arrow

चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्नुपर्ने माग

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
केन्द्रीय_पशुपन्छी_पालन_सहकारी_संघ_लिमिटेड_नेपाल.JPG

काठमाडौं । केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले चीनबाट गाई आयत गर्ने सम्झौता तत्काल खारेज गराउनको लागि संघीय सरकारको ध्यानाकार्षण गराएको छ ।

संघका केन्द्रिय अध्यक्ष बाबुराम अधिकारीले प्रदेश सरकारले चीनका कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयनमा आएमा नेपालका दुई हजाभन्दा बढि सहकारीमा आबद्ध ५ लाख किसान विस्थापित हुने चिन्ता व्यक्त गरे । उनले भने,‘प्रदेश सरकारले चीनका विभिन्न कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयन भयो भने नेपालका किसानहरु पनि ठूलो मारमा पर्छन् । यहाँ बेरोजगारी सिर्जना हुने अवस्था आउँछ । यसतर्फ राज्यले विशेष ध्यान दिन जरुरी छ ।’

दुग्ध तथा मासुजन्य उत्पादनमा देश आत्मनिर्भर हुँदै गैरहेको अवस्थामा कृषिको सबै क्षेत्रमा वैदेशिक लगानी भित्रँदा स्वदेशी लगानीमा स्थापित कृषिजन्य उत्पादन विस्थापन हुनजाने खतरा पनि अध्यक्ष अधकिारीले औंल्याए । उनले भने,‘सहकारीमा आवद्ध ५ लाख र त्यो भन्दा बाहिर रहेका ६ लाख गरि ११ लाख किसानहरु विस्थापित हुने अवस्था छ । उनीहरु अब विदेश पलायन हुने खतरा आईसकेको छ । त्यसैले राज्यले यसमा अहिले नै विशेष ध्यान पुर्याउनुपर्छ । म यही मञ्चबाट अपिल गर्न चाहन्छु।’

अधिकारीले अहिलेपनि पूर्वाधारको विकास नहुँदा किसानले उत्पादन गरेका कृषिजन्य सामानहरुले सहज बजार नपाएको पनि दुःखेसो पोखे । उनले थपे,‘अहिले पनि बाटोघाटोको राम्रो सुविधान नहुँदा किसानको वार्षिक ७ लाख मेट्रिक टन दुध खेर गैरहेको छ । स्थानीय तथा प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ।’नेपालका उन्नत नश्लका बाछीहरु स्वदेशमै संरक्षण तथा व्यवस्थापन हुन नसकी अहिले भारततर्फ पलायन भैरहेको पनि अधिकारीले सुनाए । उनले भने,‘यसतर्फ पनि राज्यले ध्यान दिनुपर्छ ।’

संघका महासचिव चन्द्रमान लामाले विज्ञप्ती वाचन गरेका थिए । जारी विज्ञप्तीमा भनिएको छ,‘हालै मन्त्रीपरिषद्बाट पारित भई संसदमा निर्णयार्थ पेश भएको कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विधयक र नेपाल सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडाको तहबाट मन्त्रीस्तरीय निर्णय गरी प्रदेश २, ३ र गण्डकी प्रदेशलाई चिनबाट गाई आयात गर्न सहमति दिइएको र सोही आधारमा प्रदेश नं. २, ३ र गण्डकी सरकारले चिनबाट गाई ल्याउन गरेको सम्झौता प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

नेपालमा पशुजन्य उत्पादनको आपुर्ति हालसम्म पनि निर्वाहमुखी किसानहरुबाटै हुँदै आएको संघले जनाएको छ। संघका अनुसार नेपालमा पछिल्लो तथ्याङ्ग अनुसार दुधालु गाईको संख्या १२ लाख रहेको र करिब ४ लाख गाई उन्नत नश्ल सुधार गरीएको छ ।

त्यसैगरी दुधालु भैंसीको संख्या १० लाख रहेको संघले जनाएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यीनै गाईभैसींबाट वार्षिक २० लाख मेट्रीकटन दूध उत्पादन हुने गरेको र सोमध्ये ५ लाख मेट्रीकटन औपचारीक बजारमा आउने गरेको छ । ८ लाख मेट्रीकटन दूध खुला बजारमा किसानले उपभोक्ताहरुको घरघरमै गएर बिक्रि गर्ने गरेको र ७ लाख मेट्रीकटन दूध अहिले पनि बजारको पहुँचभन्दा बाहिर रहेको छ । यसो हुनुमा भौतिक पूर्वाधार अभाव प्रमुख कारण हो । ग्रामिण तहमा पूर्वाधारको विकास गर्ने हो भने बजार पहुँचभन्दा बाहिरको ७ लाख मेट्रीकटन दूधलाई बजारसँग जोड्न सकिन्छ र यसको परिणामस्वरुप ग्रामीण अर्थतन्त्रको विकास निश्चित छ ।’

चिनीयाँ गाई आयातसम्बन्धी सम्झौता तत्काल खारेज गरी कृषि तथा पशुपालन क्षेत्रमा विदेशी लगानी रोक्न कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विद्येयक तत्काल फिर्ता लिन यस संघ सरकारसँग जोडदार माग गर्दछ । संघका सचिव पृथ्वीनारायण श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ