- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा। सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारबाही थालेको छ ।
कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटक पटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौतासमेत तोडेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
आशिया कन्स्ट्रक्सन, सौरभा कन्स्ट्रक्सन, सरस्वती निर्माण सेवा, सोनु कन्स्ट्रक्सन, नन्दनी कन्स्ट्रक्सन, जिपिवी कन्स्ट्रक्सन र दामुचन्द्रमाला कन्स्ट्रक्सनविरुद्ध कारबाही प्रक्रिया अगाडि बढेको छ । ती कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ भने कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी उपाध्यायले जानकारी दिनुभयो । गत असोजमा ती कम्पनीसँगको सम्झौता तोडिएको हो ।
एघार वर्ष अगाडि विभिन्न सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका ती निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न ताकेता गरिए पनि लामो समयदेखि सम्पर्कमा नआएपछि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँमा सिफारिस गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभित्र स्पष्टीकरण पेस गर्न ती कम्पनीलाई निर्देशन दिएको छ । तोकिएको समयमा स्पष्टीकरण नदिएमा कालोसूचीमा राखिने छ ।
बारा, पर्सा र मकवानपुर कार्यक्षेत्र रहेको सो सडक डिभिजन कार्यालयले चालू आर्थिक वर्षमा विभिन्न स्थानमा २० वटा पुल र पक्की सडक निर्माण गरिरहेको प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिनुभयो । पुल र सडक निर्माणको लागत करिब रु ४० करोड रहेको बताइएको छ ।