arrow

विवेकशील नेपालीको अन्तर्राष्ट्रिय समन्वय समिति गठन

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
bibekshil4.jpg

काठमाडौं ।  विवेकशील नेपाली दलले अन्तर्राष्ट्रिय (प्रवास) समन्वय समिति गठन गरेको छ। विवेकशील नेपालीले विदेशमा रहेका नेपालीहरूलाई पनि मूलधारको राजनीतिमानै समेट्न उक्त समितिलाई आठौँ प्रदेश सरहको मान्यता दिएको जनाएको छ।  

यही फागुन २५ गते सहभागितामुलक लोकतन्त्रको अभ्यास गर्दै अन्तर्राष्ट्रिय सदस्यहरूको बैठकबाट सञ्जय रिमालको नेतृत्वमा २१ सदस्यीय तदर्थ अन्तर्राष्ट्रिय (प्रवास) समिति गठन भएको छ। उक्त ‘अनलाइन’ भेलामा कतार, अमेरिका, ओमान, जर्मनी, साउदी अरेबिया, जापान, न्युजिल्याण्ड, कुवेत, अस्ट्रेलिया, दक्षिण कोरिया, भारत लगायत  १३ देशहरूबाट सदस्यहरूको सहभागिता रहेको थियो।

उक्त भेलाले सञ्जय रिमाललाई अध्यक्षमा, सुरेश भट्टलाई उपाध्यक्षमा, सुवास बस्नेतलाई कोषाध्यक्षमा अनि जीवन कार्कीलाई सचिवमा नियुक्त गर्दै चेतनाथ निरौला (साउदी अरेबिया), रविन गुरुङ (साउदी अरेबिया), शुमिका बज्राचार्य (ओमान), निता दाहाल गजुरेल (कतार), लक्ष्मी ओली (अमेरिका), विश्व महर्जन (दक्षिण कोरिया), विनोद कार्की (यु ए ई), सारा प्याकुरेल (जर्मनी), ईश्वर भट्टराई (जापान), बिन्दु शर्मा (जापान), सुनिल ढकाल (न्युजिल्याण्ड), शीतल शर्मा (न्युजिल्याण्ड), राजीव खड्का (कुवेत), नितु श्रेष्ठ (कुवेत), सौविध्य मनोज (अस्ट्रेलिया), कैलाश थापा (क्यानडा), मदन पौडेल (राज छेत्री) (भारत) लगायत सदस्यहरूलाई उक्त समितिको सदस्यमा चयन गरेको थियो।

अहिले विवेकशील नेपालीले विभिन्न प्रादेशिक समितिहरू गठनलाई तीव्रता दिएको छ। यसैक्रममा विवेकशील नेपालीले प्रदेश १, प्रदेश २, प्रदेश ३, गण्डकी प्रदेश तथा प्रदेश ५ मा पनि सदस्यहरुकै भेला राखी समितिहरू गठन सरिसकेको छ। साथै, अन्य बाकी दुइ प्रदेशहरु, जिल्लाहरु अनि स्थानीय तहमा पनि समितिहरू निर्माण कार्य भइरहेको छ।

विवेकशील नेपालीले विदेशमा रहेका ४० लाख नेपालीहरूलाई नेपालको राजनीतिसँग जोड्न साङ्गठनिक अनि नीतिगत पहलहरू गर्दै आएको छ। विवेकशील नेपालीले करिब ४ वर्षदेखि ‘नोट चल्ने, भोट नचल्ने ?’ अभियान मार्फत विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउनुपर्छ भनेर अभियान सञ्चालन समेत गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ