arrow

सूचना टाँसेरै लम्बिँदैछ मुख्यमन्त्री पौडेलको पदीय आयु

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
dormani.JPG

काठमाडौं । बागमती प्रदेशसभाको सातौँ बैठक स्थगित भएको छ । बुधबार दिउँसो २ बजे बैठक बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ ।

मंगलबार राति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरे पनि सहमति जुट्न नसकेपछि बुधबार बिहानै सूचना टाँसेर बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।

मुख्यमन्त्री पौडेलले सूचना टाँसेर बैठक स्थगित गराउँदै उनको पदीय आयु लम्ब्याउँदै गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उत्रिएको नेकपाका प्रचण्ड–नेपाल समूहले गत पुस १० गते पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । 

ओलीले पार्टीभित्रको किचलो मिलाउन नसकी संसद विघटन गरेपछि त्यसको असर प्रदेशमा पनि परेको हो । 

बागमती प्रदेशसभा नेकपा संसदीय दलका ८० सांसदमध्ये ४५ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पौडेल अप्ठेरोमा परेका छन् । 

यो प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निर्णायक स्थितिमा छ । तर बैठक नै बस्न नसकेपछि अविश्वासको प्रस्तावविरुद्धको प्रस्ताव अगाडि बढ्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ