arrow

राष्ट्रिय परिचय पत्रका लागि नागरिकता बनाउनेहरूको भीड

logo
राम धामी,
प्रकाशित २०७७ फागुन ९ आइतबार
dadheldhura-nagarikta.png

डडेल्धुरा । पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता बनाउनेको भिड बढेको छ । राष्ट्रिय परिचय पत्र बनाउन नेपाली नागरिकता अनिवार्य हुने भएकाले नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरूको भिड बढेको हो ।

सामान्यतया दैनिक १० देखि २० जनासम्म मात्रै नागरिकता बनाउने गरेकोमा विगत दुई महिना यता भने दैनिक एक सय देखि एक सय ५० जनासम्म नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् । चालु आर्थिक वर्षको माघ महिना सम्म चार हजार दुई सय १८ जनाले नयाँ नागरिकता लिएका छन् । यस अवधिमा चार हजार सात सय ५० जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्न सुरु गरिएपछि सबैभन्दा बढी नागरिकताको प्रतिलिपि लिने रहेका छन् । हाल नागरिकता बनाउने नागरिकहरूको सङ्ख्या दिनु बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा भिडभाड बढेको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्न सुरु गरिएपछि पुस र माघ महिनामा मात्रै तीन हजार पाँच सय ६७ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् भने एक हजार आठ सय ५३ जनाले नयाँ नागरिकता लिएका छन् ।

राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्नुका साथै कोरोनाका कारण लामो समय सम्म नागरिकता बनाउन नसकेकाहरू अहिले नागरिकता लिन थालेकाले भिड बढेको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। हालसम्म करिब ६१ हजार जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ