arrow

निर्मला हत्या प्रकरण : आमाको डीएनए परीक्षण केका लागि ?

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
nirmala2.JPG

काठमाडौं । अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ रे ! कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एकपछि अर्को छलछाम र षडयन्त्रको गन्ध छोड्दै आएका प्रहरी प्रशासन र सरकारी मान्छेले पछिल्लो समय, निर्मलाको योनीबाट निकालेको भनिएको स्वाबको बैधानिकता परीक्षणका लागि भन्दै उनकी जन्मदाता दुर्गादेवीको रगतको नमूना संकलन गरेका छन् । कञ्चनपुर प्रहरीले दुर्गाको रगतको नमूना महाकाली अञ्चल अस्पतालमा लिएको छ । प्रहरीका अनुसार, यही अस्पतालले निर्मलाको भेजिनल स्वाब लिएको थियो ।  कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले, निर्मलाकी आमा दुर्गादेवीको रगत लिइएको र परीक्षणका लागि संभवत: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने बताए ।
 
प्रहरीका अनुसार अब दुर्गादेवीको डीएनए र निर्मलाको भेजिनल स्वाबको डीएनए प्रोफाइल भिडाएर हेरिने छ। निर्मला बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीसँग भएको प्रमाण भनेको निर्मलाको स्वाबबाट निकालिएको वाइ. एसटीआर डीएनए प्रोफाइल मात्र हो । अर्थात् स्वाबमा भेटिएको बलात्कारीको वाई क्रोमोजमको डीएनए प्रोफाइल । तर प्रहरीले निर्मलाको भनिएको स्वाबबाट निर्मलाकै डीएनए प्रोफाइलिङ गरे नगरेको अझै भन्न सकेको छैन । यदि त्यसको प्रोफाइलिङ गरिएको थिएन भने, दुर्गादेवीको डीएनए परीक्षणको अर्थ छैन ।

शंकाको घेरो :
निर्मला हत्याकाण्डको विषय चर्किँदै गएको बेला दुर्गादेवीले उहीबेलै परीक्षणबाट खुल्छ भने म डीएनए परीक्षणका लागि तयार छु भनेकी थिइन् । त्यतिबेला प्रहरीले चासो दिएन । संकलन गरेर परीक्षण गरिएको र निर्मलाको भेजिनल स्वाबको बैधानिकतामाथि नै जबरजस्त प्रश्न उठिरहँदा यतिबेला आएर प्रहरीले यसमा जाँगर चलाएको छ ।  यसका दुई अर्थ छन् ।

पहिलो: दुर्गादेवीको डीएनए परीक्षणबाट, निर्मलाको भनिएको स्वाबबाट लिइएको डीएनए, उनकै थियो भन्ने पुष्टि गराउने र प्रहरीले कम्तिमा प्रमाण जोगाएको रहेछ भन्ने देखाउने । किनकि प्रहरीले निर्मलाकै भन्दै आएको भेजिनल स्वाब बाहेक प्रमाणको रुपमा देखाउने कुनै चिज बाँकी राखेको छैन । प्रहरीले नै प्रमाण बाँकी नराखेको भन्न सक्ने कारण यो हो कि प्रमाण जोगाउनु पर्ने प्रहरीले, प्रमाण नष्ट गरेका उसका हर्कतबाट प्रष्ट हुन्छ । जस्तो: गुप्तांग पखाल्नेदेख, घटनास्थलको सुरक्षा नगर्ने र निर्मलाका लुगा समेत गायब पार्नु ।

दोश्रो : डीएनए मिलेन भने, तत्कालिन कञ्चनपु प्रहरी नेतृत्व सहित कार्वाहीको सिफारिसमा परेकामाथि सिधा मुद्दा चलाएर जेल पठाउने र प्रहरीको छबि सुधार्ने ।

यसकारण बनाइन्छ डीएनए बैधानिक :
गत मंसिर २२ गते शनिबार रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिपक्षी काँग्रेस नेताहरुसँग नाक फुलाउँदै भने: “हामीले निर्मलाका बालात्कारी र हत्यारा पक्राउ गरिसकेका छौं, सार्वजनिक गर्दैछौं । तर उनीहरुलाई जोगाउन कोही नआओस्”, काँग्रेस नेतृ पुष्पा भुसालप्रति औंला तेस्र्याउँदै उनले हुंकार गरेका थिए । शुरुमा गृहमन्त्री रामबहादुर थापाले दिलिपसिंह विष्टको पालामा जस्तै रक्षामन्त्री पोखरेलको दाबीमा पनि निर्दोषलाई फसाउने र फेक अपराधी देखाउने गन्ध ह्वास्सै आयो । विष्ट जस्तै कुखुरा चोरका अभियुक्तहरु विशाल चौधरी र प्रदीप रावल छुटे । प्रहरी र सरकारी मान्छेको प्र्रोपोगाण्डा सकियो । उनीहरुको डीएनए निर्मलाको भनिएको स्वाबसँग भिडाउँदा मिलेन भनियो । प्रहरीले त्यो स्वाब निर्मलाकै गप्ता∙बाट निकालिएको दाबी गर्दै आएको छ । अति बेला आएर त्यो निर्मलाको स्वाब होइन भन्ने प्रहरीसँग अर्को विकल्प नै छैन । त्यसकारण दुर्गादेवीको डीएनए मार्फत बैधानिकता पुष्टि गरिनेछ ।
 
दुर्गादेवीको डीएनएसँग यदि मिलेन भने ?
नकारात्मक पाटो : यसबाट निर्मला प्रकरणमा धमिलिएको प्रहरीको छबि ध्वस्त हुन्छ । प्रहरीले नै प्रमाण सफाया गरेको र फेक स्वाबको डीएनए लिएको र जनताको आँखामा छारो भरेको स्वत: पुष्टि हुन्छ ।

सकारात्मक पाटो : डीएनए म्याच नभएमा र प्रहरीले मिलेन भन्ने हिम्मत गर्न सकेमा, घटनाको अनुसन्धान नयाँ शिराबाट शुरु हुन्छ । प्रहरी संगठनको धमिलिएको छबि सङ्लिँदै जान्छ । तत्कालिन कञ्चपुर प्रहरी प्रमुख एसपी दिल्लीराज बिष्ट एण्ड कम्पनी सीधै जाकिन्छ । जाकिनुपर्छ । जाकिइसक्नु पथ्र्याे । विभागीय कार्वाहीको नाममा दुनियाँ अल्मल्याउने खेल यसअघि नै सकिनुपथ्र्यो । अनुसन्धानको श्रृंखला जोड्दै प्रहरीले टार्ने प्रयास गरेको देखिन्छ । त्यसैले डीएनए म्याच भएन भनेपनि प्रहरीले वास्तविकता बाहिर ल्याउला भनेर विश्वास गर्ने आधार अत्यन्त न्यून छ ।

विश्वसनीय बनाउन :
दुर्गादेवी र निर्मलाको भनिएको डीएनएको विषयमा जनतालाई विश्वस्त पार्नका लागि प्रहरीसँग अर्को विकल्प बाँकी छ । त्यो हो : निर्मलाको डीएनए प्रोफाइल छ भने तत्काल सार्वजनिक गर्ने र दुर्गादेवीको डीएनए परीक्षण प्रहरी प्रयोगशालामा नगराएर, राष्टिङय विधि विज्ञान प्रयोगशाला वा विदेश पठाएर रिपोर्ट ल्याउने । ती दुई नतीजा सार्वजनिक गर्ने र जनतालाई दूधको दूध पानीको पानी, यो हो वास्तविकता भनेर । नेपाल प्रहरीका प्रमुख आइजीपी सर्वेन्द्र खनालले आम नागरिक र संसदीय समितिमा दाबी गरेजस्तो निर्मला काण्डमा कसैको दबाव प्रभाव छैन र नियत साँच्चिकै सफा छ भने, दुर्गादेवीको डीएनए परीक्षण प्रहरीको आफ्नै प्र्रयोगशालामा गराउन हुँदै हुँदैन । यदि त्यहीँ गराइन्छ भने, जनता त्यत्ति बेवकुफ छैनन्, षडयन्त्रको निरन्तराकै रुपमा लिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ