arrow

म्याग्दीका ६ सय उद्योग अवैध

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
Myagdi-hamrakura.jpg.jpeg
बाबियाचौर (म्याग्दी), ३१ भदौ । समयमै नवीकरण नगर्दा जिल्लाका ६ सउ ५३ भन्दा बढी उद्योग र व्यावसायिक फार्म अवैध भएका छन्। नवीकरण गर्ने म्याद गुज्रिएका ६ सय ५३ वटा उद्योग र फार्मको जरिवाना तिरेरसमेत नवीकरण गर्न नसकिने अवस्थामा रहेका घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ।
 
म्याद सकिएपछि नवीकरण गर्ने नीतिगत व्यवस्थाको अभावमा २२२ वटा उद्योग र ४३० वटा व्यावसायिक फार्म कानुनी हिसाबले अवैध भएका हुन्। दर्ता भएको पाँच वर्षमा पहिलोपटक र त्यसपछि दुई दुई वर्षमा नवीकरण गर्नुपर्ने नीतिगत व्यवस्था छ।
 
निर्धारित समयपछि १३ महिनासम्म दोब्बर र तेब्बर जरिवाना दस्तुर तिरेर नवीकरण गर्न सकिन्छ । सो म्याद सकिएपछि नवीकरण गर्ने विषयमा नीतिगत व्यवस्था नहुँदा उद्योगी व्यवसायी समस्यामा परेका घरेलु उद्योग महासङ्घ म्याग्दीका अध्यक्ष लीलाराम गौतमले बताए।
 
उद्योग र फार्म दर्ता गरेपछि नवीकरण गर्नुपर्छ भन्ने चेतनाको कमी, नीतिगत व्यवस्थाका बारेमा जानकारी नहुनु, सूचना नपाउनुजस्ता कारणले म्याद सकिएपछि जरिवाना तिरेर पनि नवीकरण गर्न नपाउँदा कानुनी हिसाबले व्यवसायीलाई समस्या परेको गौतमको भनाइ छ। अर्कोतर्फ राज्यको लाखौँ राजस्व गुमेको छ।
 
घरेलु उद्योग विकास समितिका खरिदार इन्द्र पौडेलले उद्योग र फार्म खारेज नगरेसम्म सञ्चालन भइरहेको, आम्दानी पनि गरेको तर राजस्व छली गरेको देखिने बताए। “खारेज नगरेसम्म फार्म चलिरहेको छ भन्ने बुझिन्छ”, पौडेलले भने – “म्याद गुज्रिएपछि नवीकरण गर्ने नीतिगत व्यवस्था नहुँदा समस्या भएको छ।”
 
उद्योग र फार्म दर्ता खारेज गर्न आन्तरिक राजस्व कार्यालयबाट सकारात्मक प्रतिक्रियासहितको सिफारिस आवश्यक पर्छ  वैदेशिक रोजगारी, बैंकबाट कर्जा सुविधा लिन र उद्योग वाणिज्य सङ्घको चुनावी प्रयोजनका लागि उद्योग, फार्म दर्ता गर्ने तर नवीकरण र बन्द गर्न ध्यान नदिँदा समस्या उत्पन्न भएको व्यवसायीले बताएका छन्।
 
उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले म्याद गुज्रिएका उद्योग र फार्मको नवीकरणका लागि नीतिगत व्यवस्था संशोधन गर्न उद्योग मन्त्रालयलाई दबाब दिइएको बताए। घरेलु तथा साना उद्योग विकास समितिमा हाल एक हजार ४ सय ४३ उद्योग र एक हजार ५ सय ३६ वाणिज्य फार्म दर्ता भएका छन्। करिब रु छ अर्ब लगानी भएको घरेलु तथा साना उद्योग र फार्ममा पाँच हजार ८ सय ५० जनाले रोजगारी पाएका छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ