arrow

सिके राउतसंगको संझौताबारे सरकारले जनतालाई स्पष्ट पार्न सकेन – महामन्त्री कोइराला 

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
sashanka-koirala.jpg

प्यूठान। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले सिके राउतसंग गरेको संझौताका बारेमा स्पष्ट पार्न नसकेको बताएका छन् । 

नेपाल प्रेस युनियन प्यूठानले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले राउतसंगको संझौताका विषयमा उठेका प्रश्नको निवारण सरकारले गर्न नसकेको बताए । 

उनले भने– ‘सिंके राउतसंगको संझौताको विषय राष्ट्रिय अखण्डतासंग जोडिएको विषय हो । संझौता लगत्तै सिके राउतका सर्मथकले स्वतन्त्र मधेश र जनमत संग्रहको  नारा लगाएका छन् । सरकारले पनि संझौताका बारेमा स्पष्टीकरण दिएको छ । तर सरकारले आम जनतालाई चित्त बुझ्ने स्पष्टिकरण दिन सकेको छैन ।’ 

महामन्त्री कोइरालाले बर्तमान सरकार अकर्मण्य बनेको बताए । दुई तिहाई बहुमतको सरकारले अकर्मण्यतामा अल्झनु दुर्भाग्यपूर्ण रहेको महामन्त्री कोइरालाको भनाई थियो । उनले मुलुकमा समृद्धि र विकासको गति तिव्र रुपमा अगाडि बढाउनुपर्ने बेलामा सरकार केहि गर्नै नसक्ने गरि अलमलिएको बताए ।
 
महामन्त्री कोइरालाले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँदै वर्तमान नेतृत्वले आम कार्यकर्तालाई न्याय गर्न नसकेको बताए । कोइरालाले नेतृत्वका लागि कुन थर कुन जात भन्दा पनि पार्टी भित्र वीपी कोइरालाको विचार कसले बोक्छ भनेर कार्यकर्ताले हेर्नुपर्ने बताए । 

उनले भने– ‘कोइराला परिवारका हामी एकै साथ छौं । तर पार्टीको नेतृत्वको लागि वीपीको रगत भन्दा पनि वीपीको विचार महत्वपूर्ण हो । कांग्रेसमा वीपीको विचार अगाडि बढाउन सक्ने सवै कांग्रेस नेता कार्यकर्ताले कांग्रेसलाई नेतृत्व दिन सक्छन् ।’ 

पत्रकार सम्मेलनमा पत्रकारहरुले १४ औं महाधिवेशनमा उम्मेदवारीका बारेमा सोधेको प्रश्नमा कोइरालाले समय बाँकी रहेको कारण आम नेता कार्यकर्ताहरुसंग छलफल गरेर उम्मेदवारी तय गर्ने बताउँदै सभापतिको उम्मेदवार बन्ने संकेत गरे । 

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यद्धय दीपक गिरी र गुरुराज घिमिरेको पनि सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ