arrow

नेकपाको एकता एकादेशको दन्त्यकथाजस्तो, ‘चासोमा नपरेको विषय’ 

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता अब दन्त्यकथाजस्तो भएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार पार्टी एकता ‘चासोमा नपरेको विषय’ भएको विश्लेषण गरेका छन् । 

उनले भने, ‘एकता अपरिहार्य छ तर यो नभए पनि मुलुक चलेकै छ । खानेले खाएकै छ । अवसर लिनेले लिएकै छ ।’

उनले नाम नराख्न आग्रह गर्दै भने, ‘आफ्नो पार्टीको कुरो गर्दा मलाई दुःख लाग्छ । तपाईँलाई सुन्दा रमाइलो लाग्दो हो । तर के गर्ने यो त बिडम्बना नै छ ।’
कसैको चासोमा नपरेको विषय ? 
ती स्थायी कमिटि सदस्यका अनुसार तत्काल एकता नभए पनि फरक पर्दैन । केन्द्रमा एकता भएकै छ । प्रदेशसम्म पुगेकै छ । सहमति भएका स्थानीयतहसम्म कुरो मिलेकै छ । नमिलेका ठाउँमा भागबण्डा चलेकै छ । 

अझै चार वर्ष कसैले पनि चियाउन पाउँदैनन् । नेकपाको एकलौटी यसै पनि छँदैछ । 

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रका नेताहरु जसरी पनि आफ्नो सेटिङ गरिरहेका छन् । त्यसभित्र कहिले ठूलै खाल पर्ला या सानै । 

सरकारमा नभए पनि सत्ताधारी नेताले कहिं न कहिंबाट ब्यवस्था गरिहाल्ने दावी ती स्थायी कमिटि सदस्यको हो । उनले आफू भने कतै पनि त्यो खेलोमा छिर्न नसकेको बताउन छुटाएनन् । 

नेकपाभित्र गुटैगुट
गुटैगुटका कारणले पनि एकता सजिलो छैन । केन्द्रमा एकता भए पनि अधिकांश नेताले काम पाएका छैनन् । विजनेश नभएपछि उनीहरु भौंतारिइरहेका छन् । 

यसबारेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई त्यति चासो रहेको पाइँदैन । उनी सत्ताकै रसास्वादन गरिरहेका छन् । 

अर्कातर्फ उनका कतिपय निर्णयहरु पार्टीबाट हुन सक्दैनन् । सम्भवतः त्यसकै कारण होला मन्त्रिपरिषदमा सीधै लगेर टुंगो लगाउँछन् । 

प्रक्रिया अगाडि बढेपछि विपक्षीका कुरा त नसुन्ने ओलीले आफ्नै पार्टीभित्रको कुरा सुन्ने प्रश्नै आएन । अहिले भएको त्यस्तै हो । 

ओलीको आफ्नै गुट छ । पुष्पकमल दाहाल प्रचण्डको अर्को गुट छ । यी दुई बलिया गुटबाहेक तत्कालीन एमाले र माओवादीका अरु गुट पनि छन् । 

ती गुटमा माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल लगायतका गुट छन् । उपगुटभित्र छिर्ने हो भने अझ बढी समस्या देखिन्छ । 

यो महिना यसै सकिने सम्भावना
नेकपाका दुई मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बडादशैंदेखि दिन थालेको भाका अझै टरेको छैन । उनले हरेक भेटमा एउटा न एउटा तिथि दिने गरेका छन् । 

यसपटक त उनले फागुन भित्रै भनेका थिए । भन्दाभन्दै उनी अमेरिका गएका छन् । अमेरिका नै गएपछि तल्लो तहको एकता प्रक्रिया केही दिन लम्बिने निश्चित छ ।  ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएपछि एकता प्रक्रियामा केही साताका लागि लम्बिएको हो । उनको भ्रमण १० दिनसम्म रहेको छ । 

त्यो समय लम्बिन पनि सक्छ । अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केपछि मात्र सचिवालयको बैठक बस्ने भएको छ । 

कार्यदल नै अलपत्र परेपछि अध्यक्षद्धयले जिम्मा लिएका थिए । दुवै नेताहरु प्रक्रिया सपार्ने भन्दा पनि अन्य कार्यक्रममा सहभागीता जनाउन रुचाउने भएपछि त्यो अलपत्र छ । 

गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएको थियो । मूल कमिटी मात्र एकीकरण गरेका नेकपाले सम्पूर्ण एकता प्रक्रिया तीन महिनाभित्र टुङ्गो लगाउने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न कार्यदल पनि बनाइएको थियो तर लामो समयसम्म कार्यदलले एकता प्रक्रिया टुङ्ग्याउन सकेन । 

त्यसपछि सम्पूर्ण एकता प्रक्रिया र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटको विषयमा टुङ्गो लगाउने जिम्मेवारी सचिवालयले लिएको छ । पछिल्लो समय सचिवालय सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवालयले छलफल पनि शुरु गरेको छैन । 

गृहमन्त्री थापाको कार्यदलले जेजति काम गरेको थियो । सोही आधारमा सचिवालयलाई प्रतिवेदन बुझाइसकेको छ । थापा नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलका असन्तुष्ट नेताहरूले पनि एउटा छुट्टै प्रतिवेदन बुझाएका छन् । 

सचिवालयमा दुवै प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । अध्यक्ष प्रचण्ड अमेरिका जानुअघि नेकपाका अर्का अध्यक्ष ओलीसँग एकताको विषयमा छलफल गरेका थिए । 

पूर्वएमालेले ४५ वटा जिल्ला र पूर्वमाओवादी केन्द्रले ३२ वटा जिल्ला लिने गरी ओलीले प्रस्ताव गरेका छन् । तर अमेरिकाबाट फर्केपछि मात्र त्यसमा छलफल गर्ने भनी प्रचण्ड अमेरिका गएको बुझिएको छ । 

भाका धेरै सरेका छन् । अब यो भाका सरेमा आश्चर्य नमानौं । के पूर्ण एकताका लागि फेरि जेठ ३ कै मिति तोकिएको होला त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ