arrow

महिला संघमा तीन नेताका तीन गुट; प्रत्यासीहरुलाई नेता मिलाउन दौडधुप

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
deuba-poudel-sitoula-1.jpg.jpeg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको भगिनी संस्था नेपाल महिला संघ महाधिवेशनको अन्तिम तयारीमा छ। लामोसमयपछि हुन लागेको महाधिवेशनमा केन्द्रीय नेतृत्वका आकाँक्षीहरु महाधिवेशन प्रतिनिधीहरुसँग भेटघाटमा व्यस्त छन्। नेपाली काँग्रेसको महाधिवेशन यता बनेको पार्टीको तीन गुटको सोझो प्रभाव नेपाल महिला संघमा पनि परेको छ। यतिखेर सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला निकटहरुको तर्फबाट अलग अलग समुह चुनावी मैदानमा भिड्ने तयारी छ। यसका लागि तीनवटै समुहहरु चुनावी रणनीति बनाउन घनिभुत छलफल र गृहकार्यमा लागेका छन्। 
 
पार्टीका तर्फबाट एनपी साउदको नेतृत्वमा निर्देशक समिति बनाए पछि सो समिति पनि महाधिवेशन गराउन आन्तरिक गृहकार्यमा लागेको छ। समिति पनि वानेश्वर लगायत विभिन्न ठाउमा वैठक गर्दै आएको छ। समितिका सदस्य तथा काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले महिला संघको महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताए। उनले वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरु महाधिवेशनमा उम्मेद्वार बन्न नपाउने यस अघीको कार्यसमितिको निर्णय अनुसार नै महाधिवेशनमा उम्मेद्वार हुने व्यवस्था गरिएको बताए। नेपाल महिला संघको वर्तमान केन्द्रीय समिति पनि महाधिवेशन गराउन अन्तिम तयारीमा लागेको छ। 
 
केन्द्रीय समिति र निर्देशन समिति महाधिवेशनको तयारीमा रहेका बेला तीनवटा गुट पनि आ आफ्नो तयारीमा मात्र छैनन रणनीति बनाउन लागिपरेका छन्। दिनहुँजसो गुटका नेताहरुकहाँ छलफल हुने गरेको छ। सभापति देउवा निवास बुढानिकलकण्ठ, पौडेल निवास वोहोराटार र सिटौला निवास चप्पल कारखानामा आआफ्ना समुहका प्रत्यासीहरु सहित नेताहरु साँझ विहान परामर्शमा जुट्ने गरेका छन्। 
 
निवास बाहेक पनि विभिन्न ठाउँमा समुहको भेट्ने ठाउँ तय गरेर उनीहरु अझै पनि आफ्नो पक्षमा देशभरबाट कति महाधिवेशन प्रतिनिधी आएका छन् त्यसको हिसावकिताव निकाल्न लागेका छन्। त्यहि हिसाव अनुसार आफ्नो स्थितिको आँकलन गरि थप रणनीति बनाउन उनीहरु लागिपरेका हुन्। 
 
देउवा समुह वानेश्वर विआइसिसी परिसरमा रहेको वेइजिङ डक रेष्टुरेण्टमा बसेर रणनीति बनाइरहेका छन्। काँग्रेस नेता तथा रक्षामन्त्री वालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणको नेतृत्वमा त्यहाँ समुहको रणनीति बनाउने काम भइरहेको छ। देशभरबाट आफ्नो समुहमा आएङ्का प्रतिनिधीहरुको स्थित विश्लेषण पछि समुहको थप रणनीति बनाउन सभापति देउवालाई व्रिफिङ गर्ने तयारीमा खाँण नेतृत्वको टीम लागेको छ। 
 
पौडेल समुह पनि वोहोराटारमा हुने छलफल पछि दिउँसो अनामनगरको पौडेलको सम्पर्क कार्यालयमा भेटिने गरेका छन्। त्यहि बसेर थप रणनीति बन्दै आएको छ। यो समुहबाट अध्यक्षमा प्रत्यासी मीना पाण्डे भेटघाट घरमै पनि गर्छिन। दिउँसो भने पौडेलको सम्पर्क कार्यालयमा भेटाघाटका लागि आउँछिन। समुहको तर्फबाट देशभरको महाधिवेशन प्रतिनिधीहरुको विश्लेषणसँगै उम्मेद्वार पनि बनाउने काम पनि हुँदै गरेको पाण्डेले बताइन। यसअघी महिला संघमा पराजय व्यहोरेकी पाण्डे यसपटक क्षतीपूर्ती गर्नेगरि चुनावमा उत्रिएको बताउँछनि। 
 
सिटौला समुहका आकाँक्षीहरु पनि विहान साँझ सिटौला निवासमा भेट्ने गरेका छन्। दिउँसो भने वागवजारस्थित हार्दिक होटल उनीहरुको भेट्ने केन्द्र हो। होटल अलावा पद्मकन्या क्याम्पस पनि उनीहरुको कार्यक्रमका लागि उपयोग हुने ठाउँ हो। महिला संघ केन्द्रीय सदस्य मालती सोडारी समुहका तर्फबाट रणनीति बनाउन समुहका नेताहरुसँगको समन्यमा लागिपरेकी छन्। समुहका तर्फबाट अध्यक्षका सम्भावित प्रत्यासी धन खतिवडा छिन्। उनी समुहमा रहेका यूवा महिला प्रतिनिधीहरुसँग बसेर रणनीति बनाउने काममा व्यस्त छन्। 
 
एकातिर समुहका तर्फबाट नेताहरु रणनीति बनाउन व्यस्त रहेपनि कतिपय आकाँक्षीहरु भने सबै समुहमा पुगेर आफूलाई समुहमा राख्न आग्रह पनि गर्दै आएका छन्। यतिखेर महिला नेतृत्वको आकाँक्षीहरु नेताहरुकहाँ दौडधुपमा छन्। महाधिवेशन प्रतिनिधीहरु काठमाडौं आएपछि भने आकाँक्षीहरुको दौडधुप अझ बढ्ने देखिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ