arrow

हप्‍तौ हुनसक्छ अन्धकार

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
काठमाडौं । तपाईंको घरमा बत्ती गयो भने अब कयौं सातासम्म नआउन पनि सक्छ। भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यासको भार बिजुलीमा (थप ३५० मेगावाट) परेकाले धमाधम विद्युतीय उपकरण जल्ने क्रम बढ्दै गएको छ। तर त्यसलाई फेर्न विद्युत् प्राधिकरणसँग ट्रान्सफर्मर नै छैन।
 
अन्नपूर्ण पोष्टमा विकास थापा लेख्छन्–मुख्यसचिव सोमलाल सुवेदीको क्षेत्र कलंकीमा निभेको बिजुली बत्ती आउन तीन दिन लाग्यो। प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले आफ्नी बहिनीको घर बालाजुमा बत्ती गएको गुनासो गरे। प्राधिकरणले तत्कालै बनायो । फर्केर आउन नपाई फेरि गयो।
 
स्वयं प्राधिकरणका कार्यकारीनिर्देशक मुकेशराज काफ्ले बस्ने महाराजगन्जमा अवरुद्ध भएको बिजुली बनाउन तीन दिन लाग्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालको निवास क्षेत्र सञ्जीवनीनगर कोटेश्वरमा बत्ती गएको पाँच दिनपछि बल्यो। मुलुकका ठूलाबडाका घरमा आजभोलि बिजुली आपूर्तिका केही प्रतिनिधि घटनामात्र हुन् यी।
 
भारतले नाकाबन्दी लगाउनुअघिसम्म कुनै प्राविधिक कारणवश बत्ती निभ्दा प्राधिकरणका कर्मचारीले तीन घन्टाभित्र बनाइसक्थे। जाडोयाममा त्यसै पनि बिजुलीको माग बढिरहेका बेला भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको भारसमेत बिजुलीमै थपिँदा प्राधिकरणलाई प्रणाली जोगाउन हम्मे परेको छ।
 
प्राधिकरणको वितरण तथा ग्राहक सेवाका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयका अनुसार एक महिनामा देशभर चार सय १४ थान ट्रान्सफर्मर जलेका छन्। यो क्रम अझै बढ्दोछ । देशभर चार हजार थान ट्रान्सफर्मर जडित छन्।
 
जलेका ट्रान्सफर्मर मर्मत गरी पुनः चलाउन सामान्यतया तीन महिना लाग्ने गर्छ। तर यसमा प्रयोग गरिने तेल र तामा भारतबाट आयात हुने भएकाले यी वस्तुको अभावमा प्राधिकरण निरीह बन्नुपरेको गुनासो पाण्डेयले गरे। प्राधिकरणले चीन, भारत र श्रीलंकाबाट आयात गरेको ट्रान्सफर्मरमध्ये तीन सय थान कोलकातामा अड्किएको छ।
 
दिनहुँ ट्रान्सफर्मर पड्किन थालेपछि प्राधिकरणले काठमाडौंमा रहेको ग्रामीण विद्युतीकरण आयोजना र चुहावट नियन्त्रण आयोजनाका करिब तीन सय ६५ थान ट्रान्सफर्मर सिध्याइसकेको छ। प्राधिकरणको केन्द्रीय स्टोर हेटौंडामा रहेका दुई सय ५० थान ट्रान्सफर्मर इन्धन अभावले ढुवानी गर्न नसकिएको पाण्डेयले बताए। 
 
'अब नयाँ विद्युतीकरण र चुहावट नियन्त्रण आयोजनाका ट्रान्सफर्मर सकिन लागेका छन् । यसले गर्दा देशका अन्य ठाउँमा बिजुली पुर्‍याउने कार्य पनि प्रभावित भएको छ’, उनले भने, ‘चौतर्फी डामाडोल भएको छ।'
 
अत्यधिक भार थेग्न नसकेर जलेका विद्युतीय उपकरणका कारण प्राधिकरणलाई मासिक १० करोड घाटा परिरहेको पनि पाण्डेयले बताए।'कुनै ठाउँमा ट्रान्सफर्मर जल्यो भने अब महिनौंसम्म त्यस क्षेत्रमा विद्युत् नआउन पनि सक्छ’, पाण्डेयले भने, ‘बत्ती आउनेबित्तिकै सबैले एकसाथ हिटर, इन्डक्सन चुलो, खानेपानी पम्प, फ्रिज, राइसकुकर, आइरन, पानी तताउने हिटर चलाउन थाल्छन् र भार थेग्न सक्दैन।'
 
उनका अनुसार लोडसेडिङको नियमित तालिकाअनुसार बत्ती आउँदा हरेक घरमा विद्युतीय उपकरण एकसाथ प्रयोगमा नल्याउने हो भने यस्तो अवस्था धेरै हदसम्म नियन्त्रण हुनसक्छ। 'तपाईं (ग्राहक) ले एकसाथ सबै उपकरण प्रयोग गर्नुभयो भने तपाईंका घरमा महिनौं बत्ती नआउन सक्छ', पाण्डेयले चेतावनी दिए, ‘हामी पनि वैशाख १२ को भूकम्पले अवरुद्ध विद्युत् तत्काल नियमित गरेजस्तै प्रणाली जोगाउन रातदिन खटिरहेका छौं।'
 
ग्यास अभावले विद्युतीय उपकरणमा परेको भारका कारण उपत्यकामा तीन सय ५० देखि चार सय मेगावाटसम्म बिजुलीको माग बढेको प्राधिकरणको भार प्रेषण केन्द्रका निर्देशक भुवनकुमार क्षेत्रीले बताए। भारतीय नाकाबन्दीले ग्यासको बढ्दो अभाव, नदीमा पानीको स्तर घट्न गई उत्पादन कटौतीका कारण बढेको लोडसेडिङले सर्वसाधारणको दैनिकी चौपट भएको छ।
 
आगामी दिनमा बिजुली उत्पादनमा अझ बढी ह्रास आउने हुनाले जनजीवन झन् पीडादायी हुने र भार थेग्न नसकेर प्राधिकरणलाई ठूलो भौतिक क्षति हुने उपकार्यकारीनिर्देशक पाण्डेयले बताए। मंसिर दोस्रो साता आइपुग्दा विद्युत् उत्पादनमा ५० प्रतिशतले गिरावट आएपछि लोडसेडिङ सातामा १३ घन्टा गर्नुपरेको क्षेत्रीले बताए। 
 
उनका अनुसार प्रणालीमा उच्चतम माग एक हजार दुई ३० मेगावाट छ भने भारत, निजी क्षेत्र र प्राधिकरणका विद्युत्गृह गरी जम्मा ६ सय ८३ मेगावाटमात्र आपूर्ति भइरहेको छ । काठमाडौं उपत्यकामा मात्रै कुल उत्पादित बिजुलीको ४५ प्रतिशत खपत हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ