स्याङ्जा । जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले राजमार्ग र भित्रि सडकमा चल्ने सवारी साधनका चालकलाई ट्राफिक शिक्षा दिएको छ । जिल्लाको वालिङ नगरपालिका मिर्दिमा करिव १ सय ५० सवारी चालकलाई ट्राफिक सम्वन्धी नियम र शिक्षा प्रदान गरेको हो ।
मदिरा सेवन, क्षमता भन्दा बढी यात्रु बोक्ने, सवारी कागतजात नलिने, हेलमेट नलगाउने जस्ता ट्राफिक नियम भन्दा विपरीत सवारी साधन चलाउने गरेको उजुरी आउन थालेपछि पहिलो पटक ट्राफिकले यो अभियान शुरु गरेको हो । ट्राफिक नियम विपरीत सवारी साधन चलाउदा हुन सक्ने दुर्घट्नालाई न्युनिकरण गर्न यो अभियान चलाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक रेशम बहादुर रानाभाटले बताए ।
कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दा ठुलो दुर्घट्ना हुने सम्भावना बढ्न थाल्यो ट्राफिक शिक्षाको प्रशिक्षण दिदै रानाभाटले भने,“चालकको लापरवाहिले कुनै पनि नागरिकले ज्यान गुमाउन हुदैन ।” दुर्घट्नाको जोखिमबाट बचाउने दायीत्व ट्राफिकको मात्रै नभएर यात्रु, सवारी चालक र यातायात समिति पनि जिम्मेवारी हुनु आवश्यक छ रानाभाटले भने । नेपालीहरुका महान चाडपर्वमा यात्रुहरुमा केही सहुलीयत दिएको भएपनि सवारी चालकले ट्राफिक नियम भन्दा विपरीत यात्रु चढाउने गरेको ट्राफिकको भनाई छ ।
पहिलो पटक चालकलाई सम्झाउने काम गरेका छौं ट्राफिक प्रमुख रानाभाटले भने,“सम्झाउने प्रयासलाई अटेरी गरेमा कडा कारवाहिको प्रोसेसमा हामी लाग्ने छौं ।” सबै नागरिक ट्राफिक हो भन्ने चेतना बृद्धि हुनु पर्छ जसले गर्दा सबैको दुर्घट्नामा ज्यान गुमाउन पर्दैन रानाभाटले भने । जिल्लामा ट्राफिकको संख्या कम भएपनि ट्राफिक प्रहरीको सक्रियता भने बढेको ट्राफिक प्रहरीको दावी छ । हरेक सवारी साधन निर्वाध रुपमा चल्न पाउने अधिकार भएपनि गैह्र जिम्मेवारी पन नदेखाउन सबै चालकलाई रानाभाटले सुझाए ।
ट्राफिक प्रहरीको नम्र व्यवहार नभएमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क राख्न पनि चालकहरुलाई रानाभाटले बताए । ट्राफिक प्रहरीले पनि यात्रु, सवारी चालकलाई देखाउनु पर्ने असल व्यवहार देखाएर काम गर्न पनि निर्देशन रानाभाटले दिए । सडकको अवस्था राम्रो नहुदा र सवारी साधन कम हुदा जोखिम मोलेर यात्रु लिएर हिड्नुपर्ने बाध्यता हामीमा रहेको चालकहरुले बताएका थिए ।
जिल्ला ट्राफिक प्रहरीले जिल्लाका ११ वटै स्थानीयतहमा ट्राफिक प्रहरी सञ्जाल गठन गर्ने र त्यसको सबै जिम्मेवारी हुने गरी जिल्ला ट्राफिक प्रहरी संञ्जालले गर्ने तयारी भएको रानाभाटले जानकारी दिए । जिल्लामा १५ जना जनशक्ति रहेको ट्राफिक प्रहरीले राजमार्गमा गुड्ने र ग्रामिण क्षेत्रमा गुड्ने करिव २ हजार भन्दा बढी सवारी साधनको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।