arrow

रञ्जीत कर्णको आह्वान : 'सिके राउतलाई सामाजिक बहिस्कार गरौं'

logo
रञ्जीत कर्ण,
प्रकाशित २०७५ फागुन २७ सोमबार
Ranjit-Karna.jpg.jpeg

काठमाडौं । आफूले गरेका जस्तासुकै राष्ट्रघातलाई पनि राष्ट्रवादको जलप लगाएर चोख्याउने प्रयास तत्कालीन नेकपा एमाले र अहिलेको समग्र नेकपाका नेताहरुको लागि कुनै नौलो कुरा होईन । सोही काम अरु पार्टीले गरेको भए तिललाई पहाड बनाएर हुंकार गर्ने कम्युनिष्टहरुमा राष्ट्रवादको खोलओडेर राष्ट्रियतामाथि नै छुरी रोप्ने प्रवृत्ति बढ्दै गएको छ । 

सर्वभौमसत्ता र अखण्डता नेपालको संविधान २०७२ ले अपरिवर्तनीय विषयको रुपमा उल्लेख गरिएको विषयम हो । तर, सोही संविधान अनुसार दुई तिहाई सांसदको मत पाएको केपी ओली नेतृत्वको सरकारले पनि यसरी नै राष्ट्रवादी खोल ओढेर नेपाल आमाको छातीमा छुरी रोप्ने काम गरेको छ । जुन सरासर जनतालाई गुमराहमा राखेर आफ्नो स्वार्थ पूरा गर्ने नियतमात्रै हो । 

प्रजातान्त्रिक शासन पद्धतिमा सरकारको विरोध गर्न पाईन्छ । राज्यले लिएको एउटा धार भन्दा फरक राजनीतिक धार लिन पनि संविधानले सबैलाई छुट दिएको छ । साथमा संविधानले जनताको अभिव्यक्ति स्वतन्त्रताको हक दिएको छ । तर, नेपालको संविधानले केही विषयहरुमा आफ्नो मत राख्न र अभिव्यक्ति दिन प्रतिबन्ध लगाएको छ । नेपालको सार्वभौम सत्ता र अखण्डताको बारेमा त नकारात्मक अभिव्यक्ति दिनुलाई संविधानले अपराध नै भनेको छ । 

तर, राष्ट्रवादको पगरी गुथेर जनतालाई गुमराहमा राख्न सफल भएको ओली नेतृत्वको सरकारले सिके राउतसँग कुम जोडेर आफ्नो असली चरित्र देखाएको छ । सरकारले गधालाई धोएर गाई बनाउन खोजे जस्तो नेपाल आमालाई बेश्या र रातभरी दुनियाँसँग सुतेर विहान पवित्रताको स्वाङ पार्ने जस्ता निकृष्ट शब्दमा गाली गर्ने मानिसलाई राष्ट्रवादी बनाएर राष्ट्रिय सभामा ल्याईनु मुलुककै लागि घातक कुरा हो । यसको हामीले विरोध गर्नै पर्छ । 

बहुरुपी विखण्डनकारी सिके राउतलाई समाजबाट बहिष्कार गर्नैपर्छ । यदि बीचमा कसैले उनलाई बोक्ने काम गर्छ भने उसैलाई पनि सामाजिक बहिस्कार गर्नै पर्छ । नेपाल सरकारँग राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसता र अखण्डताको रक्षा गर्ने प्रतिबद्धता पूरा गरेको केही समय पछि पुनः तराईमा विखण्डनको नारा लगाउने सिके राउतलाई अब पनि बहिस्कार गरिएन भने समाजमा सार्वभौम सत्ता र अखण्डता धरासायी बन्न पुग्छ । मधेसका जनता पूर्ण रूपमा राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसता र अखण्डताको रक्षा गर्ने सदैव प्रतिबद्ध छन् । त्यसैले यो सिके राउतको केही सहयोगीबाट आत्तिएर होईन उनीहरुलाई संवैधानिक रुपमा कारबाही गर्नुपर्छ । 

हामी अब नेपाल आमालाई बेश्या भन्ने सिके राउतलाई सामाजिक बहिस्कारको लागि मंगलबार सप्तरीको राजविराजदेखि भण्डाफोर अभियान सुरु गर्ने तयारीमा छौं । यो हामी देशभरी सिके राउतलाई भण्डाफोर गर्नको लागि यो अभियानको रुपमा नै अघि बढाउनु पर्ने देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ