arrow

कोही विराटनगर, कोही सप्तरी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1662968760.jpeg
काठमाडौं । तीन प्रमुख राजनीतिक दल र आन्दोलनरत मधेसी मोर्चाबीच बुधबार साँझ ६ बजे तय भएको वार्तामा मोर्चाका ठूला नेता कोही पनि काठमाडौं आएनन्। अन्ततः वार्ता हुनै सकेन। सोमबार तीन दलसँग भएको वार्तामा मोर्चा घटक दल तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर उपस्थित थिए। बुधबारको वार्ता हुनु एक दिनअगाडि मंगलबारै उनी पनि काठमाडौं छाडेर जनकपुर आइपुगे।
 
नागरिक दैनिकमा मिथिलेश यादव लेख्छन्–मोर्चाका अन्य तीन घटक दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव सोमबार काठमाडौंमा तीन दल र मोर्चाबीच वार्ता हुने भनिएको समयमा मधेसमै थिए। कोही विराटनगर त कोही सप्तरीमा।
 
ठाकुरकै उपस्थितिमा तीन दल र मोर्चाबीच सोमबार सम्पन्न वार्ताले बुधबार अर्को वार्ताको समय तोकेको थियो। तर ठाकुर मंगलबारै जनकपुर आइपुगे। बुधबार धनुषाको ढल्केवरमा मोर्चाले सभा आयोजना गरेको थियो। सोही कार्यक्रममा सम्बोधन गर्न ठाकुर पनि ढल्केबर पुगे।
 
यसअघि सोमबार दिउँसो तीन दल र मोर्चाबीचको वार्तामा समेत मोर्चाका प्रमुख दुई नेता उपेन्द्र यादव र राजेन्द्र महतो अनुपस्थित थिए।
 
मोर्चा प्रमुख घटक दल संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजविराजमा पत्रकारसँग भने,'वार्तामा मोर्चा आबद्ध दलका अध्यक्षको आवश्यकता छैन, हाम्रो वार्ता टोली काठमाडौंमै छ। वार्ता टोलीसँग निर्णायक वार्ता गरे हुन्छ।'
 
'सीमांकन हाम्रो प्राइम माग हो, मधेसको भूमि मधेस प्रदेशमै रहनुपर्छ,' उनले भने, 'आफ्नो भूमि माग्नु हाम्रो नैसर्गिक अधिकार हो।' सरकारले हालै मधेसका १८ जिल्ला लक्षित विशेष सुरक्षा योजना ल्याएको बारे टिप्पणी गर्दै उनले, 'यो योजना सरकारको दमनकारी नीतिको निरन्तरता हो।'
 
राजविराजमा पत्रकार सम्मेलन सकेर यादव लहान हुँदै धनुषाको ढल्केबर पुगेका थिए। मोर्चाका वार्ता टोली सदस्य एवं संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले भने, 'तीन दल सीमांकनको विषयमा कसरी प्रस्तुत हुन्छ, वार्ताको निष्कर्ष त्यसैमा निर्भर छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ