arrow

अरनिकोको शालिक निर्माण गरिने

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
araniko.jpg

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले राष्ट्रिय विभूति अरनिकाको शालिक निर्माण गर्ने भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज प्रतिमाको शिलान्यास गरे।

अरनिकोको स्मृति दिवशको सन्दर्भमा नाफाले परिसरभित्र प्रतिमा निर्माण गर्न लागेको हो । रु ५० लाखको लागतमा १७ फिट अग्लो प्रतिमा निर्माण गरिनेछ । शताब्दी पुरुष जोशीले तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गरेका अरनिकोको जीवनीबारे गहिरो खोज एवं अनुसन्धान गर्नुपर्नेमा जोड दिए। उनले अरनिकोको सिर्जनशील प्रतिभाको सही सदुपयोग तथा अवसर प्राप्त भएका कारण उक्त प्रतिभा अहिले विश्वकै महत्पूर्ण सम्पदाका रुपमा स्थापित भएको बताए ।

विसं २०१६ मा पहिलोपटक चीन पुग्दा अरनिकोले निर्माण गरेको श्वैत चैत्य देखेपछि उनकोबारे थप अध्ययन गरेका थिए । जोशीले ‘नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेत चैत्य’ नेवारी भाषामा कृति प्रकाशन गरेका थिए। सो पुस्तकलाई अङ्ग्रेजीमा अनुवाद गरी प्रकाशित गरिएको थियो । ‘कलाकार अरनिको’ कृतिसमेत प्रकाशन गरिएको छ ।

नाफाका कुलपति कान्छाकुमार कर्माचार्यले नेपाली वास्तुकलाको क्षेत्रलाई तत्कालीन समयमा अरनिकोले विदेश पुर्‍याएर नेपालीको गौरब बढाएको बताए। “उहाँको सीपलाई अहिलेको पुस्ताले अवलम्बन गर्नुपर्छ”, उनले भने। उपकुलपति गोपाल चित्रकारले करीब ७०० वर्षअघि अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको प्रवद्र्धन गरेकाले उहाँको स्मरणमा शालिक बनाउन लागिएको जानकारी गराए ।

सन् १३०६ मार्च ११ तारिखमा ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको इतिहासमा उल्लेख छ । नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको प्रतीक बनेको श्वेत चैत्यलाई चीन सरकारले राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्तिका रूपमा घोषणा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ