arrow

को को मन्त्री चिप्लिँदै छन् ? 

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
pm-office.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको १३ महिना भइसके पनि उल्लेख्य प्रगति नगरेको गुनासो ब्याप्त छ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै मन्त्रीहरुको कार्यशैलीप्रति व्यापक असन्तुष्टि छ । 

दुई तिहाईको समर्थन पाएर अहिलेसम्मकै बलियो सरकार बनेको भए पनि काम कार्वाही भद्रगोल भएका कारणले पनि मन्त्रीहरु फेर्ने चर्चा चल्दै आएको छ । 

पछिल्लो समय नेकपाका दुई मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मन्त्रीहरु फेर्ने सम्बन्धमा चर्चा उठाउँदै आएका छन् । सार्वजनिक रुपले नै मन्त्रीहरु फेर्ने बताउँदै आएका प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसंग निरन्तर यसबारे छलफल गरिरहेको निकट स्रोतले बताएको छ । 

काम फिटिक्कै नगर्ने मन्त्रीहरुलाई विश्राम दिने विषयमा नेकपाभित्रै बढी चर्चा छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसदेखि नागरिकस्तरबाट समेत मन्त्रीहरुको काम कार्वाही गतिलो नभएको भन्दै असन्तुष्टि छ । 

ओलीले भने दुई तिहाइको समर्थन देख्न नचाहनेहरुले आरोप लगाइरहेको भन्दै आएका छन् । पाँच वर्षको सरकार भएकाले भर्खर एक वर्ष हुँदा काम नदेखिएको पनि ओलीको तर्क रहँदै आएको छ । 

उनले आफू निकटका संचारकर्मीलाई पाँच वर्षे सरकारले सुरुका चार वर्ष मिलाएर खाने र पार्टी संगठित गर्ने अनि अन्तिम एक वर्ष भने पूरै विकासका काम गरेर अर्को पाँच वर्षका लागि जनता रिझाउने बताउँदै आएका छन् । 

मन्त्री हटाउने मापदण्ड
मन्त्रीहरुको काम सन्तोषजनक नभएपछि त्यस्ता मन्त्रीहरु फालिने भएका छन् । कार्यसम्पादनमा समस्या भएपछि ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका हुन् ।

प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाइनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि ओलीले उनीहरुको विकल्प खोज्न प्रचण्डसँग समेत छलफल अघि बढाएका हुन् । 

एक वर्षमा गरिसक्नु पर्ने काममा उनीहरु असफल देखिएको स्रोतको दावी छ । साउनपछिको कार्यसम्पादन मूल्यांकनका लागि प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखामार्फत गरिएको अनलाइन अनुगमनमा अधिकांश मन्त्री असफल भएका थिए । 

अब को फालिएलान् मन्त्रीहरु ? 

 साउनदेखि माघसम्मको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैभन्दा कमजोर देखिएका छन् ।

भूमिसुधार मन्त्री पद्मा अर्याल र कृषिमन्त्री चक्रपाणि खनाल ‘कामै नगर्ने’ को सूचीमा परेका छन्। त्यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रगति विवरण पनि कमजोर छ ।

त्यस्तै खानेपानीमन्त्री बिना मगर, उद्योगमन्त्री मात्रिका यादव र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि योजनाअनुसार काम गर्न नसकेको अनुगमनले देखाएको छ । 

गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुन औसत देखिएका छन्। सञ्चारमन्त्री गोकुल बाँस्कोटा र खेलकुदमन्त्री जगत विश्वकर्माले धेरैजसो योजना सुरु गरेको भए पनि पूरा गरेका छैनन् ।

अनलाइन अनुगमन सुरु भएपछि कार्यसम्पादन मूल्यांकनमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण बिष्ट, कानुनमन्त्री भानुभक्त ढकाल र सामान्य प्रशासन मन्त्री लालबाबु पंडित औषत देखिएका छन् । 

मन्त्री हेरफेरकै क्रममा फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्थान पनि भर्ने योजना रहेको बताइएको छ । 

सबैभन्दा कमजोर मन्त्री महासेठ र ईश्वर पोखरेल आफ्नै मान्छे भएकाले ओलीलाई हटाउन समस्या हुने देखिएको छ । मन्त्रीहरु नै हेरफेर गर्न खोज्दा पार्टीको पूर्ण एकता पनि टाढिने हो कि भन्नेमा ओली सचेत रहेको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ