काठमाडौं। करीब एक वर्षअघि प्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा भ्रष्टाचारमा शुन्य सहनशिलताको फर्मान जारी गरेका केपी ओलीको राजमा भ्रष्टारले नेटो काट्दै गरेको प्रतिवेदन सार्वजनिक भएको छ। विश्वका १ सय ८० मुलुकको आंकडा अध्ययन गरेर भ्रष्टाचार विरुद्धको अन्तर्राष्टिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले, नेपालमा गत वर्ष भन्दा वर्तमान ओली सरकारकै पालमा भ्रष्टाचार मौलाएको देखाएको हो। टीआई नेपालले प्रष्ट भाषामा भनेको छः
“सीपीआई २०१८ मा समाविष्ट विभिन्न संस्थाले गरेका सर्वेक्षण अनुसार निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमाकमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ। भ्रष्टाचार अवधारणा सूचकांक २०१८ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक छ”।
भ्रष्टाचार अबधारणा सूचकांक (सीपीआई) २०१८ ले देखाए अनुसार, नेपालमा कुनै पनि यस्ता ठाउँ छैनन्, जहाँ भ्रष्टाचार मौलाएको नहोस्। विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरुले गर्ने सर्वेक्षणको आधारमा टीआई सूची तयार गरिन्छ। टीआई नेपालले सार्वजनक गरेको प्रतिवेदन, विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जष्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणको अधारमा तयार पारिएको हो।
कुन संस्थाले कुन क्षेत्रको सर्वेक्षण गरे :
विश्व बैंकः सार्वजनिक क्षेत्र र पदाधिकारीको कामकारबाहीमा सरकारको निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारबाहीको जानकारीमा पहुँच।
वल्र्ड इकोनोमिक फोरमः आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुस दिनुपर्ने अबस्था।
बर्टेल्सम्यान फाउन्डेसनः सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट भ्रष्टाचार नियन्त्रण।
वल्र्ड जष्टिस प्रोजेक्टः सरकार, न्यायालय, संसद र सुरक्षा निकायका प्रतिनिधिले नीजि स्वार्थको लागि पदको दुरुपयोग।
भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट(भीडीइएम): राजनीतिक भ्रष्टाचारको व्यापकता।
नेपालको स्थिति के ?
यस वर्षको सूचकांकमा समावेश १८० मुलुकमध्ये सबभन्दा कम भ्रष्टार हुने मुलुकलाई दिइने १०० सय पूर्णांकमा नेपालले ३१ अंक पाएको छ। एसईई कै पास मार्कलाई आधार मान्दा पनि ओली सरकार भ्रष्टाचार नियन्त्रण गर्न सीधै फेल भएको छ। विश्वका १८० मुलुकमध्ये नेपाल १२४ औं स्थानमा परेको छ। गत वर्ष नेपाल १२२ औं स्थानमा थियो। अहिले २ स्थान तल धकेलिएको छ। दक्षिण एशियाका ८ मुलुकमध्ये नेपाल भ्रष्ट मुलुकको टप थ्री भित्र परेको छ, अफगानिस्तान र बंगलादेशपछि।
नेपालको सीपीआई स्कोरका लागि प्रयोग भएका तथ्यांक र सम्बद्ध संस्था वर्ष विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट-
यी संस्थाले गरेको सर्वेक्षणको क्षेत्रमध्ये सबै क्षेत्र दुई तिहाइ सरकारको प्रत्यक्ष नियन्त्रण र निगरानीमा छन्। तर सरकारले यो अबधीमा ठूला गफ दिनुभन्दा माखो मार्न नसकेको तथ्यांक आफैले बोलेको छ। ठेक्कापट्टादेखि सरकारी कार्यलयमा राजनीतिक दबाब र प्रभावले भ्रष्टाचार मौलाउनमा कस्तो असर पारेको छ भन्ने जगजाहेर छ।
दक्षिण एशियाली राष्ट्रहरुमध्ये भुटान ६८ अंक प्राप्त गर्दै, २५ औं स्थानमा, भारत ४१ अंकका साथ ७८ औं स्थान, श्रीलंका ३८ अंक सहित ८९ औं, पाकिस्तान ३३ अंक सहित ११७ औं स्थान, मालदिभ्स ३१ अंक सहित नेपालसँगै १२४ औं स्थानमा छन्। यो सूचकांकमा बङ्गलादेश २६ अंक सहित १४९ औं र अफगानिस्तान १६ अंक सहित १७२ औं स्थानमा छन्।
यो सूचीमा डेनमार्क कुल १०० मा ८८ अंक प्राप्त गरी सबभन्दा कम भ्रष्टाचार हुनेमा दरिँदा सोमालिया १० अंक सहित सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेको छ।