प्रहरीले भन्यो : ६ जनाको शव भेटियो, पीएसओको खोजी जारी
प्रकाशित २०७५ फागुन १५ बुधबार
355
Shares
काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दूर्घटनाका ६ जनाको शव भेटिएको छ । प्रदेश नं १ का प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले ६ जना यात्रुको शव भेटिएको जानकारी दिए । उनले एक जनाको शवको खोजी कार्य जारी रहेको पनि बताएका छन् ।
बुधबार आठराई गाउँपालिकाबाट ताप्लेजुङको पाथिभरा जाने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दूर्घटना भएको हो। दूर्घटनामा नेपाली सेनाको जस्तो देखिएको एउटा बुट मात्रै भेटिएको र शव नभेटिएकोले त्यो मन्त्रीका पिएसओको शव हुनसक्ने आशंका गरिएको छ ।
चुहान डाँडाको कार्यक्रम सकेर पाथिभरा जाने क्रममा ताप्लेजुङको सिस्नेमा हेलिकोप्टर दुर्घटना भएको हो । उनी आठराई गाउँपालिकामा बन्न लागेको विमानस्थलको स्थलगत अवलोकन गरी ताप्लेजुङ स्थित पाथीभराको दर्शन गर्न भनी विहान ११ बजे विदा भएका थिए।
हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङक्षिरिङ शेर्पा, व्यवसायी विरेन्द्र प्रसाद क्षेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, क्याप्टेन प्रभाकर केसी र अर्जुन कुमार घिमिरे रहेको गृहले जनाएको छ ।