arrow

प्रतिवन्ध लगाउँदैमा विचार नमर्ने भन्दै विप्लव समूह भूमिगत, बिहीबार नेपाल बन्द गरेर सरकारलाई चुनौती

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
biplab-maobadi.jpeg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपामाथि प्रतिबन्ध लगाएपछि एकाएक हलचल मच्चिएको छ ।

पछिल्लो समय सरकारले स्वतन्त्र मधेशका अभियन्ता सिके राउतलाई मुलधारको राजनीतिमा ल्याएको भन्दै आलोचना खेपिरहेकै बेलामा विप्लव समूहमाथि वार्ता गरी समाधान खोज्नुको सट्टा प्रतिवन्ध नै लगाएपछि थप आलोचित भएको छ । 

सरकारको तर्क छ –सर्वसाधकारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेर राजनीति गरिँदैन । यही आधारलाई टेकेर मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले वार्तामा समेत बोलाउँदा नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी गराएका थिए ।

ओलीले उक्त बैठकमा विप्लव समूहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था सृजना भएकाले सरकार चुप लागेर बस्न नहुने बताएका थिए । 

मंगलबार दिउँसोमात्र उनले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका थिए । 

गृहमन्त्री रामबहादुर थापा बादलको ठाडो प्रस्तावमा मन्त्रिपरिषदमा गएको उक्त प्रस्तावमा लाहा छाप लगाइएपछि अब विप्लवले खुलेआम कुनै पनि गतिविधि गर्न पाउने छैनन् । 

नेताहरु भूमिगत
सरकारले प्रतिवन्ध लगाएपछि विप्लव समूहका नेताहरु एकाएक भूमिगत भएका छन् । हुनत विप्लव समूह लामो समयदेखि अर्धभूमिगत अवस्थामा छ ।

विप्लव लामो समयदेखि बाहिर निस्केकै छैनन् । नेताहरु सुरक्षित तरिकाले छरिएर रहेको बुझिएको छ । 

एक विप्लव नेकपाका नेताले हाम्राकुरासंग भने, ‘हामीहरु भूमिगत नै हुनुपरेको त छैन तर सचेत भने छौं ।’

उनले बिहीबार सरकारको कदमको बिरोधमा नेपाल बन्द आब्हान गरेको र यसलाई सफल पारेर नयाँ रणनीति बनाएर अगाडि बढ्ने बताए । 

प्रतिवन्ध लगाउँदैमा विचार मर्दैन 
आफूहरु निकै दुःखकष्ट सहेर अगाडि बढिरहेकाले यस्ता प्रतिवन्धले कुनै फरक नपर्ने उनले बताएका छन् । उनले भने, ‘जनयुद्ध सफल भएको नारा पिटिए पनि पीडितहरु अझै पनि उस्तै छन् अवसरवादीहरुले महल खडा गरे ।’

दुखेसो गर्दै उनले भने, ‘हामी जहिले पनि पीडित भयौं । गरिब र समाजबाट उपेक्षितका मुद्दा बोकेर हिँड्यौं अवसरवादीहरुले खाइदिए । अहिले पनि हामी जनयुद्धका एजेन्डा लिएर हिँडेका छौं तर हाम्रै साथीहरु सत्तामा बसेर हामीमाथि राजनीति गरिरहेका छन् ।’

विप्लव सशस्त्र द्धन्द्धका समयमा पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् । तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीभित्र बढेको विवादको कारण मोहन वैद्यसहितका नेताहरु माओवादीसँग अगल भएर नयाँ पार्टी गठन गरेका थिए । 

पछि वैद्यसंग पनि सम्बन्ध नमिलेपछि विप्लवले छुट्टै संगठन चलाइरहेका छन् । प्रचण्डले सशस्त्र द्धन्द्धको नक्कल गरेर प्रचण्ड बन्न नसकिने बताउँदै आएका छन् । 

गतिविधि भने हिंसात्मक 
विप्लव नेकपाका गतिविधि भने हिंसात्मक हुँदै आएका छन् । ललितपुरको एनसेलको कार्यालयमा बम विष्फोट गराइँदा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका छन् । 

हिंसात्मक गतिविधिबारे ती नेताले भने, ‘पहिले मान्छे मारिँदा हिँसा भएको थिएन ?’ त्यो घटनामा सर्वसाधारण मार्ने कुनै उद्धेश्य थिएन । त्यो घटनाप्रति हामी दुःखी छौं । एनसेलले राज्यलाई ठगेकाले हामीले कार्वाही गरेका हौं ।’

उनले आफूहरु सही भएको भन्दै स्पष्ट पारे, ‘हामीले त सरकारले गर्न नसकेको काम गरिरहेका छौं, भ्रष्टाचारीलाई कार्वाही गरेर सरकारलाई नै सघाइरहेका छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ