arrow

विष्णु कुँवर अर्थात् ट्याक्सी नं ४३४१

logo
जमुनावर्षा शर्मा,
प्रकाशित २०७५ फागुन ३० बिहिबार
taxi.png.png

चिप्लेढुङ्गा । ‘ट्याक्सी गुड्यो सरर पोखराको बजारमा
लौ न म त छक्क परेँ तिम्रो नजरमा’ (तिलकबम मल्ल)

चालक भन्न्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ । फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पनि यस पेशामा आइसकेको कमैलाई थाहा छ ।

गण्डकी प्रदेशमा झण्डै ६ हजार ट्याक्सी दर्ता छन् । यस भीडमा पोखरा महानगरपालिका वडा नं ५ की विष्णु कुँवरको परिचय ट्याक्सी नं ४३४१ बनेको छ । सानैदेखि फरक क्षेत्रबाट अघि बढ्न रुचि राख्ने कुँवर एथलेक्टिस र तेक्वान्दोको खेलाडीसमेत हुनुहुन्छ । मेहनत र कर्ममा विश्वास गर्ने कुँवरले प्रवेशिकासम्मको अध्ययन गर्नुभएको छ । सिन्धुलीका लोकबहादुर न्यौपानेसँग प्रेमविवाह गर्नुभएकी कुँवरले शुरुका दिनमा पोखरा सभागृह सडकपेटीमा तरकारीको व्यापार गर्नुभयोे । दिनहुँ सयौँ ट्याक्सी ओहोरदोहोर गर्दा सबै पुरुष चालक मात्रै देख्नुहुन्थ्यो । प्राइभेट कार हाँक्ने महिला भने प्रशस्त देखिन्थे । उहाँलाई लाग्यो महिला पनि ट्याक्सी चालक बन्न सक्दैनन् र ? उहाँलाई आफैँभित्रको प्रश्नले आफैँलाइ जगायो र ट्याक्सी सिक्न प्रेरित गर्‍यो । उहाँले विसं २०६७ वैशाखमा ट्याक्सी चलाउन सिक्नुभयो र लगत्तै अनुमतिपत्र पनि लिनु भयो । श्रीमान्लाई आफूले ट्याक्सी चलाउन चाहेको बताउनुभयो तर उहाँले स्वीकृति दिनुभएन । पछि माइतमा बुबाले “हुन्छ नि, तिमीले चलाउन सक्छौ” भनेर आँट दिनुभयो । कुँवरको आत्मविश्वास बढ्यो र विस्तारै श्रीमान्को साथ पनि थपियो ।

उहाँले मासिक रु २८ हजार किस्ता बुझाउने गरी बैंकबाट रु १३ लाखमा नयाँ मारुती अल्टो गाडी निकाल्नुभयो । विसं २०६७ जेठ १६ गतेदेखि कुँवरको परिचय महिला ट्याक्सी चालक भनेर फेरियो । फरक क्षेत्रमा आठ वर्षदेखि अविचलित उहाँ देशका कुनाकन्दरा पुग्नुभएको छ । धेरै रातका बाटो छिचोल्नुभएको छ । बीच बाटामा टायर पङ्क्चर हुँदा टायर फेर्नुपरेको छ । सानोतिनो पार्टपुर्जाको काम आफै मिस्त्री बनेर बनाउनुभएको छ । आफ्नो कामप्रति उहाँलाई उत्तिकै आत्मसम्मान छ । उहाँ निकै सन्तुष्ट हुनुहुन्छ । हताश, निराश र अल्छी नमान्ने होे भने मासिक रु ६० हजारको कमाइ हुने कुँवर बताउनुहुन्छ । उहाँका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन् । श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउनुहुन्छ । दुवैको आम्दानी सन्तोषजनक छ । रिजर्भमा उहाँको खोजी बढी हुने गर्छ । एकचोटि ट्याक्सी चढेको मानिसले उहाँलाई नै खोज्ने गर्छन् । यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उहाँको अनुभव छ ।

पेशाप्रतिको इमान्दारी पनि कुँवरमा उत्तिकै छ । एकचोटि पोखरादेखि काठमाडौँ जाने क्रममा एक यात्रुले ट्याक्सीमै झोला छाडे । पछि फर्कने बेला कलङ्कीमा त्यो झोला देख्नुभयो । चेक र नगद गरेर झण्डै रु १७ लाख रहेछ । पछि प्रहरीमार्फत सम्बन्धित यात्रुलाई बुझाउनुभयो । यस्तो भइरहन्छ । कुँवरले आफ्नो इमान्दारी प्रदर्शन गर्दै आउनुभएको छ । आज पनि ती यात्रु जापानबाट आएपछि कुँवरकै ट्याक्सीमा यात्रा गर्न मन पराउँछन् ।
कुँवर भन्नुहुन्छ “सबै कुराबाट खुशी छु तर एउटै कुरामा सन्तुष्ट हुन सकेको छैन । मैले थुप्रै सम्मान पाएको छु, आम्दानी पनि राम्रो छ । त्यस्तो कुनै असहज अवस्थाको सामाना गर्नु परेको पनि छैन । आठ वर्षदेखि म यो क्षेत्रमा एक्लै छु । अर्को ट्याक्सी चालक महिला आउनुभएको छैन ।” यस क्षेत्रमा आत्मविश्वास र धैर्यसँगै घर परिवार र समाजबाट सकरात्मक साथको जरुरी हुने उहाँ बताउनुहुन्छ ।

“सरकारले थुप्रै पैसा महिला सशक्तीकरणको नाममा खर्च गरेको छ । सिलाइकटाइ, गुडिया र अचार बनाउन भन्दै रकम खर्चिएको पाइन्छ बरु केही महिलालाई निःशुल्क ट्याक्सी चलाउन तालीम र सस्तो व्याजमा ऋण उपलब्ध गराउने हो भने यो क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्न सक्थ्यो”, उहाँले भन्नुभयो । सरकारले विशेष पहल थाल्ने हो भने यस क्षेत्रबाट महिलाको जीवनस्तरमा परिवर्तन आउने उहाँको विश्वास छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ