arrow

केन्द्रीय कार्यसमिति बैठक अगाडि देउवाले घरमै डाके वरिष्ठ नेताहरुलाई 

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै गर्दा त्यसअघि नै सहमतिको प्रयासका लागि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेताहरुलाई घरमै डाकेका छन् । 

अपरान्ह देउवा निवास बुढानीलकण्ठमा डाकिएको बैठकमा वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरु सहभागी हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

केन्द्रीय कार्यसमिति बैठकमा विशेष गरी विधान बनेपछि पार्टी नियमावली बनाउनु पर्ने विषयमा छलफल हुनेछ । 

त्यसैगरी देशभर अन्तरिम समिति गठन, अनुशासन समिति र निर्वाचन समिति बनाउनु पर्ने भएकाले त्यस विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।  

कांग्रेसभित्रका असन्तुष्ट पक्षीय नेताहरूले पार्टी अनुशासन समितिसहितका निकाय सहमतिबाटै गठन गर्नुपर्ने अडान दोहोर्याइरहेका बेलामा सभापति देउवाले सहमतिको प्रयास थालेका हुन् । 

बहुमतको आधारमा निर्णय गर्न खोज्ने हो भने कार्यसमिति बैठक नै बहिस्कार गर्ने भनी देउवा इतर पक्षले बताएपछि देउवा सहमतिका लागि प्रयासमा जुटेका हुन् । 

त्यसो त देउवाले आइतबार बैठक डाकेपछि शनिबार नै पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा असन्तुष्ट पक्षको बैठक बसेको थियो । सो बैठकले अनुशासन, निर्वाचन समिति सहमतिबाटै गठन गर्नु पर्ने पुरानो अडान दोहोर्याएको छ । 

देउवालाई पूर्वाभ्यास गर्न सजिलो हुने गरी सिंहको निवासमा बसेको भेलाले गरेको निर्णयले आइतबारको भेलाबाट निष्कर्ष निस्कने सम्भावना भने कमै छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष स्पष्ट रुपले नै सहमतिमा अनुशासन समितिदेखि निर्वाचन समितिसम्म गठन गर्नुपर्ने जोडमा छ । 

देउवा इतर पक्षले पार्टीको पुसमा सम्पन्न महासमिति भेलाले निष्कर्षमा पुर्याएको विधानको भावना नमेट्ने गरी केन्द्रीय कार्यसमिति बैठकबाट बनाउन दिएको म्यान्डेटलाई नलत्याई संशोधनसहित प्रस्तुत गर्न पनि माग गरिरहेको छ । 

देउवा पक्षले भने बहुमतको आडमै भए पनि आफू सुहाउँदो विधान तयार गर्न खोजिरहेको छ । 

यससम्बन्धमा प्रवक्ता शर्माले भने, ‘महासमितिबाट केन्द्रीय कार्यसमितिलाई जिम्मा दिइसकेपछि अहिले आएर विरोध गर्नुको कुनै अर्थ छैन । केन्द्रीय कार्यसमितिले विधान तयार गर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ