नेविसंघको निर्णयमा देउवाले पौडेल र सिटौलाका कुरा सुनेनन्
महासमिति बैठकमा नेविसंघको एजेन्डा छल्ने रणनीति
प्रकाशित २०७५ मंसिर २ आइतबार
329
Shares
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान कार्यसमितिको कार्यकाल दुई महिना थपिएको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको दुई महिना समय थप्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
आइतबार राति १२ बजे नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको म्याद सकिनु तीन घण्टाअघिमात्र नेविसंघको कार्यकाल दुई महिना थपिएको हो ।
नेविसंघको विधानमा दुई बर्षे कार्यकाल सकिएपछि महाधिवेशनका लागि तीन महिना थपिसकिएको थियो । तर महाधिवेशन नभएपछि बाधा अड्काउ फुकाउ ब्यवस्था अनुसार थप दुई महिना थपिएको हो ।
अब माघ २ गतेभित्र महर नेतृत्वकै कार्यसमितिले चुनावी महाधिवेशन गर्नुपर्नेछ ।
असहमतिबीच नै देउवाले थपे दुई महिना
सहमतिका लागि शनिबार वातावरण नबनेपछि शनिबार मात्र ५ मिनेट बैठक बसेर आइतबारका लागि सारिएको थियो । आइतबार पनि दिउँसो २ बजेलाई डाकिएको बैठक साँझमात्र बसेको थियो ।
केन्द्रीय समिति बैठकमा नेताहरुबीच चर्काचर्की भयो । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नै गराउने हो भने ६ महिनाको समय थप्नुपर्ने बताएका थिए । उनले काँग्रेसको महासमिति बैठक, जाडो मौसममा बिद्यालय र कलेज बन्द हुने तथा जिल्लादेखि क्याम्पसहरुमा अधिवेशन हुन नसकिरहेका बेलामा कम्तीमा ६ महिनाको समय चाहिने बताएका थिए ।
त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन गर्न नसकेको समितिलाई हटाई ६ महिना भित्र महाधिवेशन गर्नका लागि तदर्थ समिति बनाउनु पर्ने अडान राखेका थिए।
दुई पक्षको अडानका बीच देउवाले बहुमतको समर्थनमा दुई महिना समय थपेर यही कार्यसमितिलाई नै निरन्तरता दिएका हुन् ।
महासमितिमा मुद्दा छल्ने प्रयास
एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवाले पार्टीको महासमिति बैठक हुँदै गर्दा उक्त बैठकमा नेविसंघको मुद्दा नै छल्नका लागि छोटो समयको अवधि तोकेका हुन् । तर तीन महिनाको समयमा हुन नसकेको महाधिवेशन के दुई महिनामा होला त ? भन्ने प्रश्न खड्किएको छ ।