arrow

पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले स्वागत गर्ने

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
kp-sharma-oli2.jpg

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नाममा जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार बुझाउन आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले सुनसरी जिल्लाको वर्जु गाउँपालिकामा पर्ने वर्जु ताल निरीक्षणपछि आयोजित कार्यक्रममा पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले स्वागत गर्ने बताए । 

उनले भ्रष्टाचार निर्मूल गरी मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई वर्तमान सरकारले पूरा गर्ने बताए ।

प्रधानमन्त्री ओलीले जनताको परिवर्तनको अनुभूतिलगायत विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गरी भ्रष्टाचारमुक्त समाजको निर्माण गरी मुलुकमा सुशासन कायम गर्ने विश्वास दिलाए ।

कार्यक्रममा वर्जु ताललाई प्रदेश नं १ को पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताउँदै उनले आगामी जेठ १५ गते अगाडि गुरुयोजना तयारी पेश गरी बजेट विनियोजन गर्ने बताए । उनले यस ताललाई विश्वको आकर्षक पर्यटकीय गन्तव्य रूपमा विकास गरिने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले वर्जु तालसम्म पुग्ने सडक निर्माण गर्ने र ताल क्षेत्रमा हरियाली बनाई मनोरञ्जन स्थलका रूपमा विकास गरिने बताए । उनले प्रदेशकै नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्न आफूले सहयोग गर्ने बताउनुभयो ।

तालको वरिपरि रहेको ५१ बिघा जग्गा अधिग्रहण गरी प्रदेशको रमणीयस्थलको विकास गरी स्थानीय जनताको आर्थिक उन्नतिमा ताल सघाउ पुग्ने उनको विश्वास थियो । 

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीले यस क्षेत्रलाई विशेष औद्योगिक क्षेत्र करिडोरको रुपमा गुरुयोजना तयार गरी जनतालाई रोजगारी उपलब्ध गराउन सङ्घीय सरकारलाई अनुरोध गरिन् ।

सो अवसरमा वर्जु ताल विकास समितिका अध्यक्ष वालिम चौधरीसहित ४०० विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । 

वर्जु ताल विकास समितिका सचिव विबटसिंह श्रेष्ठले विसं २०७३ मा नेपाली सेनाले तालको समुचित व्यवस्थापनका लागि रु तीन करोड ६५ लाख खर्च गरेको बताए। 

उक्त ताल १५३ बिघामा फैलिएका छ भने हिउँद महीना दैनिक एक हजार बढी स्वदेशी विदेशी नागरिकले अवलोकन गर्ने गरेका छन् ।

तालमा घुम्नका लागि १५ डुङ्गासहित बालमनोरञ्जनस्थल, वनभोजस्थल आदिको व्यवस्था गरिएको छ । उक्त ताल विराटनगर महानगरपालिकाबाट १२ किलोमिटर पश्चिम सुनसरी जिल्लाको वर्जु गाउँपालिका–६ चिमडीमा अवस्थित रहेको छ ।

उक्त तालको एक फन्को लगाउन पैदल एक घण्टा लाग्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ