काठमाडौं। कांग्रेस केन्द्रिय समिति बैठकले बहुमतका आधारमा नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद दोश्रो पटक थप गरेको छ। गत २ भदौसम्म वर्तमान निर्वाचित कार्यसमितिको म्याद भएपनि विधान अनुसार तीन महिना थप गरेर २ मंसिरसम्म पुर्याइएको थियो।
आइतबारको बैठकमा म्याद थप गर्ने कि विघटन गर्ने भन्नेमा नेताहरु बीच विवाद थियो। तर बैठकले विवाद बीच पुनः दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो। शनिबार र आइतबार गरी सो विषयलाई टुंगो लगाउन भन्दै नेताहरु दिनभर जसो अनौपचारिक बैठकमा बसेका थिए।
तर नेताहरु कुनै एक विकल्पमा सहमत हुन नसक्दा सभापति शेरबहादुर देउवाले बहुमतबाटै २ महिना थप गर्ने निर्णय गरेका हुन। कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले बहुमतबाटै वर्तमान कार्यसमितिको म्याद दुई महिनाका लागि थप गरिएको बताए।
‘हाम्रो प्रस्ताव ६ महिना थप गरौं भन्ने थियो तर बैठकले बहुमतबाट दुई महिना मात्रै थप गर्ने निर्णय गर्यो,’ नेता पौडेलले भने। स्रोतका अनुसार बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसमूहले भने वर्तमान कार्यसमिति विघटन गर्न प्रस्ताव गरेका थिए। उनले वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन माग गर्दै आएका थिए।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले भने सभापति देउवाले गरेको प्रस्तावमा असहमत रहँदै दुई महिनाको छोटो समयमा महाधिवेशन गर्न गाह्रो पर्न सक्ने भन्दै ६ महिना थप्न प्रस्ताव गरेका थिए।
दुई महिना थप भएसँगै अब वर्तमान नयनसिंह महर अध्यक्ष रहेको समितिको म्याद अब २ माघसम्म रहने छ। बैठकले यस अघि निर्णय भएको ३२ वर्षे उमेरहदलाई समेत लागू गर्ने निर्णय गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघ विधानको भाग ९ को धारा २६ लाई परिमार्जन गरेर वर्तमान कार्यसमितिको म्याद पुनः थप गरिएको जनाए।
अध्यक्ष महर र महामन्त्री कुन्दनराज काफ्लेले भने दुई महिना भित्र निर्वाचन गर्न सक्ने सम्भावना नरहने भन्दै दुई महिनामात्र समय थप गरिए राजिनामा दिन तयार रहेको भन्दै नेतृत्वलाई दबाब दिंदै आएका छन।