arrow

जीर्ण बन्दै त्रिभुवन पार्क

logo
जमुना धमला,
प्रकाशित २०७५ फागुन २७ सोमबार
त्रिभुवन_पार्क_01.jpg

काठमाडौँ ।काठमाडौँको थानकोटस्थित ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्व बोकेको त्रिभुवन पार्क जीर्ण बनेको छ । पार्क संरक्षणका लागि राज्यपक्षबाट आवश्यक बजेट विनियोजन नगर्दा र स्तरोन्नतिको योजना ल्याउन नसक्दा पार्कको सुन्दरता गुम्न पुगेको हो ।

उक्त पार्कको नाम त्रिभुवन पार्क रहेपनि अहिले त्रिभुवनको शालिक बेवारिसे रुपमा फालिएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले ढालेको उक्त शालिक वर्षै बितिसक्दा पनि बन्न सकेको छैन । पार्कलाई उचित किसिमले व्यवस्थापन गर्न नसक्दा यहाँ चहलपहल पनि निकै घटेको स्थानीयवासी बताउँछन् ।

एक सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कको चारैतिर लगाइएका बारबन्देज भत्किएको छ । उक्त भत्किएको पर्खाललाई बजेट अभावमा निर्माण गर्न नसक्दा स्थानीयवासी जथाभावी रुपमा प्रवेश गरेर फोहर गरी यसको स्वरुपलाई नै कुरुप पारेको शहीद स्मारक प्रकृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष मदन ताम्राकारले बताए।

उनका अनुसार बजेट अभावमा लडेको त्रिभुवनको शालिकसमेत उठाउन सकेको छैन । पार्कको अस्तित्य जोगाउनका लागि सम्बन्धीत निकायमा केही बजेट प्रदान गर्न आग्रह गयौँ, तर सहयोग मिलेको छैन । पार्कभित्र कहिलेकाहीँ हुने गरेको वनभोजका कार्यक्रमबाट नै कर्मचारीलाई जेनतेन तलब खुवाउँदै आएको अध्यक्ष ताम्रकारले बताए । यसबाहेक घुम्न, आराम गर्न र भलाकुसारी गर्न आउने कोही देखिँदैनन् ।

राजा त्रिभुवनको मृत्युपश्चात् उनको सम्झानामा विसं २०२४ मा श्री ५ त्रिभुवन स्मारक समिति गठन गरिएको थियो । केशव शम्शेर जबराको अध्यक्षतामा गठित उक्त समितिमा नौ जना सदस्य रहेका थिए । विसं २०२४ मा दर्ता भई विसं ०२८ मा निर्माण गरिएको त्रिभुवन पार्क शुरुका दिनमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो । पार्कको चहलपहल बढ्न थालेपछि श्री ५ त्रिभुवन स्मारक समितिले नै विसं २०४२ मा वरिपरिको ४० रोपनी जग्गा खरीद गरेर पार्कको क्षेत्रफल बढाएको थियो । पार्कभित्र राजा त्रिभुवनको शालिक र भैरवनाथको मन्दिर रहेको छ । तर भूकम्पयता शालिक पोखरी नजिकै छेउमा लडेको छ । शालिक मर्मत गरेरे ठड्याउनका लागि बजेट अभाव भएको प्रतिष्ठानले जनाएको छ ।

विसं २०३०-०३१ बाट सर्वसाधारणका लागि खुला गरिएको पार्कको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले गरेका थिए ।  यसको संरक्षण र हेरचाहका लागि २७ कर्मचारी राखिएका छन् । तीमध्ये २० कर्मचारी स्थानीय हुन् । एक सय ६५ रोपनी क्षत्रफलमा फैलिएको उक्त पार्क बाटो विभागबाट १० रोपनी कटानी भई हाल १५५ रोपनीमा सिमित भएको छ । विभागले बाटो बनाउने क्रममा पार्कको बार बन्देजलाई अलपत्र बनाएर भत्काइ दिएपछि थप समस्या उत्पन्न भएको कार्यलयका कर्मचारी बताउँछन् ।

विसं २०६५ भन्दाअघिसम्म यो पार्कको नाम श्री ५ त्रिभुवन स्मारक समिति थियो । विसं २०६५ मा नाम परिवर्तन गरी शहीद स्मारक प्रकृति प्रतिष्ठान राखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ