arrow

राष्ट्रपति भण्डारी अमेरिकामा उच्चस्तरीय भेटवार्तामा व्यस्त

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
vidya2.jpg

काठमाडौँ । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त भइन् । 

त्यस क्रममा उनले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गरिन् । त्यस अवसरमा उनीहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति स्थापना, नेपालमा भूकम्पपछिको पुनःनिर्माणका साथै विविध विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ । 

महासचिव गुटरेसले करीब ४१ वर्षअघि गरेको नेपालको भ्रमणको स्मरण गर्दै राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा नेपालले गरेको योगदानको सराहना गरे । साथै उनले उक्त विश्वसंस्थामा नेपालले सक्रिय भूमिका निर्वाह गरेकामा प्रशंसा गरे ।

राष्ट्रपति भण्डारीसँग अपराह्न संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाकी अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले शिष्टाचार भेट गरिन् । ‘शक्तिमा नारी’ विषयको छलफल कार्यक्रमका साथै अन्य धेरै महत्वपूर्ण विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा राष्ट्रपतिले उनको प्रशंसा गरिन् । अध्यक्ष ग्रेसेसले छलफलमा सहभागी भएर आफ्ना गहन अन्तर्दृष्टि र अनुभव सुनाएकामा राष्ट्रपति भण्डारीप्रति हार्दिक आभार प्रकट गरिन् ।

राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ता गरिन् ।

आफ्ना इस्टोनियाली समकक्षीसँगको भेटमा दुई देशका राष्ट्रपतिबीच जलवायु परिवर्तन, दिगो विकासका लक्ष्य, बहुपक्षीयताजस्ता समसामयिक विश्वका महत्वपूर्ण विषयमा विचार आदान प्रदान भएको उक्त नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

क्रोएशियाका राष्ट्रपतिसँगको भेटमा पारस्परिक हित र चासोको विविध विषयमा विचारविमर्श गर्नुका साथै राजनीतिक नेतृत्वमा नारीको भूमिकाबारे छलफल भएको थियो । नेपाल र क्रोएशियाबीच विद्यमान सुमधुर सम्बन्धप्रति दुवै राष्ट्रपतिले सन्तुष्टि व्यक्त गर्दै त्यसलाई थप घनीभूत तुल्याउनेबारेमा पनि विचार आदानप्रदान गरेका थिए ।

उनीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपतिले फागुन २९ गते राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्नेछिन् । राष्ट्रपतिको सम्मानमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त रूपमा स्वागत समारोह आयोजना गर्नेछन् । 

राष्ट्रपतिसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गरे । । त्यस अवसरमा उनीहरूबीच जलवायु परिवर्तन, न्याय, नारी सशक्तीकरण र नारी नेतृत्वबारे छलफल भएको थियो । 

राष्ट्रपति भण्डारी बिहीबार न्यूयोर्कबाट काठमाडौँका लागि प्रस्थान गरी चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ