arrow

कर्मभूमि समाज र एनबी बैङ्कबिच ‘सहुलियतपूर्ण कर्जा’ प्रदान गर्ने सम्झौता

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
nb-bank-karmabhumi.jpg

काठमाडौँ। कर्मभूमि समाज र नेपाल बङ्गलादेश (एनबी) बैङ्कबिच कर्मभूमि समाजले सिफारिस गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको छ। हात्तीवन–१५ ललितपुरमा अवस्थित कर्मभूमि समाजले हातमा सीप भएकाहरूलाई उद्यमशील बनाउन बैङ्क तथा वित्तीय संस्थामार्फत वित्तीय करण सुविधा उपलब्ध गराउन मध्यस्थकर्ताको काम गर्दै आएको बैङ्कले जनाएको छ।

देशमा उद्यमशीलता प्रवर्द्धन गरी गरिबी निवारण तथा विपन्न क्षेत्रलाई माथि उकास्ने काममा क्रियाशील कर्मभूमि समाज र एनबी बैङ्कबिच साना, मझौला उद्यम (एसएमईज्), व्यावसायिक कृषि र पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केकालाई परियोजना कर्जा, सहुलियतपूर्ण महिला उद्यमशीलता कर्जा र दलित समुदाय उद्यमशीलता कर्जा प्रदान गर्ने सहमति भएको हो।

कर्मभूमि समाजले कर्जाको आवश्यकता रहेका उद्यमी, व्यवसायी पहिचान गरी ऋण लिनेका तर्फबाट बैङ्कको मापदण्ड अनुसारका कागजात, प्रस्ताव बैङ्क समक्ष पेस गर्नेछ। कागजातहरूको पहिलो चरणको जाँचबुझ समाजले गर्नेछ। समाजले नेपाल राष्ट्र बैङ्कको निर्देशिकाले तोकेबमोजिम सर्तहरू पालना गरी कर्जाका लागि ऋण ग्राहीका तर्फबाट उक्त कागजातहरू तथा ऋणीका बारेमा बैङ्कका लागि आवश्यक जानकारी पेस गर्नेछ।

ऋण लिने पक्ष र बैङ्कबिचको पुलको रूपमा समाजले ऋण लिने पक्षका क्रियाकलापहरू नजिकबाट अनुगमन गरी दुवै पक्षका बिच सहजकर्ताको भूमिका निर्वाह गर्नेछ। ऋण लिने पक्षका नाममा कर्जा बुकिङ गर्दा समाजको सिफारिसमा भएको हुनेछ। तर कर्जा प्रवाह गर्दा बैङ्कले आफ्नो आन्तरिक कार्यविधि, जोखिम मूल्याङ्कन, नेपाल राष्ट्र बैङ्कको निर्देशिका तथा आफ्नो विवेक प्रयोग गर्ने सम्पूर्ण अधिकार बैङ्कमा निहित रहने सम्झौतामा उल्लेख छ।

कर्जा भुक्तानीको प्राथमिक दायित्व ऋणीको हुनेछ। कर्मभूमि समाजले कर्जाको भुक्तानी सेड्युल अनुसार साँवा, ब्याज तथा शुल्क भुक्तानीमा पूर्ण रूपमा सहयोग गर्नेछ।

सहुलियत कर्जा सम्बन्धी सरकारको नीति तथा नेपाल राष्ट्र बैङ्कको निर्देशिका अनुसार ब्याजदर र जोखिम बापतको शुल्क बैङ्कले निर्धारण गर्नेछ र राष्ट्र बैङ्कको निर्देशन अनुसार यो परिवर्तन हुन सक्नेछ। यसका साथै बैङ्कले वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि कर्मभूमि समाजलाई सहयोग गर्नेछ।

उक्त सम्झौता पत्रमा कर्मभूमि समाजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) जु नेपाल र एनबी बैङ्कका एसएमई तथा रिटेल बैङ्किङ प्रमुख सुदीन ढुङ्गेलले हस्ताक्षर गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ