arrow

निर्वाचनको तयारी बारे आयोगले दलहरुलाई गरायो जानकारी

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन घोषणा भएपछि आफ्नो पक्षबाट हुँदै आएको तयारी र भइरहेका काम बारे राजनीतिक दलका प्रतिनिधिहरुलाई जानकारी गराएको छ ।  आयोगले आइतबार राजनीतिक दल सम्वन्धि ऐनमा भएको व्यवस्था अनुसार राजनीतिक दलका प्रतिनिधिहरुलाई आयोगमै बोलाएर मतदाता अद्यावधिक कार्यक्रम र तयारी बारे जानकारी गराएको हो । सो बारे जानकारी दिन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले निर्वाचन कार्यक्रम, मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण तथा पुनरावलोकन कार्यक्रम बारे दलहरुलाई जानकारी गराएको बताए । ‘आयोगले राजनीतिक दल सम्वन्धि ऐनको दफा ४७ मा भएको व्यवस्था अनुसार निर्वाचन तयारी, निर्वाचन कार्यक्रम, मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण तथा पुनरावलोकन कार्यक्रम बारे दलहरुलाई जानकारी गराएको छ,’ आयोगका प्रवक्ता श्रेष्ठले हाम्राकुरासँग भने ।  उनले छलफलका क्रममा दलका प्रतिनिधिहरुसँग आयोगले आफूले गर्दै आएका काममा दलका स्थानीय प्रतिनिधिहरुको समेत साथ मागेको जानकारी दिए ।

छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसुचित गराईदिन पनि आग्रह गरेको छ । छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले संसद विघटनको मुद्दा अदालतमा विचाराधि रहेकाले अहिले नै निर्वाचन तयारीमा आयोग अघि बढ्दा आयोगको विश्वसनियता र निर्वाचनको निश्पक्षतामाथि प्रश्न उठ्ने धारणा राखे ।  उनले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन पनि आयोगलाई आग्रह गरे ।

नेपाली कांग्रेसका तर्फबाट छलफलमा गएका नेता आनन्दप्रसाद ढुंगानाले भने निर्वाचन आयोगलाई निर्वाचनको तयारीमा साथ दिने धारणा राखेका छन ।  

निर्वाचन आयोगले आयोगले गत २३ पुसबाट मतदान स्थल, मतदान केन्द्र निर्धारण र पुनरावलोकनको काम गरिरहेको छ भने जिल्ला निर्वाचन कार्यालयका अधिकारीहरुलाई सो बारे प्रशिक्षण दिएको छ । आयोगले मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य १७ माघमा सम्पन्न गर्ने छ ।

यस्तै आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम १५ माघ २१ माघसम्म संचालन गर्दै छ । आयोगले मतदाताहरुलाई आआफ्नो स्थानीय तहका केन्द्रमा गएर मतदाता नामावलीमा भएको त्रुटी सच्याएर अद्यावधिक गर्न समेत आग्रह गर्दै आएको छ ।

निर्वाचनको मिति घोषणा भएलगत्तै आयोगले गत ६ पुसबाट नै मतदाता नामावली संकलनको काम भने स्थगित गरिसकेको छ । आयोगले गत ५ पुससम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले बैशाखका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन पाउने जनाएको छ ।

आयोगले आइतबारको छलफलका लागि नेकपाका दुबै समूहसहित कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएरै छलफलमा बोलाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ