निर्मलाको न्यायमा केही व्यक्तिले डलरको खेती गरेको आरोप
राहात रकम निर्मलाका दिदीबहिनीको शिक्षामा खर्च गरिनुपर्ने माग
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर ३ सोमबार
248
Shares
कञ्चनपुर । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तका बलात्कारी हत्यारा सार्वजनिकको माग अघि सार्दै थालेको आन्दोलन पछिल्लो समय दुई समूहमा विभाजित भएको छ । एकातिर मीना भण्डारी लगायतका अधिकारकर्मीको समूह र अर्कातिर हेलेन श्रेष्ठ नेतृत्वको दबाबमुलक संघर्ष समितिले निर्मला पन्तको न्यायको लागि छुट्टा छुट्टै संघर्ष गरिरहेको भएपनि पछिल्लो समय दुइटै समितिको एकअर्काबिच आरोप प्रत्यारोप पनि बढ्दै गएको छ ।
निर्मलाका बलात्कारी सार्वजनिकको माग अघि सार्दै आन्दोलनमा होमिएको दबाबमुलक संघर्ष समितिले न्यायका नाममा केही व्यक्ति समुह डलरको खेती गरिरहेकाले न्याय प्रभावित भएको आरोप लगाएको छ । निर्मलाको शव फेला परेकै दिनदेखि सडक आन्दोलनमा उत्रिएको संघर्ष समितिले छठसम्म आन्दोलन स्थगित गरेको भएपनि सोमबार दबाबमुलक संघर्ष समिति कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै अधिकारका नाममा डलरको खेती भईरहेकाले निर्मलाले न्याय पाउन नसकेको जनाएको हो । तर, संघर्ष समितिले आन्दोलनका कुन कुन क्षेत्र कहाँ कहाँबाट डलर आयो भनेर खुलाएको छैन् ।
छठ यता आन्दोलन नगरेको संघर्ष समितिले मंसिरको पहिलो साता आएर चार बुँदे माग अघि सारेको छ । अनुसन्धानलाई सहज हुने गरी स्थानीय र आफन्तले छानबिनका लागि आवश्यक सहयोग गर्नुपर्ने सुझाव दिएको छ । निर्मलाको न्यायिक आन्दोलनमा घाईते, अङ्गभङ्ग भएका पीडित परिवार तर्फ समेत संघ संस्था र सरकारको ध्यानाकर्षण गराएको छ ।
तीनै सरकारले दिएको राहतकोष निर्मलाकी दिदीबहिनीको भविष्यको लागि खर्च गरिनुपर्ने माग अघि सारेको छ । हत्याकाण्ड छानबिनका लागि पटक पटक छानबिन टोली गठन गरिएको जनाउदै घटनाको सत्यतथ्य छानबिनका लागि जोडदार माग अघि सारेको छ । ‘निर्मलाको हत्या भएको ११७ दिनपुगिसक्दा पनि प्रहरी प्रशासनले अहिलेसम्म कुनै हत्यारा पत्ता लगाउन सकेको छैन्, ‘विज्ञप्तीमा भनिएको छ, ‘चौतफिक अनुसन्धान गरेको प्रहरीलाई निष्पक्ष छानबिन र छिटोछरितो गर्नदिनुपर्दछ ।’
दवावमुलक संघर्ष समिति कञ्चनपुरका संयोजक हेलन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तीमा संघर्ष समितिले न्यायका लागि आन्दोलन जारी राखेको जनाएको छ । दवावमुलक संघर्ष समितिका पदाधिकारीले निर्मला पन्तका परिवार, आफन्त, छरछिमेकीले प्रहरीलाई अनुसन्धानमा सघाउनुपर्नेमा जोडदिएका थिए । निर्मलाका बाबु यज्ञराज पन्त सहित उनका दुवै श्रीमती दुर्गा, लक्ष्मीपनि छोरी निर्मलाका हत्यारा सार्वजनिको माग राख्दै गतसाताको आईतबारदेखि प्रशासनको मुल गेटमा अनिश्चितकालिन धर्नामा बसेका छन् । यता कञ्चनपुर प्रहरीले भने अनुसन्धान सुक्ष्म, गहन रुपमा अनुसन्धान जारी रहेको जनाएको छ । तर उपलब्धि भने केही हात लागेको छैन ।
निर्मलाको न्यायका लागि भन्दै कञ्चनपुरमा गठित दुई संघर्ष समिति मध्ये श्रेष्ठ समुहको दवावमुलक संघर्ष समितिले छुट्टै विज्ञप्तीबाजी गरेको छ, भने महिला अधिकारकर्मी मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समिति निर्मलाका परिवारले आयोजना गरेको धर्नामा सहभगी भएको छ ।