arrow

हेटौँडामा आइतवारबाट जोरबिजोर प्रणाली

सङ्क्रमित भगवान् भरोसामा

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ वैशाख ११ शनिबार
hetauda-vehicles.jpg

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा जिल्ला प्रशासनले कोरोना नियन्त्रण र रोकथामका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ। कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रवार बसेको बैठकले बजारभित्र सवारी साधनको उच्च चाप बढेकाले (आइतवार) १२ गतेबाट लागु हुने गरी निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो।

निजी सँगै अटो, ई-रिक्सा, मयुरी, म्याजिक र टेम्पुलाई समेत जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको गरिएको छ। जोरबिजोर प्रणाली गते अनुसार लागु गरिने बताइएको छ। त्यस्तै पार्टी प्यालेस तथा वनभोज खाने पार्कहरू वैशाख मसान्त सम्म बन्द गरिनुका साथै सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्नेलाई सङ्क्रमण रोग ऐन, २०३० बमोजिम कारबाही गरिने समेत बताइएको छ।

अर्को तर्फ दिनहुँ कोरोना सङ्क्रमित बढ्दै गए पनि जिल्लामा एउटा पनि आइसोलेसन नहुँदा सङ्क्रमितको भने बिचल्ली भएको छ। सरकारले नयाँ प्रकारको कोरोना भाइरस देखिएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि विभिन्न क्षेत्र बन्द गरिरहेको छ।

प्रदेशको राजधानी हेटौँडामा भने कोरोना सङ्क्रमितले उपचार पाएका छैनन्। थपिँदै गइरहेका सङ्क्रमित आफ्नै घरमा चुपचाप बस्न बाध्य भइरहेका छन्। कारण हो जिल्लामा आइसोलेसन नै नहुनु। स्वास्थ्य निकै जटिल बनेका केही सङ्क्रमित चितवनमा उपचार गराइरहेका छन् भने अन्य भगवान् भरोसामा बसिरहेका छन्। 

चितवनमा उपचार गर्न जाँदा अस्पतालमा ठाउँ नभएको भन्दै भर्ना नलिने गरेको केही सङ्क्रमितले गुनासो गरिरहेका छन्। यता बागमती प्रदेश सरकार भने यो विषयमा गम्भीर बनेको छैन। जिल्लामा सङ्क्रमित दिन प्रतिदिन थपिँदै जाँदा सरकारले एउटा पनि आइसोलेसनको तयारी गर्न सकेको छैन।

प्रदेश सरकारले यस अघि हेटौँडा ६ गौर टारमा अस्थायी आइसोलेसन बनाएको थियो। उक्त आइसोलेसन हाल सञ्चालनमा छैन। 'सङ्क्रमितहरूले उपचारका लागि आग्रह गर्छन् हामी कहाँ आइसोलेसन नै छैन, भरतपुर जानु भनौँ भने उता ठाउँ छैन भन्छन्, समस्या निकै देखिएको छ' जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले भने।

आइसोलेसन नभएपछि घरमै बस्न बाध्य सङ्क्रमितबाट अन्यलाई सर्न सक्ने खतरा बढी हुने स्वास्थ्यकर्मी उत्सव चौलागाईंको भनाई छ। उनका अनुसार हाल देखिएको प्राय सबै पोजेटिभ बिरामीको सिटी भ्यालु पोहोरका सङ्क्रमितको भन्दा बढी देखिएको छ।

गएको एक हप्तामा मकवानपुरमा १ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ। यसरी दिनहुँ सङ्क्रमित बढ्दा पनि सरकारले आइसोलेसनको भने तयारी गर्न सकेको छैन। जसका कारण सङ्क्रमित उपचारबाट वञ्चित भएका छन्। यसअघि बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नै तयार पारेको कोभिड१९ सम्बन्धी निर्देशिकामा सङ्क्रमितको उपचार र व्यवस्थापनमा विभिन्न कार्यहरू गर्ने र स्वास्थ्य सेवाहरू प्रभावकारी ढङ्गले अघि बढाउने उल्लेख गरिएको छ।

तर हाल प्रदेश सरकार जनताको स्वास्थ्य र महामारी नियन्त्रणप्रति कुनै पनि चासो देखाएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ