arrow

अदालतले निर्मलाकाण्डमा मुछिएका विष्ट र जिसीलाई ३५ दिने वारेन्ट जारी गरेको प्रहरी प्रवक्तालाई नै थाहा छैन 

पत्र पाएपछि अदालतको आदेश अनुसार खोजिने छ –प्रवक्ता सुवेदी

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
nirmala-pant.JPG

काठमाडौं । निर्मला हत्याकाण्डको प्रमाण नष्ट गरेको अभियोग लागेका कन्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र डीएसी अंगुर जोशी बिरुद्ध कन्चनपुर जिल्ला अदालतले ३५ दिने सूचना जारी गरेको छ । यही अभियोग खेपेका अरु ६ जना प्रहरी धरौटीमा रिहा हुँदा, विष्ट र जीसी कहाँ भागे भन्ने चासो बढेको छ । 

जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जनामध्ये  प्रहरी डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा ५ र यातनामा ४ लाख गरी ९ लाख धरौटी माग्यो । 

त्यस्तै, न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले गत बिहीबार प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग्यो । 

निर्मलाकी आमा दूर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलिपसिंहका दाइ खड्ग विष्टले उनीहरु बिरुद्ध उजुरी हालेका थिए । तर, विष्ट र डीएसपी जिसी फरार छन् । कहाँ भागे त यी दुई भाइ ? 

हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीसँग कुराकानी गरेका छौं । 
उनीहरु प्रहरीकै निगरानीमा थिए होइन ? 
प्रहरी प्रवक्ताः हो, अनुसन्धानको सिलसिलामा प्रहरीको निगरानीमा पनि थियो । 

अहिले निगरानीबाट बाहिर गएका हुन् ? 
प्रहरी प्रवक्ताः अम्, ह्वाँहरुलाई फरार देखाएर कोर्टमा मुद्दा पेश भा छ । 

उनीहरु प्रहरीको घेरा वा पहुँचमा छन् कि छैनन् त अहिले ? 
प्रहरी प्रवक्ताः घेरामा त बर्खास्थ भइसकेपछि हाम्रो घेरामा त राख्न मिल्दैन नि । 

घेरा भन्दा नि पहुँचमा चाहिँ छन् कि छैनन् ? 
प्रहरी प्रवक्ताः त्यही हो, प्रतिबादीहरु सबैलाई राख्ने प्रयास गरेको हुन्छ । अरु उपस्थित भए । ह्वाँहरुलाई उपस्थित गराउन सकिएन । कोर्टले उपस्थित गराउने आदेश दिएपछि उपस्थित गराइन्छ । 

पहुँचमा चाहिँ छन् कि छैनन्, त्यत्ति भन्दिनु न । 
प्रहरी प्रवक्ताः पहुँचमा त अँ अब.. केरे अदालतले आदेश नदिकन हाम्ले पक्राउ गर्न मिलेन । अहिले कोर्टमा केस गइसक्यो हैन ?

क्लियर कुरा गर्दिनु न । उनीहरु मुलुक बाहिर गइसके कि, मुलुकभित्रै छन् कि, प्रहरीको एक्सेस भित्र छन् कि छैनन् ? 
प्रहरी प्रवक्ताः तत्काल त्यहाँको (कन्चनपुर) अनुसन्धान अधिकृतले फेला पार्न सकेन । अनुसन्धानको सिलासिलामा फेला पारेन । अब कोर्ट आदेश आएपछि फेरी खोज्छ । फेला पारेको बखतमा अदालतमा उपस्थित गराइन्छ । 

उनीहरुलाई प्रहरी प्रधान कार्यालयले नै कार्वाही गरेको होइन ? 
प्रहरी प्रवक्ताः यहाँलाई कन्फ्यूज भएछ । प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउँदैन । मुद्दा चाहिँ सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चलाउँछ । जहाँसम्म प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउँछ नि, कोर्टमा मुद्दा विचाराधिन रहिसकेपछि, कसैलाई कार्वाही गर्ने नगर्ने कोर्टको फाइनल भर्डिक्ट नआइकन प्रहरी प्रधान कार्यालयले केही गर्न सक्दैन । यो प्रशासनिक कार्वाहीको कुरा भयो ।   

मैले भन्न खोजेको, बर्खास्थ गरेको प्रहरी प्रधान कार्यालयले होइन ? 
प्रहरी प्रवक्ताः प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले बर्खास्थ ग-यो । त्यसपछि अहिले कुन कुरा अहिले हामी गरिराछौं त्यो फौजदारी कसुर हो । फौजदारी कसुरमा चाहिँ सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा मुद्दा हेर्ने निकायले मुद्दा चलाउने हो प्रहरी प्रधान कार्यालयले होइन । 

अब सुन्नुस है । प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले बर्खास्थ ग-यो । मुद्दा चलाइएकामध्ये ६ जना सम्पर्कमा आए । २ जना फरार छन् । यहींनेर प्रश्न के भने, बर्खास्थ भइसकेपछि प्रहरीको उनीहरुसँग साइनो सम्बन्ध टुटाएर बसेको हुन्छ कि उनीहरु प्रहरीको एक्सेसमा हुन्छन् ? 
प्रहरी प्रवक्ताः बर्खास्थ गरेपछि उनीहरु आम नागरिक हो । 

उनीहरु फर्केर आउन सक्दैनन् त ? 
प्रहरी प्रवक्ताः फर्केर आउने त अब एउटै उपाय भनेको उनीहरुले कोर्टबाट मुद्दा जितेर आउन पर्याे । कोर्टले हाजिर गराउनु भनेर फैसला दियो भने हाजिर गराउने हो । होइन भने आम नागरिक हो । 

त्यो भनेको, अहिले उनीहरु आम नागरिकको हैसियतमा फरारको स्थितिमा छन् ? 
प्रहरी प्रवक्ताः
सही हो । 

उनीहरु मुलुक छोडेर गाको नगाको निगरानी गरिन्छ कि गरिँदैन त ? 
प्रहरी प्रवक्ताः
ठ्याक्कै अहिले मलाई जानकारी भएन । किनभने हाम्रो त खुला सिमाना छ हैन ? सबै अभियुक्तहरुको निगरानी गरेर साध्य पनि हुँदैन । मुद्दाको गम्भीरता सबै कुरा हेर्न पर्छ । कतिपय अबस्थामा गरिन्छ पनि । खुला सिमाना भकोले भारत जान त के भोर अब हैन ? पक्राउ गर्ने त जुन बेला मुद्दा चलेको थेन त्यो बेला त अधिकार पनि थेन (पक्राउ गर्ने) । मुद्दा चलेपछि न यो कुरा आयो । फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि । 

उनीहरु अब पक्राउ पर्छन् होइन ? 
प्रहरी प्रवक्ताः
अब कोर्टले वारेन्ट जारी गर्छ । त्यसको आधारमा । 

वारेन्ट त ३५ दिने जारी गरिसक्यो होइन ? 
प्रहरी प्रवक्ताः
त्यो त हाम्लाई जानकारी आ छैन । आए पछि ।

अझै आ छैन ? 
प्रहरी प्रवक्ताः
कोर्टले जिल्ला प्रहरी कार्यालयलाई दिन्छ । अनि हाम्लाई जिल्ला प्रहरी कार्यालयले जानकारी दिन्छ । 

प्रहरीले किन छोड्यो उनीहरुलाई भनेर फेरी प्रश्न उठ्ने भयो होइन ? 
प्रहरी प्रवक्ताः
होइन, बनाउनलाई त जे जे बनाए पनि भयो । तर कानुन अनुसार भा को छ सबै कुरा । अब बनाउनलाई त के भो र । बोल्नलाई पैसा लाग्दैन । सफल भका केसको कुरा हुँदैन । यस्तोमा अलिकति त भइहाल्छ । त्यसैले चर्चा आउँदा पनि अन्यथा भएन । नआउँदा पनि अन्यथा भएन । के हुन्छ भनेनी, प्रहरीसँग सम्बन्धित मान्छे थे भनेर , अब तिन्लाई मुद्दा चल्छ भनेर थुनेर राख्न मिल्दैन क्या । उनीहरु आम नागरिक भए, अरु अभियुक्तलाई प्रहरीले जसरी खोजी गर्छ, त्यत्ति मत्रै हो । 

पुनश्चः निर्मला हत्याको मुद्दाको अनुसन्धान अधिकृतको जिम्मेवारी यतिबेला कन्चनपुरका इन्सपेक्टर कबिन्द्र सिंह बोहराले सम्हालेका छन् ।

उनले दिएको पछिल्लो जानकारी अनुसार जिल्ला अदालतको ३५ दिने वारेन्ट जिल्ला प्रहरी कार्यालयमा आइसकेको छ र विष्ट, जिसीको खोजीका लागि वारेन्ट वडा प्रहरी कार्यालय महेन्द्रनगर (सीडीओ कार्यलय नजिक) मा पुगिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ