा डिला संग्रौलाले गरेकी थिइन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले कांग्रेसको राजनीतिक प्रस्ताव अहिले पनि मुलुकका अन्य पार्टीहरुको भन्दा उत्कृष्ठ भएको र विश्वव्यापी मान्यता अनुसारको भएको बताए । उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपालमा अहिले अन्य पार्टीहरुले पनि पछ्याएकोले धारणा राखे ।

जनआन्दोलनपछि स्थापित भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेसीकरणलाई पनि अव थप संस्थागत गर्दै लैजानु पर्नेमा उनले जोड दिए ।
 
भेलामा प्रदेश दुई अन्तर्गत पर्ने आठ जिल्लाका क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र निर्वाचित जनप्रतिनिधिसहित सयौंको संख्यामा सहभागी थिए ।

सहभागी स्थानीय नेताहरुले राजनीतिक विचारलाई पार्टीका केन्द्रीय नेताहरुले नै व्यवहारमा उतारेर देखाउन आग्रह गरेका थिए । भेलामा सहभागीहरुलाई चार समूहमा विभाजन गरेर छलफल गराइएको थियो । उनीहरुले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, परराष्ट्र नीतिलागयतका विषयमा सुझावहरु राखेका छन् ।
 
भेलामा सहभागीहरुले युवा, महिला, मधेशी, मुस्लीम, आदीवासी जनजाती, दलितलागयतलाई पार्टीमा आकर्षण गर्न विषेश अभियान ल्याउनु पर्नेमा जोड दिएका थिए ।

कांग्रेसले आउदो महासमितिको बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावको मस्यौदा बनाउन उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा मस्यौदा समिति नै बनाएको छ । सो समितिले अन्य प्रदेशहरुमा पनि छलफल गर्ने तयारी गरेको समितिकी सदस्य डा डिला संग्रौलाले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ