arrow

के भयो मन्त्रिपरिषद् बैठकमा ?

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
काठमाडौं । सरकारले भारतीय नाकाबन्दी केही दिनभित्रै सहज हुने विश्वास गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोनमा विशेष कुराकानी गरेपछि भारतीय नाकाबन्दी छिटै सहज हुने सरकारले विश्वास गरेको हो । नयाँ पत्रिकामा सागर पण्डित लेख्छन्–बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्ना भारतीय समकक्षीलगायतका नेतासँगको भेटले स्थिति सकारात्मक बनाएको जानकारी गराएका थिए । 
 
प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग सीमांकनको विषयलाई एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र टुंगो लगाउने, जनसंख्याका आधारमा क्षेत्र निर्धारण तथा समावेशी, समानुपातिक प्रतिनिधित्वलगायतका विषयलाई क्रमश: समाधान गर्दै लगिने प्रतिबद्धता जनाएपछि भारत नाकाबन्दी खोल्न सकारात्मक देखिएको स्रोतले जानकारी दिएको छ । 
 
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री थापाले भारतमा भएका महत्त्वपूर्ण भेटघाटबारे ‘ब्रिफिङ’ गर्दै नेपालमा आपूर्ति व्यवस्था सहज बनाउन भारत सरकार सकारात्मक देखिएको बताएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । ‘भारतीय नेतृत्वसँगको वार्ता निकै सकारात्मक भएको छ, अब आशावादी हुन सकिन्छ,’ परराष्ट्रमन्त्री थापाले ब्रिफिङका क्रममा भनेका थिए । परराष्ट्रमन्त्रीको भारत भ्रमणले आपूर्ति व्यवस्था अब छिटै सहज हुने विश्वास सरकारले लिएको मन्त्री राईले बताए । बैठकमा मन्त्री थापाले भारतीय नेतृत्वसँग सघन र खुला वार्ता गरेकाले सीमामा देखिएका आपूर्तिलगायतका समस्या छिटै हट्ने विश्वास आफूले लिएको जानकारी दिएका थिए । मन्त्रिपरिषद् बैठक हुनुअगावै परराष्ट्रमन्त्री थापाले प्रधानमन्त्री ओलीलाई भेटेर भ्रमणको उपलब्धिबारे छुट्टै ब्रिफिङ गरेका थिए । सरकारका प्रवक्ता राईले बिहीबार नै प्रधानमन्त्री र भारतीय विदेशमन्त्री स्वराजबीच पनि महत्त्वपूर्ण टेलिफोन वार्ता भएको जानकारी दिए । 
 
‘अब छिटै निकास निस्कन्छ,’ मन्त्री राईले भने । वार्ताका क्रममा आन्दोलनरत मधेसी मोर्चाले राखेको मागलाई राजनीतिक रूपमै हल गरी अहिलेको असहज अवस्थालाई अन्त्य गर्ने समझदारी भएको मन्त्री राईले बताए । तीन सचिवको सरुवा सरकारले तीनजना सचिवको सरुवा गरेको छ । जसअनुसार उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाललाई रक्षा मन्त्रालय, भूमिसुधारसचिव सूर्य सिलवाललाई उद्योग र भूमिसुधार मन्त्रालयमा सुर्खेतका क्षेत्रीय प्रशासक मोहनकृष्ण सापकोटालाई लगिएको छ । यसअघि गृह मन्त्रालयबाट भूमिसुधार मन्त्रालयमा सरुवा गरिएका सिलवालले हाजिर गर्न अस्वीकार गरेपछि उनलाई उद्योगमा पठाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ