arrow

बागमती प्रदेश सभा परिसरमा नाराबाजी, प्रचण्ड-नेपाल पक्षद्धारा बैठक माग

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ माघ १९ सोमबार
bagmati-pradesh.png

हेटौंडा । बागमती प्रदेशको प्रदेश सभा बैठक स्थगित भएपछि प्रदेश सभा परिसरमै नाराबाजी भएको छ ।  सोमबारका लागि बोलाइएको बैठक एकाएक स्थगित गरिएपछि प्रचण्ड-नेपाल पक्षका प्रदेश सभा सदस्यहरुले बैठकको माग गर्दै  नाराबाजी गरेका छन् ।
 
मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएयता नियमित रुपमा बैठक सुचारु हुन सकेको छैन । सो समूहले नेत्री अष्टलक्ष्मी शाक्यलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेको छ । सोमबारको प्रदेश सभा परिसरमा भएको नाराबाजीसमेत नेतृ शाक्यकै नेतृत्वमा भएको हो । उनीहरुले ‘अल्पमतको सरकार राजीनामा दे, प्रदेशसभा सुचारु गर,’ जस्ता नारा लगाएका छन् ।

सो क्रममा नेतृ शाक्यले भने मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न बैठक स्थगित गरिएको भन्दै सभामुखलाई तत्काल बैठक बोलाउन आग्रह गरिन् ।  नाराबाजीअघि नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दलले पत्रकार सम्मेलन गरी बैठक स्थगनको विरोध गरेको थियो । सो क्रममा नेतृ शाक्यले सभामुख सानुकुमार श्रेष्ठ सरकारको लाचार छाया बनेको बताएकी थिइन् ।

आइतबार राति विद्युतीय सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गरिएको जानकारी गराइएको दिएको थियो ।  निवर्तमानमन्त्री शालिकराम जम्कट्टेलले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत नबसी बैठक स्थगन भएकामा अपत्ति जनाए ।

नेकपा वागमती प्रदेश संसदीय दलका उपनेता जम्कट्टेलले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव छलफलका लागि पेश भइसकेकाले तत्काल बैठक राखेर उक्त प्रक्रिया अगाडि बढाइनुपर्ने भनेका छन् ।  उपसभामुख राधिका तामाङलेसमेत बैठक स्थगनबारे आफूलाई पूर्वजानकारी नभएको बताएकी छन् । पत्रकारहरुको जिज्ञासामा उनले बैठक स्थगनको जानकारी आफूले नपाएको भनेकी हुन् ।

प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार बैठक फागुन ५ गते सम्म्का लागि सारिएको हो ।  सोमबारका लागि बोलाइएको बैठकमा  पुस १० गते प्रदेश सभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने कार्यक्रम तय थियो ।

प्रदेश सभा परिसरमा भएको नाराबाजीमा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रदेश सांसदहरु युवराज दुलाल, नेकपा मकवानपुर अध्यक्ष समेत रहेकी मुनु सिग्देल लगायत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ