arrow

'रेशम चौधरी निर्दोष'

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
resham-chaudhari.jpg

काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोखेका छन् । उनले भने,‘राजपा शान्तिपूर्ण आन्दोलनको लाईन छोड्दैन् । हाम्रा मागहरु पूरा भएका छैनन् ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै झाले यस्तो बताएका हुन् । उनले भने,‘अब कडा आन्दोलन कहिले गर्ने भन्ने सवाल जो छ, यो कुरा समयमा प्रकट हुने नै छ । अहिले रेशम चौधरीको कुरा पनि त्यही मधेश र थरुहट आन्दोलनसँग जोडिएको टिकापुर घट्नामा आधारित भएर भएको हो । त्यसरी टिकापुर घट्नामा आधारित भएर भएको रेशम चौधरीलाई आजिवन कारावास सजाय, रेशम चौधरी कुनै अपराधिक गतिविधिमा संलग्न व्यक्ति थिएनन् ।’

उनले टिकापुर घट्नामा चौधरी संलग्न पनि नभएको जिकिर गरे । झाले थपे,‘जुन दिन त्यो घट्ना भयो । त्यो दिन रेशम चौधरी टिकापुरमा छैनन् । अर्को दिन, थारुहरुको जुन प्रकारको स्मिता, सम्पत्ति, ईज्जत सबै लुटियो । त्यो घट्नाको बास्तविकताबारे गरिशिचन्द्र लाल आयोगको प्रतिवेदनले समेटेको छजस्तो मलाई लाग्दछ । त्यसैकारण हामी अहिले भनिरहेका छौं, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर ।’

उक्त आयोगको प्रतिवेदन सार्वजनिक भयो भने रेशम चौधरीलगायत सबै निर्दोष सावित हुने उनको विश्वास छ । उनले भने,‘त्यो आयोगको प्रतिवेदन सार्वजनिक भयो भने कमसेकम जिल्ला अदालतले जे फैसला गर्यो –गर्यो । मलाई लाग्छ, उच्च अदालतले त्यो प्रतिवेदनलाइ पनि पक्कै पनि हेर्नेछ । र, मुद्दाको सबै अंग, सबै घट्नाक्रम हेरिसकेपछि रेशम चौधरी भोलिको दिनमा निर्दोष सावित हुनेछन् ।’

आफ्नो पार्टीले पनि गिरिशचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन (जुन मधेश र थरुहटसँग सम्बन्धित थियो) त्यो सार्वजनिक गर्न माग गरिरहेको झाले जनाए । उनले थपे,‘हामी कुनै पूर्व सहमति नभएमा संसदमा फेरि पनि त्यसको विषयमा कडा आवाज उठाउने नै छौं । जहाँसम्म रेशम चौधरीलाई भैसकेको सजाय छ, कुनैपनि तहको अदालतले हामी विधिको शासन मान्नेहरुको बारेमा गर्ने फैसला र निर्णयलाई हामी स्विकार गर्दछौं ।’

झाले अघि थपे,‘तर, त्यो निर्णयबाट राजपा र रेशम चौधरीलगायतका जतिपनि अहिले फैसलाबाट जो–जो मर्माहत भएका छन् । ती सबै पीडितहरुको तर्फबाट उच्च अदालतमा चाँडै नै फेरि पनि सुनुवाईको लागि आग्रह गरिनेछ । मुद्दालाई त्यसभन्दा माथिको कोर्टमा लगिनेछ । र, हामीलाई विश्वास छ, पक्कै पनि यी अहिले दोषी कहलिएका रेशमजी लगायतका साथीहरु निर्दोष सावित हुनुहुन्छ ।’  

सरकारले विप्लवमाथि हिजोबाट लगाएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले भने,‘यो कुरा त के हो भने जब कुनैपनि चिजलाई बढ्ता थिचिन्छ, त्यो झन माथितिर आउने स्थिति हुन्छ । यसलाई ‘ट्याक्टफुल्ली–ह्याण्डलिङ’ गर्न सक्नुपर्दथ्यो । २०५२ सालमा जब माओवादीहरु गएर तत्कालिन् प्रधानमन्त्रीलाई एउटा ज्ञापनपत्र बुझायो, त्यसलाई कुनैपनि वास्ता गरिएन । हुँदै जाँदा यत्रो ठूलो जनयुद्ध भयो । देश नै अहिलेसम्म फसिरहेको अवस्था छ ।’उनले विगतको घट्नाबाट पाठ सिकेर सरकारले विप्लवमाथि कारबाही वा प्रतिबन्ध लगाउनु भन्दापनि वार्ता तथा सम्वादद्धारा समस्याको अवतरण गराउने प्रयास गरिएको भए राम्रो हुन्थ्यो भन्ने धारणा राखे । उनले भने,‘वार्ता तथा सम्वादमार्फत सेफल्याण्डिङ गरेको भए भए नै उचित हुन्थ्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ