बाँचुन्जेल बिर्सिएका ढुण्डीराजलाई मरेपछि नेताहरुको सरप्रराइज

श्रद्धाञ्जली दिन देउवादेखि कोइरालासम्म, को हुन् डुण्डीराज ? 

प्रकाशित मिति : २०७५ चैत १ शुक्रबार

काठमाडौं । बुधवार पूर्वी नेपालको एउटा गाउँ बहादुरगन्जमा काँग्रेसका शीर्षस्थ नेताहरु आकस्मिक रुपमा देखा परे । बहादुरगन्ज झापाको सुदूरपूर्वी बाहुनडाँगीमा पर्छ । अहिले यो मेचीनगरको वडा नम्वर दुई हो ।

बुधवार काँग्रेस सभापति शेरवहादुर देउवा, उपसभापति बिमलेन्द्र निधी, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रिय सदस्यहरु डा शेखर कोइराला, डा चन्द्र भण्डारी लगायतका नेताहरु काँग्रेसका स्थानीय नेता ढुण्डीराज घिमिरेलाई श्रद्धाञ्जली दिन बाहुनडाँगी पुगेका थिए । 

काँग्रेस महामन्त्री डा शशांक कोइरालालाई श्रद्धाञ्जलीका लागि बाहुनडाँगी पुर्याउन कोशिश गरेका काँग्रेसका जिल्ला सदस्य निरज घिमिरे भन्छन् –महामन्त्रीलाई श्रद्धाञ्जली सभामा ल्याउने कार्यक्रम बनाएका थियौं, पूर्व प्रधानमन्त्री देउवा सहितका केन्द्रिय नेताहरु नै पुगेपछि खुशी भएका छौं । अचम्मलागेको छ, सोच्दै नसोचेको पार्टी सभापति पनि आइपुग्नु भो ।

भद्रपुरका पुराना काँग्रेस नेता जीतबहादुर पुरीको परिवारलाई समवेदना दिन झापा आएका काँग्रस महामन्त्री कोइरालालाई बाहुनडाँगी लगिने कार्यक्रमअनुसार नै कोइराला पुगेका रहेछन् । तर देउवा चाँही आकस्मिक रुपले नै पुगेका रहेछन् ।

पार्टी सभापति देउवा पार्टीका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्वूकी छोरीको बिहेको निम्तो मान्न विराटनगर पुगेका रहेछन् । त्यसपछि उद्योगपति छत्र गिरीको श्रीमतीको निधनमा शोक जनाउन बिर्तामोड पुगेर आकस्मिक रुपमा बाहुनडाँगी पुगेका रहेछन् । छत्र गिरीसँग देउवाको अत्यन्तै निकट सम्वन्ध रहेको छ ।
को हुन् ढुण्डीराज घिमिरे ?
२०१३ सालमा ईलामको सलकपुरमा जन्मिएका ढुण्डीराज घिमिरे विद्यार्थीकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा आवद्ध थिए । पारिवारिक रुपमा राजनीतिको चेत पसिसकेका घिमिरेमा बनारसको हरिश्चन्द्र कलेज पढन गएपछि प्रजातान्त्रिक आन्दोलनप्रति अझै रुचि बढेर गएको थियो । 

बनारसमा बीपीकोइरालाका प्रवचन, काँग्रेसका युवा नेताहरुसँगको सम्पर्क र संगतले उनीभित्र प्रजातन्त्रको मूल्य र महत्वमाथि अझ आस्था बढेर गएको थियो । घिमिरे २०३६ सालको जनमत संग्रहमा बहुदलमा खुलेरै लागेका थिए । 

बहुदलमा सफलता हात नलागेपछि पञ्चायतकै लोकतान्त्रिक चुनावबाट उपस्थिति जनाउने पार्टीको नीतिअनुसार उनी २ को वडा अध्यक्ष पनि बने । घिमिरे पार्टी प्रतिबन्धित भएको समयमा पार्टीको जिल्ला सदस्य थिए । 

यही भूमिकामा २०४६ सालको जनआन्दोलनमा सक्रिय भाग लिए । झापाको बिर्तामोडमा पञ्चायतको विरोधमा कालो झण्डा देखाउने  र पुत्ला जलाउने अभियानमा उनी अग्रपंक्तिमा रहे ।

२०४८ सालसम्म क्रान्तिकारी भूमिकामा पार्टीमा समय दिएका घिमिरेले त्यसपछि भने उपयुक्त जिम्मेवारी पाउन सकेनन् । आफ्नो पार्टी सरकारमा भएर एकछत्र राज गर्दा पनि उनले हैसियत अनुसारको जिम्मेवारी पाएनन् । बिगतमा कुनै भूमिका नभएकाहरुले अवसर धमाधम पाउन थालेपछि घिमिरेमा राजनीतिप्रति निरासा आउन थालेको देखिन्छ । हेटौडा सिमेण्टको बोर्ड सदस्य हुनु बाहेक उनले कतै अवसर पाएनन् ।
त्यसपछि उनले आफ्नो भूमिका राजनीतिबाट कृषिक्रान्तितर्फ मोडेको उनका निकटस्थहरु बताउँछन् । हात्तीप्रभावित बाहुनडाँगीमा चिया खेती शुरुवात गर्ने श्रेय पनि घिमिरेलाई नै जान्छ । 

काँकडभिट्टामा तत्कालीन समयमा रहेको महेन्द्रद्धार सहकारीका अध्यक्ष रहेर घिमिरेले भर्खरै शुरु भएको सहकारी आन्दोलनको बिकास र बिस्तारमा रचनात्मक भूमिका खेलेका थिए ।

राज्यले कृषिलाई उपेक्षा गरेको भन्दै किसानहरुको पक्षमा उनी बिर्तामोडको  हनुमान चोकमा अनसन पनि बसे । कृषकको पक्षमाअनसन बस्ने सायद उनी पहिलो व्यक्ति होलान् ।

घिमिरे केहीबर्षदेखि क्षयरोग र चिनी रोगबाट पीडित थिए । झापा बाहुनडाँगी काँग्रेस पार्टीका लागि इतिहास भएको ठाउँ हो । २०१७ साल पछिको राजनितिक व्यवस्था स्वीकार्न नसक्दा सोही ठाउँका विश्वनाथ घिमिरेलाई पञ्चायतले मारेको थियो । 

सो ठाउँले शहीद तन्मायो तर संगठन विस्तारमा भूमिगत भएर खटेका कार्यकर्ताको योगदानलाई खासै सम्मान गरेन । विश्वनाथको सहादतपछि पनि काँग्रस बनेर अनेकांै हण्डर खाएका स्थानीय नेता रत्नकुमार कार्कीलाई पनि पार्टीले उचित तरीकाले सम्झन चाहेन । 

उनी यसै बिते । कार्यकर्ता संरक्षण गर्न नजान्न काँग्रसकोे प्रवृत्तिले घिमिरे परिवारले राजनीतिमा अपेक्षाकृत ठाउँ पाएन । नेपाली काँग्रेस झापाका सदस्य निरज घिमिरे शहीद बिश्वनाथकै नाति हुन् भने हालै दिवंगत ढुण्डीराज घिमिरे पनि एकै परिवारका सदस्य हुन् ।

ढुण्डिराज घिमिरेको निधनको खवर सुनेर श्रद्धाञ्जलीका लागि पार्टी सभापति सहितका नेताहरु उनको घर पुग्नु धेरै राम्रो कुरा हो । यसले नयाँ पुस्ताका कार्यकर्ताका लागि सकारात्मक सन्देश पनि दिन्छ । 

तर, ढुण्डीराजको हकमा भने मरेपछि खाँ बाबै क्राँक्रो जस्तो भएको छ । जिन्दगीभर ढुण्डीराजलाई नचिन्ने, चिने पनि नचिने जस्तो गर्ने, जिन्दगीभर ढुण्डीराजलाई अवसर नदिने, उनको हालखवर नसोध्ने, उनले उठाएका कुरालाई साथनदिने लगायत दृष्टान्त देखेका उनका परिवार, सुभेच्छुक र स्थानीय पार्टी कार्यकर्तालाई काँग्रेसको यो समवेदनाको राजनीतिले कतै छुँदैन ।

एकै दिन फरक फरक समय पारेर काँग्रेसका सभापति, महामन्त्री र केन्द्रिय नेताहरु बाहुनडाँगीस्थित ढुण्डीराजको घरमा पुगेर सरप्राइज दिए । तर, यो सरप्राइज उनी बाँचेकै समयमा एक पटक दिएको भए ढुण्डीराजको राजनीतिले टर्निङ पोइन्ट लिने थियो । 

काँग्रेसमा यस्ता ढुण्डिराज धेरै छन्, अब मरेका ढुण्डिराजका परिवारलाई होइन, बाँचेका स्वंय ढुण्डीराजलाई सम्मान दिनेतर्फ काँग्रेसका नेताहरुले ध्यान दिनुपर्छ । अनिमात्र प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुप्रति साँचो श्रद्धाञ्जली हुने छ ।
 

नयाँ