कार्तिक नाचको प्रमुख प्रर्दशनी : नृसिंह अबतार मध्यरातमा देखाइदै
प्रकाशित २०७५ मंसिर ५ बुधबार
487
Shares
काठमाडौं। कार्तिक नाचको प्रमुख नृसिंह अबतार बुधबार ललितपुरको कार्तिक डबलीमा प्रर्दशनी हुदैछ। कार्तिक नाचको प्रमुख र बिशेष नृसिंह अबतारमा हिरण्य कश्यपुदैत्यलाई नृसिंहले बध गरीने नाच मध्यरातमा देखाइने नाच हो।
धार्मिक संगै तान्त्रिक बिधिले हिरण्यकश्यपु दैत्यलाई नृसिंहले बध गर्दा बास्तबमै बेहोश हुने हिरण्यकश्यपुलाई मगंहिटीको पानी ल्याएर ख्वाएपछि मात्रै होश आउने भएकोले यो नाच अलौकिक तथा दैबिक शक्ति पनि रहेको बताउछन हिरण्यकश्यपु दैत्यको भुमिका निर्वाह गर्दै आएका किरण चित्रकार। विष्णु पुराणको नृसिंह अवतार कथामा आधारित यो नाचमा पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू साताभर देखाउने क्रममा यो मध्यरातमा प्रस्तुत गरिन्छ।
अन्य नाच बेलुका ७ बजे सुरु भएपनि यो नाच भने मध्यरातमा प्रर्दशनी हुदै आएको छ। यो आधुनिक युगलाई पनि चुनौति दिने नाच हो। जसमा अलौकिक शक्ति र पुजापाठगर्ने बिधि पनि बिशेष छ। हिरण्यकश्यपु दैत्य हुने नेवार समुदायका चित्रकार नै हुनुपर्ने नियम छ भने नृसिंह हुने हरिबंश उपाध्याय का बंशज नै हुनुपर्ने नियम छ।
यसपाली पहिलोपटक कृतज्ञधर राजोपाध्यायले नृसिंह भई आफनो कलाकारिता प्रस्तुत गर्ने तयारी छ। चित्रकार भने २०५५ सालदेखि नियमित रुपमा हिरण्यकश्यपु दैत्यका रुपमा नाचमा सहभागि हुदै आएका छन। यसपाली २१ औ पटक चित्रकारले दैत्यको भुमिका निर्वाह गर्न लागेका हुन। अन्य कसैले पनि यो भुमिका निर्वाह गर्ने आँट नगरेपछि संस्कृति संरक्षणका लागि भुमिका निर्बाह गर्दै आएको चित्रकारले बताए।
गएको कार्तिक २६ गते देखि सुरु कार्तिक नाचमा मंगलबार बराहले हिरण्याक्ष बध गर्ने प्रर्दशनी देखाइएको कार्तिक नाच संरक्षण समितिले जनाएको छ।
सिद्धि नरसिंह मल्लको पालादेखि नचाइदै आएको ३ सय ७८ वर्ष पुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा गएको कार्तिक २६ गतेदेखि नियमित रुपमा १२ दिनसम्म देखाइनेछ।
मल्लकालीन राजा सिद्धिनरसिह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिएको हो।
कार्तिक नाच संरक्षण समितिले जनाएअनुसार, २ दिन बाःथ नाच(लोक नाटक), ५ दिन उषाहरण, जलशयण अन्र्तगत मधु कैटब वध, बराह अबतार देखाइसकेको छ ।अब नृसिंह अवतार, वस्त्रहरण र दधि लीला मात्रै प्रस्तुत गर्न बाँकी रहेको छ। कार्तिक नाच आउने मंसिर ७ गते दधि लिला देखाएपछि यो बर्षको कार्तिक नाच समापन हुने समितिले जनाएको छ।
२००७ सालको जनक्रान्तिका बेला पहिलो पटक रोकिएको नाच बिक्रम सम्वत् १६९७ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरु तथा ज्योतिषहरुको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर यो नाच चलाएका थिए। सुरुमा सो नाच कृष्णलिलामा आधारित भएको बताइन्छ। त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो।
पछि सिद्धिनरसिंहकै छोरा श्री निवास मल्लको पालामा वि.सं. १७३० मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत राखेर नाच चलाएको इतिहासमा पाइन्छ। त्यसपछि श्री निवासका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगायतका शास्त्रीय नाचसहित थपेर एक महिनासम्म यो नाच सञ्चालन गराएको बाद्यवादन गुरु केशब कृष्ण श्रेष्ठले बताए।
वि.सं. २००६ सालसम्म निरन्तर चलेको नाच २००७ सालको जनक्रान्तिका कारण एक वर्षसञ्चालन हुन सकेन। जस्तो अबस्थामा पनि निरन्तर चलेको यो नाच जनक्रान्ति भएको बेला भने पहिलो पटक रोकिएको बाद्यवादन गुरु केशब कृष्ण श्रेष्ठले बताए। त्यसपछि २००८ सालदेखि २०३७ सालसम्म कात्तिक महिनाको र्दुइ दिन मात्र यो नाच सञ्चालन गरिन्थ्यो। त्यतिबेला श्री बराह नाच र श्री नरसिंह नाच मात्र सञ्चालन गरिएको बताइन्छ।
वि.सं. २०३८ सालमा कात्तिक नाच प्रबन्ध समितिको गठन भएपछि प्रत्येक वर्षकात्तिक नाच सञ्चालन हुँदै आएको पाइन्छ। कात्तिक महिनाभरि सञ्चालन गरिने भएकाले नाचको नाम नै कार्तिक नाच रहन गएको बताइन्छ। नेपालको साँस्कृतिक इतिहासमा सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा यस नाचलाई लिइन्छ। सांस्कृतिको दृष्टिकोणबाट पनि यो नाच महत्वपूण मानिन्छ। यो नाचले ऐतिहासिक मल्लकालको संस्कृति झल्काएको छ। यस नाचले सिद्धिनरसिंह मल्ल, श्री निवास मल्ल र योगनरेन्द्र मल्लका शासनकाललाई पनि सम्झना गराएको छ।